2तिनले भने, “मैले आफ्नो सङ्कष्टमा परमप्रभुमा पुकारा गरें, र उहाँले मलाई जवाफ दिनुभयो। चिहानको गहिराइबाट सहायताको निम्ति मैले पुकारें, र तपाईंले मेरो क्रन्दन ध्यानसित सुन्नुभयो।
3तपाईंले मलाई समुद्रको गहिराइभित्र, समुद्रको मुटुभित्रै फालिदिनुभयो, र प्रवाहहरू मेरा चारैतिर घुमे। तपाईंका सबै छालहरू र लहरहरूले मलाई डुबाए।
4मैले भनें, ‘म त तपाईंको दृष्टिबाट निकालिएको छु, तैपनि म फेरि तपाईंको पवित्र मन्दिरतिर हेर्नेछु’।
5डुबाउने पानीले मलाई तर्सायो, समुद्रको गहिराइ मेरो चारैतिर थियो, समुद्रका झ्याउहरू मेरो टाउकोभरि बेहेरिएका थिए।
6म त डाँड़ाहरूका फेदीसम्मै तल डुबें, पृथ्वीले मलाई सदाको निम्ति थुनिदियो। तर हे परमप्रभु मेरा परमेश्वर, तपाईंले मेरो ज्यानलाई खाल्डोबाट उठाएर ल्याउनुभयो।
7“जब मेरो प्राण गलिसकेको थियो, तब मैले, हे परमप्रभु, तपाईंलाई सम्झें, र मेरो प्रार्थना तपाईंकहाँ उठ्यो, तपाईंको पवित्र मन्दिरभित्रै पुग्यो।
8“जस-जसले व्यर्थका मूर्तिहरूतिर मन लगाउँछन्, तिनीहरूले पाउनुपर्ने अनुग्रहबाट तिनीहरू वञ्चित हुन्छन्।
9तर म त धन्यवादको स्तुतिसहित तपाईंमा बलिदान चढ़ाउनेछु। मैले जे भाकल गरेको छु, सो म पूरा गर्नेछु। उद्धार परमप्रभुबाटै हुन्छ।”