1तर योनालाई यो साह्रै मन परेन, र तिनलाई रीस उठ्यो।
2अनि तिनले परमप्रभुलाई यसो भनेर प्रार्थना गरे, “हे परमप्रभु, म आफ्नो घरमा छँदै के मैले यही कुरा भनेको थिइनँ र? यसैकारणले त तर्शीशमा भागेर जान मैले आतुरी गरेको थिएँ। तपाईं अनुग्रहकारी र करुणामय, रीस गर्नमा धैर्यवान्, दयामा प्रशस्त, र दु:ख दिनुमा बेखुशी हुनुहुने परमेश्वर हुनुहुन्छ भनी मैले जानेको थिएँ।
3अब हे परमेश्वर, मेरो प्राण लिनुहोस्, किनभने मेरो निम्ति बाँच्नुभन्दा त मर्नु नै असल छ।”
4तर परमप्रभुले जवाफ दिनुभयो, “के रीस गर्न तेरो हक छ र?”
5तब योना सहरबाट निस्केर त्यस सहरका पूर्वपट्टिको एउटा ठाउँमा गएर बसे। तिनले त्यहाँ एउटा छाप्रो बनाए, र त्यस सहरलाई के हुँदोरहेछ सो हेर्नलाई त्यसैको छायामा बसे।
6तब परमप्रभु परमेश्वरले एउटा लौका उमार्नुभयो, र योनाको शिरमा त्यो छाया होस् र तिनको दु:खहरण होस् भनेर त्यसलाई बढ़ाउनुभयो। यसैले लौकाको कारण योना अत्यन्तै खुशी भए।
7तर भोलिपल्ट बिहान उज्यालो हुँदा परमेश्वरले एउटा कीरालाई खटाउनुभयो, र त्यसले त्यस लौकालाई खाइदियो, र त्यो ओइलाइहाल्यो।
8सूर्य उदाएपछि परमेश्वरले पूर्वदेखि पोल्ने बतास चलाइदिनुभयो, यतिसम्म कि घाम टन्टलापुरसित योनाको टाउकोमा पर्यो र तिनी मूर्च्छा परे, र मर्ने इच्छा गरेर भने, “मेरो निम्ति बाँच्नुभन्दा त मर्नु नै असल छ।”
9तर परमेश्वरले योनालाई भन्नुभयो, “के लौकाको कारण रिसाउनु तेरो हक छ?”
10तर परमप्रभुले भन्नुभयो, “तैंले नस्याहारेको अथवा नउमारेको यस लौकाको लागि यति चिन्तित भइस्। एकै रातमा बढ़्यो, र एकै रातमा नष्ट पनि भयो।
11तर निनवे सहरमा एक लाख बीस हजारभन्दा बढ्ता मानिसहरू छन्, जसले दाहिने र देब्रे हातै चिन्न सक्दैनन्, र त्यसमा धेरै गाईबस्तुहरू पनि छन्। के मैले त्यस ठूलो सहरको निम्ति फिक्री नगरूँ?”