1नाओमीका पतितर्फका एलीमेलेकका परिवारका एक जना हुने-खाने कुटुम्ब थिए। तिनको नाउँ बोअज थियो।
2मोआबी रूथले नाओमीलाई भनिन्, “के म खेतमा गएर जसले मप्रति निगाह गर्ला त्यसको पछि शिला-बाला खोज्नलाई जाऊँ?”
3यसैले कटनी गर्नेहरूका पछिपछि खेतमा शिला-बाला खोज्न रूथ गइन्। अनि तिनी खेतको त्यस भागमा पुगिन् जो एलीमेलेकका परिवारका बोअजकै खेत थियो।
4अनि त्यहाँ बोअज पनि बेथलेहेमबाट आइपुगेको थियो। तिनले कटनी गर्नेहरूलाई अभिवादन गरेर भने, “परमप्रभु तिमीहरूसँग होऊन्।”
5तब तिनले कटनी गर्नेहरूमाथि खटाइएको नोकरलाई सोधे, “यो युवती कसकी हो?”
6नोकरले जवाफ दियो, “भर्खरै मोआब देशबाट नाओमीसँग आएकी मोआबी ठिटी हो।
7त्यसले मलाई कटनी गर्नेहरूका पछिपछि बिटाहरूका बीचमा शिला-बाला जम्मा गर्न पाऊँ भनेर बिन्ती गरी। त्यो आएर बिहान सबेरैदेखि अहिलेसम्म छोटो समयको विश्रामबाहेक काममा व्यस्त छे।”
8तब बोअजले रूथलाई भने, “ए मेरी छोरी, सुन त, अरू खेतमा गएर शिला-बाला नखोज, टाढ़ा पनि नजाऊ, तर मेरा ठिटीहरूसँग यतै खोज।
9मानिसहरूले फसल काटेका ठाउँमा हेर, र शिला-बाला बटुल्नेहरूका पछिपछि लाग। तिमीलाई नछुनू भनी मैले यी मानिसहरूलाई आज्ञा दिएको छु। तिमीलाई तिर्खा लाग्यो भने गएर मानिसहरूले भरिराखेका गाग्राहरूको पानी खाऊ।”
10तब रूथ तिनको सामुन्ने झुकिन्, र तिनलाई दण्डवत् गरेर भनिन्, “म विदेशी हुँ भनी जानेर पनि हजूरले किन यति कृपा गर्नुहुन्छ?”
11बोअजले भने, “आफ्नो पतिको मृत्युपछि तिमीले आफ्नी सासूप्रति गरेका सबै काम मलाई मानिसहरूले भनेका छन्। तिमी आफ्ना आमा-बुबा र आफ्नो जन्मभूमि छोड़ेर अपरिचित जातिकहाँ आयौ।
12परमप्रभुले तिम्रो कामको पुरस्कार तिमीलाई देऊन्। जसको छत्रछायामुनि शरण लिनलाई तिमी आएकी छौ, उनै परमप्रभु इस्राएलका परमेश्वरले प्रशस्त उपहार देऊन्।”
13तिनले भनिन्, “म हजूरकी कमारी नभए तापनि हजूरले साँच्ची नै मलाई शान्ति दिनुभएको छ र दयाको कुरा गर्नुभएको छ। हजूरको निगाह पाइरहूँ।”
14जब खाने बेला भयो तब बोअजले तिनलाई भने, “यहाँ आएर केही खाऊ, र तिम्रो रोटी सिर्कामा चोप।”
15अनि जब तिनी शिला-बाला बटुल्नलाई उठिन् तब बोअजले आफ्ना मानिसहरूलाई यसो भनेर आज्ञा दिए, “त्यसलाई बिटाहरूका बीच-बीचमा पनि शिला-बाला बटुल्न देओ। त्यसलाई नहप्काओ,
16बरु अन्न बाँधेका बिटाहरूबाट तिमीहरूले केही निकालेर छोड़िदेओ, र त्यसलाई नहप्काईकन टिप्न देओ।”
17यसैले रूथ साँझसम्मै खेतमा शिला-बाला बटुल्दैरहिन्, अनि जब तिनले बटुलेका शिला-बाला माड़िन् तब पाँच पाथी जति भयो।
18अनि त्यो बोकेर तिनी सहरमा आइन्, अनि तिनकी सासूले तिनले बटुलेर ल्याएकी धेरै शिला-बाला देखिन्। त्यसपछि रूथले आफूले खाएर उबारेको कुरो पनि निकालेर तिनलाई दिइन्।
19तिनकी सासूले तिनलाई सोधिन्, “आज तिमीले कहाँ शिला-बाला बटुल्यौ? तिमीले कहाँ काम गर्यौ? ती मानिस धन्यका होऊन् जसले कृपा गरी तिम्रो हेरचाह गरे।”
20तब नाओमीले भनिन्, “परमप्रभुले तिनलाई आशिष् देऊन्, परमप्रभुले जिउँदा र मरेकाहरूमाथि कृपा गर्न छोड्नुभएको छैन। किनभने ती मानिस त हाम्रा नजिकका कुटुम्ब, मोल तिरी छुटाउने हुन्।”
21तब मोआबी रूथले भनिन्, “त्यसबाहेक उहाँले त मलाई सबै कटनी खतम नहोउञ्जेल उहाँका मानिसहरूसँगै लागिरहनू भनी भन्नुभयो।”
22नाओमीले भनिन्, “हे मेरी छोरी, तिनका ठिटीहरूसँगै जान तिमीलाई बेस होला, किनकि अरूको खेतमा तिमीलाई खतरा होला।”
23यसकारण तिनी बोअजका ठिटीहरूसाथसाथै जौ र गहूँका कटनी खतम नहोउञ्जेल शिला-बाला बटुल्नमा लागिरहिन्। तर तिनी आफ्नी सासूकै साथमा बस्थिन्।