रोमी 15:1-33 NNRV2012 - Bible AI

1विश्‍वासमा दह्रिला हुने हामीले आफैलाई मात्र खुशी पार्ने इच्‍छा नराखेर दुर्बल मानिसहरूका कमजोरीलाई सहनुपर्छ।

2हामी प्रत्‍येकले आफ्‍नो छिमेकीको आत्‍मिक सुधार होस्‌ भनेर तिनको भलाइको लागि तिनलाई प्रसन्‍न राखौं।

3किनकि ख्रीष्‍टले पनि आफैलाई प्रसन्‍न पार्नुभएन। जसो लेखिएको छ, “तपाईंलाई निन्‍दा गर्नेहरूको निन्‍दा ममाथि पर्‍यो।”

4अघिअघि लेखिएका कुराहरू हाम्रो शिक्षाको निम्‍ति लेखिएका थिए, यस उद्देश्‍यले कि पवित्र-शास्‍त्रबाट आउने स्‍थिरता र उत्‍साहद्वारा हामी आशा प्राप्‍त गर्न सकौं।

5स्‍थिरता र उत्‍साहका परमेश्‍वरले तिमीहरूलाई ख्रीष्‍ट येशूसँग एक भएर एक-अर्कासँग एक चित्तका भई जिउन देऊन्,

6कि एकै मनका भएर एउटै सोरले हाम्रा प्रभु येशू ख्रीष्‍टका परमेश्‍वर र पिताको महिमा तिमीहरू गर्न सक।

7यसकारण परमेश्‍वरका महिमाको निम्‍ति ख्रीष्‍टले तिमीहरूलाई ग्रहण गर्नुभएबमोजिम तिमीहरूले पनि एउटाले अर्कालाई ग्रहण गर।

8म तिमीहरूलाई भन्‍दछु, हाम्रा पूर्वजहरूलाई दिइएका प्रतिज्ञाहरूको पुष्‍टि गर्नका निम्‍ति परमेश्‍वरको सत्‍यतालाई प्रकट गर्न ख्रीष्‍ट खतना भएकाहरूको दास बन्‍नुभयो,

9यस हेतुले कि अन्‍यजातिहरूले उहाँका कृपाको निम्‍ति परमेश्‍वरको महिमा गरून्‌। जस्‍तो लेखिएको छ,

9“यसैकारण अन्‍यजातिहरूका बीचमा म तपाईंको प्रशंसा गर्नेछु, र तपाईंका नाउँको स्‍तुति गाउनेछु।”

10र फेरि यस्‍तो भनिएको छ, “ए अन्‍यजाति हो, उहाँको प्रजासँग आनन्‍द मनाओ।”

11र फेरि, “ए सारा अन्‍यजाति हो, प्रभुको प्रशंसा गर, र सबै मानिसहरूले उहाँको प्रशंसा गरून्‌।”

12र फेरि यशैया भन्‍दछन्, “यिशैको वंशबाट एक जना आउनुहुनेछ, उहाँले अन्‍यजातिहरूमाथि शासन गर्नुहुनेछ, उहाँमाथि अन्‍यजातिहरूले आशा राख्‍नेछन्‌।”

13आशाका परमेश्‍वरले तिमीहरूलाई विश्‍वासद्वारा सम्‍पूर्ण आनन्‍द र शान्‍तिले भरिपूर्ण गरिदेऊन्, यस हेतुले कि पवित्र आत्‍माको शक्तिले तिमीहरू आशामा प्रशस्‍त हुन सक।

14भाइ हो, मलाई निश्‍चय छ, कि तिमीहरू आफै पनि भलाइले भरिएका छौ, र सारा ज्ञानमा पूर्ण भई एक-अर्कालाई शिक्षा दिन समर्थ छौ।

15तर परमेश्‍वरले मलाई दिनुभएको अनुग्रहको कारणले तिमीहरूलाई फेरि सम्‍झना गराउन मैले बड़ो साहस गरी कतिपय विषयमा लेखेको छु,

16यो अनुग्रह अन्‍यजातिहरूका निम्‍ति परमेश्‍वरका सुसमाचारको पूजाहारीले गर्नुपर्ने कर्तव्‍य पालन गर्नलाई मलाई दिइएको हो, ताकि अन्‍यजातिहरू पवित्र आत्‍माद्वारा शुद्ध भएर ग्रहणयोग्‍य बलि बन्‍न सकून्‌।

17यसकारण परमेश्‍वरको निम्‍ति मेरो सेवामा मलाई ख्रीष्‍ट येशूमा गर्व गर्ने कारण छ।

18किनभने, वचन र कामले अन्‍यजातिहरूलाई आज्ञाकारी बनाउनलाई ख्रीष्‍टले मद्वारा जे गर्नुभएको छ, तीबाहेक कुनै विषयमा बोल्‍ने आँट म गर्दिनँ।

19यो काम चिन्‍हहरू र आश्‍चर्यकर्महरूको शक्तिले र पवित्र आत्‍माको शक्तिद्वारा मैले गरेको छु। यसरी मैले यरूशलेमदेखि लिएर इल्‍लुरिकनसम्‍मै चारैतिर ख्रीष्‍टको सुसमाचार सम्‍पूर्ण रूपले प्रचार गरेको छु।

20अरू मानिसले बसालेको जगमाथि घर नबनाऊँ भनेर ख्रीष्‍टको नाउँ नलिएको ठाउँमा सुसमाचार प्रचार गर्ने उत्‍कट इच्‍छा मैले राखेको छु,

21जस्‍तै यसो लेखिएको छ,

21“उहाँको विषयमा जसलाई कहिल्‍यै भनिएको छैन, तिनीहरूले उहाँलाई देख्‍नेछन्, र उहाँको विषयमा जसले कहिल्‍यै सुनेका छैनन्‌ तिनीहरूले बुझ्‍नेछन्‌।”

22यसैकारण नै हो, म तिमीहरूकहाँ आउनलाई धेरै पल्‍ट रोकिएको छु।

23तर अब यी क्षेत्रहरूमा मेरो निम्‍ति काम गर्ने अरू ठाउँ नभएका हुनाले, र धेरै वर्षदेखि तिमीहरूकहाँ आउने तृष्‍णा रहेकोले,

24म स्‍पेन जाँदा तिमीहरूलाई भेट्‌ने आशा राख्‍दछु, र तिमीहरूसँग केही समयसम्‍म सङ्गतिको आनन्‍द लिएपछि तिमीहरूले मलाई मेरो बाँकी यात्रामा मदत दिनेछौ भन्‍ने आशा राख्‍तछु।

25तर अब सन्‍तहरूलाई सहायता पुर्‍याउन म यरूशलेमतिर जाँदैछु।

26किनकि यरूशलेममा हुने सन्‍तहरूमा जो गरीब छन्, तिनीहरूका निम्‍ति माकेडोनिया र अखैयाका मण्‍डलीहरूले केही भेटी दिएका छन्‌।

27यो भेटी यिनीहरूले खुशीसाथ जम्‍मा गरेका थिए, र साँच्‍चै नै यिनीहरू तिनीहरूका ऋणी पनि छन्‌। किनकि यदि अन्‍यजातिहरू तिनीहरूका आत्‍मिक आशिष्‌हरूमा सहभागी भएका छन्‌ भने, यिनीहरूले पनि सांसारिक आशिष्‌हरूद्वारा तिनीहरूको सेवा गर्नुपर्छ।

28यसकारण यो काम सिद्धयाएर तिनीहरूका निम्‍ति उठेको यो चन्‍दा सुम्‍पिसकेपछि म तिमीहरूकहाँ भएर स्‍पेन जानेछु।

29र म जान्‍दछु, म तिमीहरूकहाँ आउँदा ख्रीष्‍टका आशिष्‌को परिपूर्णतामा आउनेछु।

30भाइ हो, हाम्रा प्रभु येशू ख्रीष्‍ट र पवित्र आत्‍माको प्रेमद्वारा मेरो निम्‍ति परमेश्‍वरसँग प्रार्थना गर्न मसँग घोर प्रयत्‍न गर भनी म तिमीहरूलाई आग्रहपूर्वक बिन्‍ती गर्दछु,

31कि म यहूदियाका अविश्‍वासीहरूबाट मुक्त हुन सकूँ, र यरूशलेमको निम्‍ति मेरो सेवा सन्‍तहरूलाई ग्रहणयोग्‍य होस्,

32र परमेश्‍वरको इच्‍छाद्वारा आनन्‍दसँग तिमीहरूकहाँ आएर तिमीहरूसँगको सङ्गतिद्वारा म फेरि ताजा हुन सकूँ।

33शान्‍तिका परमेश्‍वर तिमीहरू सबैसँग रहून्‌। आमेन।

Scripture Text © Nepal Bible Society 1997, 2006, 2009, 2012
v>