लूका 14:1-35 NNRV2012 - Bible AI

1एक शबाथ उहाँ फरिसीहरूका कुनै एक जना शासकको घरमा खान जानुभयो। फरिसीहरू उहाँको चेवामा बसिरहेका थिए।

2जलग्रह रोगले पीडित एक जना मानिस उहाँको सामुन्‍ने थियो।

3येशूले व्‍यवस्‍थाका पण्‍डितहरू र फरिसीहरूलाई सोध्‍नुभयो, “शबाथमा निको पार्नु उचित छ, कि छैन?”

4तर तिनीहरू चूप लागिरहे, र उहाँले त्‍यस रोगीको शरीरमा हात राखी निको पार्नुभयो र त्‍यसलाई जान दिनुभयो।

5तब उहाँले तिनीहरूलाई भन्‍नुभयो, “तिमीहरूमध्‍ये कसले आफ्‍नो गोरु वा गधा शबाथ-दिनमा इनारमा खस्‍यो भने त्‍यसलाई झट्टै निकाल्‍दैन?”

6अनि तिनीहरूले यस कुराको जवाफ दिन सकेनन्‌।

7अनि भोजमा आएका अतिथिहरूले आदरको स्‍थान छानेका देखेर उहाँले तिनीहरूलाई एउटा दृष्‍टान्‍त भन्‍नुभयो:

8“विवाहको भोजमा तिमीले कसैको निम्‍तो पायौ भने आदरका स्‍थानमा नबस। तिमीभन्‍दा बढ़ी प्रतिष्‍ठित व्‍यक्तिले त्‍यहाँ निम्‍तो पाएका होलान्‌।

9तिमीलाई र तिनलाई निम्‍तो दिने मेजमानले आएर तिमीलाई भन्‍नेछ, ‘यिनलाई बस्‍ने ठाउँ देऊ,’ र तिमीचाहिँ लज्‍जित भएर सबैभन्‍दा तल्‍लो स्‍थानमा बस्‍नुपर्नेछ।

10तर जब तिमीले निम्‍तो पाउँछौ, गएर तल्‍लो ठाउँमा बस, र मेजमानले आएर तिमीलाई भन्‍नेछ, ‘ए मित्र, माथि गएर बस्‍नोस्‌।’ त्‍यस बेला तिमीसँग खान बस्‍नेहरूका सामुन्‍ने तिम्रो इज्‍जत हुनेछ।

11किनकि हरेक जसले आफूलाई उच्‍च तुल्‍याउँछ, त्‍यो होच्‍याइनेछ, र आफूलाई होच्‍याउनेचाहिँ उच्‍च पारिनेछ।”

12अनि उहाँलाई निम्‍तो दिनेलाई पनि उहाँले भन्‍नुभयो, “तिमीले बिहान अथवा बेलुकीको भोज लगाउँदा, आफ्‍ना मित्रहरूलाई, आफ्‍ना दाजुभाइलाई वा तिम्रा कुटुम्‍बहरूलाई वा धनी छिमेकीहरूलाई निम्‍तो नदेऊ, नत्रता तिनीहरूले पनि साटोमा तिमीलाई निम्‍तो दिएर तिम्रो गुण फर्काइदिनेछन्‌।

13तर तिमीले भोज लगाउँदा, गरीब, लुला, लङ्गड़ा, अन्‍धाहरूलाई बोलाऊ,

14र तिमीले आशिष्‌ पाउनेछौ, किनकि तिनीहरूले तिम्रो गुण फर्काउन सक्‍दैनन्‌। तर मृत्‍युबाट धर्मीहरूको पुनरुत्‍थान हुँदा तिमीले यसको प्रतिफल पाउनेछौ।”

15उहाँसँग खान बस्‍नेहरूमध्‍ये एक जनाले यी कुरा सुनेर उहाँलाई भन्‍यो, “त्‍यो धन्‍य हो, जसले परमेश्‍वरको राज्‍यमा भोज खानेछ!”

16तर उहाँले त्‍यसलाई भन्‍नुभयो, “कुनै एक जना मानिसले बेलुकीको एउटा विराट्‌ भोज तयार गर्‍यो, र धेरैलाई निम्‍तो दियो।

17उसले आफ्‍नो नोकरलाई भोजन खाने बेलामा निम्‍ताराहरूलाई यसो भन्‍न पठायो, ‘आउनुहोस्, अब सब थोक तयार छ।’

18 “तर तिनीहरू सबैले समान रूपले एकनासको बहाना बनाउन लागे। पहिलोले त्‍यसलाई भन्‍यो, ‘मैले एउटा खेत किनेको छु, मलाई त्‍यो हेर्न जानुपरेको छ। म बिन्‍ती गर्दछु, मलाई माफी होस्‌।’

19 “अनि अर्कोले भन्‍यो, ‘मैले पाँच हल गोरु किनेको छु, म ती हेर्न जान्‍छु। म बिन्‍ती गर्दछु, मलाई माफी होस्‌।’

20 “अर्कोले भन्‍यो, ‘मैले विवाह गरेको छु। यसकारण म आउन सक्‍दिनँ।’

21 “तब नोकरले आएर आफ्‍नो मालिकलाई यो कुरा भनिदियो। तब घरको मालिकले रिसाएर आफ्‍नो नोकरलाई भन्‍यो, ‘सहरका सड़कहरू र गल्‍लीहरूमा चाँड़ो जा, र गरीबहरू, लुलाहरू, अन्‍धाहरूलाई, लङ्गड़ाहरूलाई यहाँ भित्र ले।’

22 “तब नोकरले भन्‍यो, ‘हजूरले आज्ञा गर्नुभएबमोजिम काम भएको छ, तर अझै ठाउँ खाली छ।’

23 “मालिकले नोकरलाई भन्‍यो, ‘मूल सड़कहरू र गल्‍लीहरू हुँदो गएर मानिसहरूलाई भित्र आउन कर लगा, र मेरो घर भरिओस्‌।

24किनभने म तिमीहरूलाई भन्‍दछु, निम्‍ताराहरूमध्‍ये कसैले पनि मेरो भोजको स्‍वाद चाख्‍न पाउनेछैन’।”

25मानिसहरूको ठूलो भीड उहाँको साथ जाँदैथियो, र उहाँले फर्केर तिनीहरूलाई भन्‍नुभयो,

26“यदि कोही मकहाँ आउँछ, र आफ्‍ना बुबा, आमा, पत्‍नी, छोरा-छोरीहरू र दाजुभाइ, दिदी-बहिनीहरूलाई र आफ्‍नै प्राणलाई समेत तुच्‍छ ठान्‍दैन भने, त्‍यो मेरो चेला हुन सक्‍दैन।

27जुन व्‍यक्ति आफ्‍नो क्रूस बोकेर मेरो पछि लाग्‍दैन, त्‍यो मेरो चेला हुन सक्‍दैन।

28 “तिमीहरूमध्‍ये कसैले एउटा धरहरा बनाउने इच्‍छा गर्छ भने, त्‍यो धरहरा बनाई सिद्धयाउने खर्च आफूसित छ कि छैन भनी के त्‍यसले पहिले नै बसेर हिसाब लाउँदैन र?

29नत्र भने त्‍यसले जग बसालेपछि सिद्धयाउन सकेन भने, देख्‍नेहरू सबैले यसो भनेर त्‍यसको गिल्‍ला गर्न लाग्‍नेछन्,

30‘यस मानिसले बनाउन त थाल्‍यो तर सिद्ध्याउन सकेन।’

31 “कुन राजा होला जसले अर्को राजासँग लड़ाइँ गर्न जाँदा आफ्‍नो साथ भएका दश हजारले त्‍यसको विरुद्ध आउने बीस हजारसँग लड़ाइँ गर्न सक्‍छु कि सक्‍दिनँ भनी पहिले बसेर सल्‍लाह गर्दैन?

32तिनले नसक्‍ने हो भने, त्‍यो अर्को राजा टाढ़ै हुँदा मिलापको शर्त सोध्‍न राजदूत पठाउनेछ।

33यसकारण तिमीहरूमध्‍ये जसले आफूसित भएका सबै थोक त्‍याग्‍दैन, त्‍यो मेरो चेला हुन सक्‍दैन।

34 “नून असल हो, तर नून अलिनो भयो भने केले त्‍यो नुनिलो हुने?

35त्‍यो न त जमिनको निम्‍ति न खादको निम्‍ति काम लाग्‍ने हुन्‍छ। मानिसहरूले त्‍यसलाई मिल्‍काइदिन्‍छन्‌।

35 जसको सुन्‍ने कान छ, त्‍यसले सुनोस्‌।”

Scripture Text © Nepal Bible Society 1997, 2006, 2009, 2012
v>