1येशूले आफ्ना चेलाहरूलाई भन्नुभयो, “पाप गर्न लाउने परीक्षाहरू निश्चय आउँछन्। तर धिक्कार त्यस मानिसलाई, जसद्वारा ती आउँछन्!
2जुन मानिसले यी सानाहरूमध्ये एउटालाई पाप गर्न लाउँछ त्यसको गलामा जाँतोको एउटा पाटा झुण्ड्याएर त्यसलाई समुद्रमा फालिदिनु त्यसको निम्ति बेस हुनेछ।
3आफ्नो विषयमा होशियार बस। ⓖ
3“तिम्रो भाइले अपराध गर्यो भने त्यसलाई हप्काऊ, र त्यसले पछुतो गर्यो भने तिमीले त्यसलाई क्षमा गर।
4यदि तिम्रो भाइले दिनमा सात पल्ट तिम्रो विरुद्धमा अपराध गर्यो, र सातै पल्ट तिमीकहाँ फर्किआएर ‘म पछुतो गर्छु’ भन्यो भने, तिमीले त्यसलाई क्षमा गर्नू।”
5प्रेरितहरूले प्रभुलाई भने, “हामीहरूको विश्वास बढ़ाइदिनुहोस्।”
6प्रभुले भन्नुभयो, “तिमीहरूमा रायोको दाना जति पनि विश्वास भएदेखि तिमीहरूले यस किम्बुको रूखलाई, ‘तँ उखेलिएर समुद्रमा रोपिन जा’ भन्यौ भने, त्यसले मान्नेछ।
7“तिमीहरूमध्ये कसैको नोकर खेत जोतेर कि भेड़ा चराएर खेतबाट आयो भने, उसले त्यस नोकरलाई ‘तुरुन्त आएर खान बस्’ भन्छ र?
8के उसले त्यसलाई बरु यसो भन्नेछैन? ‘मेरो निम्ति खाना तयार गर्, र पटुका कस् र मैले खाई-पिई नसकेसम्म मेरो सेवा-टहल गर्। त्यसपछि तैंले खानपान गर्।’
9आफूले अह्राएबमोजिमको काम गरेकोमा के उसले त्यस नोकरलाई धन्यवाद दिन्छ र?
10त्यसरी नै तिमीहरूलाई अह्राएका सबै काम पूरा गरेपछि तिमीहरूले पनि यसो भन: ‘हामी नालायक दास हौं, हामीले त हाम्रो कर्तव्य मात्र पालन गरेका छौं’।”
11येशू यरूशलेमतिर जाँदैहुनुहुन्थ्यो। यस यात्रामा उहाँ सामरिया र गालीलको सिमाना भएर जानुभयो।
12उहाँ एउटा गाउँमा पस्नुहुँदा दश जना कुष्ठरोगीसँग उहाँको भेट भयो। टाढ़ै उभिएर तिनीहरूले
13चर्को सोरले भने, “हे येशू गुरुज्यू, हामीमाथि कृपा गर्नुहोस्।”
14उहाँले तिनीहरूलाई देखेर भन्नुभयो, “जाओ, गएर पूजाहारीकहाँ आफैलाई देखाओ।” तिनीहरू जाँदाजाँदै निको भइहाले। ⓗ
15तिनीहरूमध्ये एक जनाले आफू निको भएको देख्यो, र उच्च सोरले परमेश्वरको महिमा गर्दै त्यो फर्क्यो,
16र येशूलाई धन्यवाद दिएर त्यो येशूका पाउमा घोप्टो पर्यो। त्यो एक सामरी थियो।
17येशूले भन्नुभयो, “के निको भएका दश जना होइनन् र? अरू नौ जना कहाँ छन्?
18के यो विदेशीबाहेक फर्किआएर परमेश्वरको प्रशंसा गर्ने अरू कोही भएन?”
19अनि उहाँले त्यसलाई भन्नुभयो, “उठ, र आफ्नो बाटो लाग। तिम्रो विश्वासले तिमीलाई निको पारेको छ।”
20परमेश्वरको राज्य कहिले आउँछ भन्ने फरिसीहरूको प्रश्नको जवाफमा उहाँले तिनीहरूलाई भन्नुभयो, “परमेश्वरको राज्य देखिने गरी आउँदैन,
21न त मानिसहरूले भन्नेछन्, ‘हेर, यहाँ छ!’ अथवा ‘त्यहाँ छ!’ किनभने हेर, परमेश्वरको राज्य तिमीहरूकै बीचमा छ।”
22उहाँले चेलाहरूलाई भन्नुभयो, “ती दिन आउनेछन्, जब तिमीहरू मानिसको पुत्रको कुनै एक दिन हेर्ने इच्छा गर्नेछौ, तर तिमीहरूले देख्नेछैनौ।
23मानिसहरूले तिमीहरूलाई भन्नेछन्, ‘हेर, ऊ त्यहाँ छ!’ अथवा ‘हेर, ऊ यहाँ छ।’ तर नजाओ, र तिनीहरूका पछि नलाग।
24किनकि जसरी बिजुली चम्कँदा आकाशको एक छेउदेखि अर्को छेउसम्म उज्यालो पार्छ, मानिसको पुत्र पनि आफ्नो दिनमा त्यस्तै हुनेछ।
25तर पहिले उसले धेरै कष्ट सहनुपर्छ र यस पुस्ताबाट बहिष्कृत हुनुपर्छ।
26“नोआको दिनमा जस्तो भएको थियो, मानिसको पुत्रको दिनमा पनि त्यस्तै हुनेछ।ⓘ
27नोआ जहाजभित्र प्रवेश नहोउञ्जेल मानिसहरू खाँदैथिए, पिउँदैथिए, विवाहबारी गर्दैथिए। र जलप्रलय आयो, र सबैलाई नष्ट पार्यो।ⓙ
28“लोतका दिनमा पनि त्यस्तै भएको थियो, मानिसहरू खाँदैथिए, पिउँदैथिए, किनबेच गर्दैथिए, रोप्दैथिए, बनाउँदैथिए,ⓚ
29तर जुन दिन लोत सदोमबाट निस्के, आकाशबाट आगो र गन्धक बर्सेर तिनीहरू सबैलाई नष्ट पार्यो।
30“मानिसको पुत्र प्रकट हुने दिनमा यस्तै हुनेछ।
31त्यस दिन जो घरको कौसीमाथि छ, त्यसको मालसामान घरभित्र छ भने ती लिनलाई त्यो तल नझरोस्। त्यसरी नै खेतमा हुने पनि फर्केर नआओस्।ⓛ
32लोतकी पत्नीलाई याद गर! ⓜ
33जसले आफ्नो प्राण बचाउन खोज्दछ, त्यसले सो गुमाउनेछ, र जसले आफ्नो प्राण गुमाउँछ, त्यसले त्यो सुरक्षित राख्नेछ।ⓝ
34म तिमीहरूलाई भन्दछु, त्यस रात दुई जना एउटै ओछ्यानमा हुनेछन्। एक जना लगिनेछ र अर्को छोडिनेछ।