लूका 22:1-71 NNRV2012 - Bible AI

1अखमिरी रोटीको चाड नजिकै आइपुगेको थियो। यसलाई निस्‍तार-चाड भनिन्‍छ।

2मुख्‍य पूजाहारीहरू र शास्‍त्रीहरूले उहाँलाई कसरी मारौं भनी मौका खोज्‍थे, तर मानिसहरूदेखि तिनीहरू डराउँथे।

3तब बाह्रमध्‍येको एक जना इस्‍करियोत भनिने यहूदाभित्र शैतान पस्‍यो।

4तिनीहरूका हातमा उहाँलाई कसरी पक्राइदिनु भनी मुख्‍य पूजाहारीहरू र कप्‍तानहरूकहाँ गएर त्‍यसले सल्‍लाह गर्‍यो।

5तिनीहरू खुसी भए, र त्‍यसलाई रुपियाँ दिने कबोल गरे।

6त्‍यो सहमत भयो, र भीड नभएको बेलामा उहाँलाई पक्राइदिने अवसर खोज्‍न लाग्‍यो।

7अखमिरी रोटीको चाड़को दिन आयो, जुन दिन निस्‍तार-चाड़को थुमा बलि चढ़ाउनुपर्थ्‍यो।

8उहाँले पत्रुस र यूहन्‍नालाई यसो भनेर पठाउनुभयो, “गएर हाम्रा निम्‍ति निस्‍तार-चाड़को भोज तयार गर।”

9तिनीहरूले उहाँलाई भने, “हामी यो भोज कहाँ तयार गरौं?”

10उहाँले तिनीहरूलाई भन्‍नुभयो, “तिमीहरू सहरमा पसेपछि गाग्रोमा पानी बोकेको एक जना मानिसले तिमीहरूलाई भेट्‌नेछ। त्‍यो जुन घरमा पस्‍छ त्‍यहाँसम्‍म त्‍यसको पछि लाग,

11र तिमीहरूले त्‍यस घरका मालिकलाई भन, ‘गुरुले तपाईंलाई सोध्‍नुहुन्‍छ, मैले आफ्‍ना चेलाहरूसँग निस्‍तार-चाड़को भोज खाने अतिथि-कोठा कहाँ छ?’

12उनले तिमीहरूलाई माथिल्‍लो तलामा सजिसजाउ भएको ठूलो कोठा देखाउनेछन्, र त्‍यहीँ तयार गर।”

13तिनीहरू गए, र उहाँले भन्‍नुभएझैँ भेट्टाए, र तिनीहरूले निस्‍तार-चाड़को तयारी गरे।

14अनि जब बेला भयो, तब उहाँ प्रेरितहरूसँग भोजन गर्न बस्‍नुभयो।

15उहाँले तिनीहरूलाई भन्‍नुभयो, “मैले दुःख भोग्‍न अघि नै यो निस्‍तार-चाड़को भोजन तिमीहरूसँग खाने ठूलो इच्‍छा गरेको थिएँ,

16किनकि म तिमीहरूलाई भन्‍दछु, परमेश्‍वरको राज्‍यमा यो पूरा नहोउञ्‍जेल म यो भोज फेरि खानेछैनँ।”

17तब कचौरा लिएर धन्‍यवाद चढ़ाउनुभएपछि उहाँले भन्‍नुभयो, “यो लेओ, र तिमीहरू आपसमा बाँड़।

18किनकि म तिमीहरूलाई भन्‍दछु, परमेश्‍वरको राज्‍य नआउञ्‍जेल अब उप्रान्‍त अङ्‍गुरको रस म पिउनेछैनँ।”

19अनि उहाँले रोटी लिनुभयो र धन्‍यवाद चढ़ाउनुभएपछि त्‍यो भाँच्‍नुभयो र तिनीहरूलाई यसो भन्‍दै दिनुभयो, “तिमीहरूका निम्‍ति दिइएको यो मेरो शरीर हो। मेरो सम्‍झनामा यो गर्ने गर।”

20यसै गरी खाइसक्‍नुभएपछि उहाँले कचौरा लिनुभयो र भन्‍नुभयो, “यो कचौरा तिमीहरूका निम्‍ति बगाइएको मेरो रगतमा स्‍थापित गरिने नयाँ करार हो।

21तर हेर, मलाई पक्राउनेको हात मैसँग टेबिलमा छ।

22किनकि मानिसको पुत्र त ठहराइएअनुसार जानैपर्छ, तर धिक्‍कार त्‍यस मानिसलाई, जसले उसलाई धोका दिन्‍छ।”

23यस्‍तो काम गर्ने तिनीहरूमध्‍ये को होला भनी तिनीहरू आपसमा बहस गर्न लागे।

24अब तिनीहरूमध्‍ये सबैभन्‍दा प्रमुख को गनिने हो भनी चेलाहरूका बीचमा वाद-विवाद हुन लाग्‍यो।

25उहाँले तिनीहरूलाई भन्‍नुभयो, “अन्‍यजातिका राजाहरूले तिनीहरूमाथि प्रभुत्‍व गर्छन्, र तिनीहरूमाथि अधिकार चलाउनेहरू ‘उपकारी’ भनिन्‍छन्‌।

26तर तिमीहरूचाहिँ यस्‍तो नहोओ। तिमीहरूमध्‍ये जो ठूलो छ, त्‍यो सानो बनोस्, र अगुवा हुनेले चाहिँ सेवा गरोस्‌।

27किनभने ठूलो को हो? भोजन खान बस्‍ने कि सेवा गर्ने? के भोजन खान बस्‍ने होइन? तर म तिमीहरूका बीचमा एक जना सेवा गर्नेजस्‍तै छु।

28 “तिमीहरूचाहिँ मेरो परीक्षामा मलाई साथ दिनेहरू हौ।

29जसरी मेरा पिताले मलाई एउटा राज्‍य दिनुभयो, म पनि तिमीहरूलाई दिन्‍छु,

30ताकि मेरो राज्‍यमा तिमीहरू मेरो टेबिलमा खाने र पिउनेछौ, र इस्राएलका बाह्रै कुलको न्‍याय गरेर सिंहासनहरूमा बस्‍नेछौ।

31 “सिमोन, सिमोन, हेर, शैतानले तिमीलाई गहूँजस्‍तै निफन्‍ने अनुमति मागेको छ,

32तर मैले तिम्रो विश्‍वास नडगमगाओस्‌ भनेर तिम्रो निम्‍ति प्रार्थना गरें, र फेरि तिमी मतर्फ फर्केपछि तिम्रा भाइहरूलाई स्‍थिर गराऊ।”

33अनि पत्रुसले उहाँलाई भने, “हे प्रभु, म तपाईंसँग झ्‍यालखानमा र मृत्‍युसम्‍मै जान तयार छु।”

34अनि उहाँले भन्‍नुभयो, “पत्रुस, म तिमीलाई भन्‍दछु, तिमीले मलाई चिन्‍दिनँ भनेर तीन पल्‍ट अस्‍वीकार नगरुञ्‍जेल आज भाले बास्‍नेछैन।”

35येशूले तिनीहरूलाई भन्‍नुभयो, “जब मैले तिमीहरूलाई थैलो र झोली र जुत्ताविना पठाएको थिएँ, के तिमीहरूलाई कुनै कुराको अभाव भयो?” तिनीहरूले भने, “भएन।”

36उहाँले भन्‍नुभयो, “तर अब जसको थैलो छ, त्‍यसले त्‍यो बोकोस्, त्‍यसै गरी झोला पनि बोकोस्‌। र जससँग तरवार छैन, त्‍यसले आफ्‍नो वस्‍त्र बेचेर एउटा तरवार किनोस्‌।

37म तिमीहरूलाई भन्‍दछु, ‘उहाँ अपराधीहरूसँग गनिनुभयो’ भनी लेखिएको कुरा ममा पूरा हुनैपर्छ। हो, मेरो बारेमा लेखिएको कुरा पूरा भई नै रहेछ।”

38तब चेलाहरूले भने, “हे प्रभु, हेर्नुहोस्, यहाँ दुई वटा तरवार छन्‌।” उहाँले भन्‍नुभयो, “त्‍यति भए पुग्‍छ।”

39बाहिर निस्‍केर सदाझैँ उहाँ जैतून डाँड़ामा जानुभयो, र उहाँका चेलाहरू पनि पछिपछि लागे।

40त्‍यस ठाउँमा पुगेपछि उहाँले तिनीहरूलाई भन्‍नुभयो, “तिमीहरू प्रार्थना गरिरहो, र परीक्षामा नपर।”

41उहाँ तिनीहरूबाट प्राय: तीस मिटर पर गएर घुँड़ा टेकी प्रार्थना गर्नुभयो,

42“हे पिता, तपाईंको इच्‍छा भए, यो कचौरा मबाट हटाइदिनुहोस्‌। तर मेरो इच्‍छा होइन, तपाईंकै इच्‍छा पूरा होस्‌।”

43तब स्‍वर्गबाट एउटा दूत उहाँलाई बल दिन उहाँकहाँ देखा परे।

44अत्‍यन्‍त सङ्कष्‍टमा परेर आग्रहपूर्वक उहाँ प्रार्थना गर्न लाग्‍नुभयो, र उहाँको पसीना रगतका ठूला-ठूला थोप्‍लाजस्‍तै जमिनमा खसिरहेका थिए।

45प्रार्थनाबाट उठेर चेलाहरूकहाँ आउनुहुँदा उहाँले तिनीहरूलाई शोकले गर्दा निदाइरहेका भेट्टाउनुभयो।

46उहाँले तिनीहरूलाई भन्‍नुभयो, “तिमीहरू किन निदाइरहेका छौ? उठ र परीक्षामा नपर्नलाई प्रार्थना गर।”

47उहाँ बोल्‍दाबोल्‍दै, एउटा भीड त्‍यहाँ आइपुग्‍यो। बाह्र चेलामध्‍ये एक जना यहूदा भन्‍नेचाहिँ तिनीहरूका अगिअगि आयो। येशूलाई चुम्‍बन गर्नलाई त्‍यो उहाँको नजिकै गयो।

48तर येशूले त्‍यसलाई भन्‍नुभयो, “यहूदा, के तिमी मानिसको पुत्रलाई चुम्‍बनद्वारा विश्‍वासघात गर्न चाहन्‍छौ?”

49तब उहाँको छेउछाउमा भएकाहरूले के हुने हो, सो देखेर उहाँलाई भने, “प्रभु, के हामी तरवार चलाऔं?”

50तिनीहरूमध्‍ये एक जनाले प्रधान पूजाहारीको नोकरलाई हान्‍यो, र त्‍यसको दाहिने कान च्‍वाट्टै काटिदियो।

51तर येशूले भन्‍नुभयो, “भयो, अब यसो नगर।” अनि त्‍यस मान्‍छेको कान छोएर उहाँले त्‍यसलाई निको पारिदिनुभयो।

52अनि उहाँको विरुद्धमा आएका मुख्‍य पूजाहारीहरू, मन्‍दिरका कप्‍तानहरू, र धर्म-गुरुहरूलाई उहाँले भन्‍नुभयो, “के तपाईंहरू डाँकूको विरुद्धमा आएजस्‍तै तरवार र लाठाहरू लिएर आउनुभयो?

53म दिनहुँ मन्‍दिरमा तपाईंहरूका साथमा हुँदा तपाईंहरूले मेरो विरुद्धमा हात उठाउनुभएन। तर अब तपाईंहरूको समय हो, र अन्‍धकारको शक्ति यही हो।”

54तिनीहरूले येशूलाई पक्रेर लगे, र उहाँलाई प्रधान पूजाहारीको घरमा ल्‍याए। तर पत्रुस टाढ़ैबाट उहाँको पछिपछि लागे।

55त्‍यहाँ आँगनको बीचमा आगो बालेर मानिसहरू जम्‍मा भएर बसिरहेका थिए। पत्रुस पनि तिनीहरूसँगै बसे।

56एउटी नोकर्नीले आगोको उज्‍यालोमा तिनलाई बसिरहेका देखेर नियालेर हेरी, र भनी, “यी मानिस पनि तिनीसँगै थिए।”

57तर पत्रुसले यसो भनेर इन्‍कार गरे, “ए नारी, म उहाँलाई चिन्‍दिनँ।”

58केही बेरपछि अर्कोले तिनलाई देखेर भन्‍यो, “तिमी पनि तिनीहरूमध्‍येकै हौ।” तर पत्रुसले जवाफ दिए, “ए मानिस, म होइनँ।”

59प्राय: एक घण्‍टा बितेपछि अर्को एक जनाले जोड दिएर यसो भन्‍यो, “निश्‍चय नै यी मानिस तिनीसँगै थिए, किनकि यिनी पनि गालीली नै रहेछन्‌।”

60तर पत्रुसले भने, “ए मानिस, तिमी के भनिरहेछौ, म जान्‍दिनँ।” तिनी बोल्‍दाबोल्‍दै भाले बास्‍यो।

61अनि प्रभुले फर्केर पत्रुसलाई हेर्नुभयो। “आज भाले बास्‍न अघि तिमीले मलाई तीन पल्‍ट इन्‍कार गर्नेछौ” भनी भन्‍नुभएको प्रभुको वचन पत्रुसलाई याद भयो।

62र तिनी बाहिर निस्‍केर धुरुधुरु रोए।

63तब येशूलाई पक्रने मानिसहरूले उहाँलाई गिल्‍ला गरे, र पिटे,

64उहाँका आँखा छोपिदिएर उहाँलाई सोधे, “तँलाई हिर्काउने को हो? लौ, अगमवाणी भन्‌।”

65तिनीहरूले उहाँको विरुद्धमा अरू धेरै तिरस्‍कारपूर्ण कुरा भने।

66उज्‍यालो हुने बित्तिकै भेला भएका जनताका धर्म-गुरुहरू, मुख्‍य पूजाहारीहरू र शास्‍त्रीहरू दुवैले उहाँलाई आफ्‍नो महासभामा लगे,

67र भने, “तँ ख्रीष्‍ट होस्‌ भने हामीलाई भन्‌।”

67उहाँले तिनीहरूलाई भन्‍नुभयो, “मैले बताएँ भने पनि तपाईंहरू पत्‍याउनुहुन्‍न।

68मैले प्रश्‍न गरे भने पनि तपाईंहरू जवाफ दिनुहुन्‍न।

69तर अब मानिसको पुत्र परमेश्‍वरका शक्तिको दाहिनेपट्टि बस्‍नेछ।”

70तब तिनीहरू सबैले भने, “त्‍यसो भए, के तँ परमेश्‍वरको पुत्र होस्‌?” उहाँले तिनीहरूलाई उत्तर दिनुभयो, “तपाईंहरू नै भन्‍नुहुन्‍छ, म उही हुँ।”

71तिनीहरूले भने, “हामीलाई अब अरू के साक्षीको आवश्‍यकता छ र? किनकि हामीले त्‍यसकै मुखबाट सुनिहाल्‍यौं।”

Scripture Text © Nepal Bible Society 1997, 2006, 2009, 2012
v>