1परमप्रभुले मोशालाई भन्नुभयो,
2“इस्राएलीहरूलाई भन्: ‘गर्भवती भएर छोरो जन्माउने स्त्री सात दिनसम्म अशुद्ध रहनेछे। रजस्वलाको दिनमा झैँ त्यो अशुद्धै रहनेछे।
3आठौँ दिनमा छोराका खलड़ीको खतना होस्।
4त्यसपछि त्यो स्त्री आफ्नो रगत-प्रवाहबाट शुद्धीकरणको निम्ति तेत्तीस दिनसम्म पर्खनुपर्छ, र शुद्ध हुने दिन पूरा नहोउञ्जेल त्यसले कुनै पवित्र कुरा छुनुहुँदैन, अनि पवित्रस्थानभित्र पनि जानुहुँदैन।
5तर त्यसले छोरी जन्माई भने रजस्वलाको दिनमा झैँ दुई हप्तासम्म त्यो अशुद्ध हुनेछे, र आफ्नो रगत-प्रवाहबाट शुद्धीकरणको निम्ति त्यो छयसट्ठी दिनसम्म पर्खनुपर्छ।
6“‘त्यसका शुद्ध हुने दिन पूरा भएपछि, छोराको निम्ति होस् वा छोरीको निम्ति होस्, त्यसले होमबलिको लागि एउटा एक वर्षे थुमा र पापबलिको लागि परेवाको एउटा बचेरो वा एउटा ढुकुर भेट हुने पालको ढोकामा पूजाहारीकहाँ ल्याओस्।
7पूजाहारीले परमप्रभुको सामुन्ने ती चढ़ाएर त्यसको निम्ति प्रायश्चित गर्नेछन्। अनि त्यो आफ्नो रगत-प्रवाहबाट शुद्ध ठहरिनेछे।
8थुमा ल्याउने त्यसको औकात छैन भने त्यसले दुई वटा ढुकुर अथवा परेवाका दुई वटा बचेरा— एउटा होमबलिको निम्ति र अर्को पापबलिको निम्ति ल्याओस्। यसरी पूजाहारीले त्यसको निम्ति प्रायश्चित गर्नेछन्, र त्यो शुद्ध ठहरिनेछे’।”