लेवीहरू 14:1-57 NNRV2012 - Bible AI

1परमप्रभुले मोशालाई भन्‍नुभयो,

2“रोगीलाई शुद्ध गर्दा यी विधिहरू पालन गर्नू। त्‍यस दिन त्‍यसलाई पूजाहारीकहाँ ल्‍याइओस्‌।

3पूजाहारीले त्‍यसलाई छाउनीबाहिर लगेर त्‍यसको जाँच गरून्‌। छालाको त्‍यो सरुवा रोग निको भएछ भने,

4त्‍यसको निम्‍ति दुई वटा जिउँदो शुद्ध पक्षी, देवदारुको काठ, हिसप र सिन्‍दूरे रङ्गको धागो ल्‍याउनू भनी पूजाहारीले आज्ञा देऊन्।

5तब पूजाहारीले ती पक्षीहरूमध्‍ये एउटालाई माटोको भाँड़ामा भएको ताजा पानीमाथि मार्ने आज्ञा देऊन्।

6त्‍यो जिउँदो पक्षीलाई चाहिँ देवदारुको काठ, सिन्‍दूरे रङ्गको धागो र हिसपसमेत लिई त्‍यही माटोको भाँड़ामा भएको ताजा पानीमाथि मारिएको पक्षीको रगतमा तिनले चोपलून्‌।

7सरुवा रोगबाट शुद्ध हुनुपर्नेमाथि सात पल्‍ट छर्केर तिनले त्‍यसलाई शुद्ध ठहराऊन्‌। तब तिनले त्‍यो जिउँदो पक्षीलाई खुला मैदानमा छोड़िदेऊन्।

8“त्‍यो शुद्ध हुनुपर्नेचाहिँले आफ्‍ना लुगा धोओस्, र आफ्‍ना सबै केश खौरेर नुहाओस्, अनि त्‍यो शुद्ध हुनेछ। त्‍यसपछि त्‍यो छाउनीभित्र आओस्, तर सात दिनसम्‍म आफ्‍नो पालबाहिर नै त्‍यो बस्‍नुपर्छ।

9सातौँ दिनमा त्‍यसले आफ्‍ना सबै केश, दाह्री र आँखीभुइँ, अर्थात्‌ आफ्‍ना सबै रौँ खौरोस्‌। त्‍यसले आफ्‍ना लुगा धोएर आफ्‍नो शरीर पानीले नुहाओस्, अनि त्‍यो शुद्ध हुनेछ।

10“आठौँ दिनमा त्‍यसले दुई वटा निष्‍खोट भेड़ाका पाठा र एक वर्षे एउटी निष्‍खोट पाठी, र अन्‍नबलिको लागि तेलमा मुछेको डेढ़ पाथी मसिनो पीठो, र आधा माना तेल ल्‍याओस्‌।

11त्‍यो शुद्ध हुनुपर्ने मानिसलाई ती सामानहरूसमेत भेट हुने पालको ढोकामा परमप्रभुको सामुन्‍ने शुद्ध ठहराउने पूजाहारीले प्रस्‍तुत गर्नेछन्‌।

12“तब पूजाहारीले त्‍यो आधा मानाको तेलसमेत भेड़ाका पाठाहरूमध्‍ये एउटा लिएर दोषबलि गरी चढ़ाऊन्, र डोलाइने बलिको निम्‍ति ती परमप्रभुको सामु डोलाऊन्‌।

13अनि त्‍यसले पापबलि र होमबलि मारिने पवित्र ठाउँमा त्‍यो पाठो मारोस्, किनकि पापबलि पूजाहारीको भएझैँ दोषबलि पनि त्‍यसैको हुन्‍छ। त्‍यो अति पवित्र हो।

14तब पूजाहारीले दोषबलिको केही रगत लिएर शुद्ध हुनुपर्नेको दाहिने कानको लोती, दाहिने हातको बूढ़ी-औँलो र दाहिने खुट्टाको बूढ़ी-औँलामा लगाइदेऊन्।

15फेरि पूजाहारीले आधा माना तेल लिएर आफ्‍नो देब्रे हातको हत्‍केलामा केही खन्‍याऊन्‌।

16पूजाहारीले आफ्‍नो दाहिने हातको औँलो देब्रे हातमा रहेको तेलमा चोपलेर त्‍यसबाट केही लिएर आफ्‍नो औँलाले परमप्रभुको सामु सात पल्‍ट छर्कून्‌।

17अनि पूजाहारीले आफ्‍नो हातमा रहेको तेलबाट केही लिएर त्‍यो शुद्ध हुनुपर्नेको दाहिने कानको लोती, त्‍यसको दाहिने हातको बूढ़ी-औँलो र त्‍यसको दाहिने खुट्टाको बूढ़ी-औँलामा दोषबलिको रगतमाथि लगाइदेऊन्।

18पूजाहारीले आफ्‍नो हातमा रहेको बाँकी तेल त्‍यस शुद्ध हुनुपर्नेको टाउकोमा लगाइदेऊन्, अनि तिनले परमप्रभुको सामु त्‍यसको निम्‍ति प्रायश्‍चित गरून्‌।

19“तब त्‍यो अशुद्धपनाबाट शुद्ध हुनुपर्ने कारणले पूजाहारीले पापबलि चढ़ाएर त्‍यसको निम्‍ति प्रायश्‍चित गरून्‌। त्‍यसपछि तिनले होमबलि मारून्‌।

20पूजाहारीले होमबलि र अन्‍नबलि वेदीमा चढ़ाऊन्, र त्‍यसको निम्‍ति प्रायश्‍चित गरून्, र त्‍यो शुद्ध हुनेछ।

21“तर त्‍यो दरिद्र छ र त्‍यति पनि पाउन सक्‍दैन भने, त्‍यसले आफ्‍नो प्रायश्‍चितको निम्‍ति दोषबलिको लागि डोलाउनलाई भेड़ाको एउटा पाठो, र अन्‍नबलिको लागि तेलमा मुछेको आधा पाथी मसिनो पीठो, र आधा माना तेल,

22र आफूले जस्‍तो पाउन सक्‍छ, दुई वटा ढुकुर कि दुई वटा परेवाका बचेरा, एउटा पापबलिको लागि र अर्को होमबलिको लागि ल्‍याओस्‌।

23“आठौँ दिनमा आफू शुद्ध हुनलाई त्‍यसले भेट हुने पालको ढोकामा परमप्रभुको सामुन्‍ने पूजाहारीकहाँ ती ल्‍याओस्‌।

24तब पूजाहारीले दोषबलिको पाठो र आधा माना तेल लिएर डोलाइने बलिको निम्‍ति परमप्रभुको सामु ती डोलाऊन्‌।

25दोषबलिको पाठो मारेर पूजाहारीले बलिको रगतबाट केही लिएर त्‍यो शुद्ध हुनुपर्नेको दाहिने कानको लोती, दाहिने हातको बूढ़ी-औँलो र दाहिने खुट्टाको बूढ़ी-औँलामा लगाइदेऊन्।

26पूजाहारीले त्‍यस तेलबाट आफ्‍नो देब्रे हातको हत्‍केलामा केही खन्‍याऊन्,

27र आफ्‍नो दाहिने हातको औँलाले आफ्‍नो देब्रे हातमा भएको केही तेल परमप्रभुको सामु सात पल्‍ट छर्कून्‌।

28अनि पूजाहारीले आफ्‍नो हातमा भएको तेलबाट केही लिएर त्‍यो शुद्ध हुनुपर्नेको दाहिने कानको लोती, दाहिने हातको बूढ़ी-औँलो र दाहिने खुट्टाको बूढ़ी-औँलामा दोषबलिको रगत लगाएकै ठाउँमा लगाइदेऊन्।

29अनि पूजाहारीले आफ्‍नो हातमा रहेको बाँकी तेल त्‍यस शुद्ध हुनुपर्नेका प्रायश्‍चितको निम्‍ति परमप्रभुको सामु त्‍यसको टाउकोमा लगाइदेऊन्।

30त्‍यसपछि ढुकुर अथवा परेवाका बचेरा जे त्‍यसले पाउन सक्‍छ,

31एउटा पापबलिको निम्‍ति, अर्को होमबलिको निम्‍ति पूजाहारीले अन्‍नबलिको साथमा चढ़ाऊन्‌। यसरी पूजाहारीले त्‍यस शुद्ध हुनुपर्नेको निम्‍ति परमप्रभुको सामुन्‍ने प्रायश्‍चित गर्नेछन्‌।”

32छालाको सरुवा रोग लागेर शुद्ध हुनलाई औकात नपुग्‍ने मानिसको निम्‍ति विधिहरू यी नै हुन्‌।

33परमप्रभुले मोशा र हारूनलाई भन्‍नुभयो,

34“जब मैले तिमीहरूको अधिकारमा दिन लागेको कनान देशमा तिमीहरू पुगौला, र तिमीहरूले अधिकारमा पाएको देशको कुनै घरमा फैलिने ढुसी मैले उत्‍पन्‍न गराएँ भने,

35त्‍यस घरको धनी गएर ‘मेरो घरमा ढुसी परेजस्‍तो लाग्‍छ’ भनी पूजाहारीलाई भनोस्‌।

36ढुसी जाँच गर्नुभन्‍दा अघि चीजबीज अशुद्ध नठहराऊन्‌ भनेर घर रित्तो पार्ने आदेश पूजाहारीले देऊन्। त्‍यसपछि पूजाहारी घर जाँच गर्न भित्र जाऊन्‌।

37अनि तिनले त्‍यो ढुसी जाँच गरून्‌। त्‍यो ढुसी घरका भित्तामा हरियो कि रातो रङ्गको गहिराइजस्‍तो रहेछ भने, र भित्ता गड़ेको देखा पर्दोरहेछ भने,

38घरदेखि ढोका भएर बाहिर निस्‍केर पूजाहारीले सात दिनसम्‍म त्‍यस घरलाई बन्‍द गरून्‌।

39फेरि सातौँ दिनमा आएर पूजाहारीले त्‍यो हेरून्, र त्‍यो घरका भित्ताहरूमा ढुसी फैलिएको रहेछ भने,

40पूजाहारीले ती ढुसी परेका ढुङ्गाहरू निकालेर सहरबाहिर कहीँ अशुद्ध ठाउँमा फाल्‍ने आज्ञा देऊन्।

41तिनले घरको भित्रपट्टि चारैतिर खुर्किन लगाऊन्, र खुर्किएको लिउनको माटो तिनीहरूले सहरबाहिर कहीँ अशुद्ध ठाउँमा फालून्‌।

42त्‍यसपछि तिनीहरूले अरू ढुङ्गा ल्‍याएर ती ढुङ्गाहरूका ठाउँमा लगाइदेऊन्, अनि अर्को लिउन ल्‍याएर घर पोतिदेऊन्।

43“ढुङ्गाहरू निकाली घर खुर्केर पोतिसकेपछि पनि त्‍यो ढुसी त्‍यस घरमा फेरि देखा पर्‍यो भने,

44पूजाहारी गएर हेरून्‌। त्‍यो ढुसी घरमा फैलिएको रहेछ भने, त्‍यो खतरनाक ढुसी हो। त्‍यो घर अशुद्ध ठहर्नेछ।

45त्‍यो घर भत्‍काइओस्, त्‍यसका ढुङ्गाहरू, काठपातहरू र सबै लिउनहरू लगेर सहरबाहिर कहीँ अशुद्ध ठाउँमा फालिओस्‌।

46“त्‍यस उप्रान्‍त त्‍यो घर बन्‍द रहुञ्‍जेल कोही त्‍यसभित्र पस्‍यो भने त्‍यो साँझसम्‍म अशुद्ध रहन्‍छ।

47अनि त्‍यस घरमा सुत्‍ने वा खानेले पनि आफ्‍ना लुगा धुनुपर्छ।

48“तर पूजाहारीले त्‍यस घरभित्र पसेर जाँच गर्दा घर पोतिएपछि ढुसी फैलिएको रहेनछ भने, पूजाहारीले त्‍यस घरलाई शुद्ध ठहराऊन्, किनभने ढुसी हटेको छ।

49अनि घर शुद्ध पार्नलाई तिनले दुई वटा चरा, देवदारुको काठ, हिसप र सिन्‍दूरे रङ्गको धागो ल्‍याऊन्‌।

50अनि तिनले माटोको भाँड़ामा भएको ताजा पानीमाथि चराहरूमध्‍ये एउटालाई मारून्‌।

51त्‍यसपछि देवदारुको काठ, हिसप, सिन्‍दूरे रङ्गको धागो र जिउँदो चरालाई लिएर त्‍यो मारिएको चराको रगतमा र ताजा पानीमा चोपेर त्‍यस घरमा सात पल्‍ट छर्कून्‌।

52तिनले चराको रगत, ताजा पानी, जिउँदो चरा, देवदारुको काठ, हिसप र सिन्‍दूरे रङ्गको धागोले घरलाई शुद्ध पारून्‌।

53तब तिनले जिउँदो चरालाई चाहिँ सहरबाहिर खुला मैदानमा छोड़िदेऊन्। यसरी तिनले त्‍यस घरको निम्‍ति प्रायश्‍चित गर्नेछन्, अनि त्‍यो शुद्ध हुनेछ।”

54छालाका सबै किसिमका सरुवा रोग, र चिलाउने व्‍यथा,

55लुगाको र घरको ढुसी,

56सूज र बिमिरा र उज्‍ज्‍वल दागको निम्‍ति शुद्ध वा अशुद्ध ठहराउने विधि यी नै हुन्‌।

57छालाका सरुवा रोगहरू र ढुसीको निम्‍ति विधिहरू यी नै हुन्‌।

Scripture Text © Nepal Bible Society 1997, 2006, 2009, 2012
/div>