1हारूनका दुई छोराहरू परमप्रभुको नजिक गएर मरेपछि परमप्रभुले मोशासित कुरा गर्नुभयो।
2परमप्रभुले मोशालाई भन्नुभयो, तेरो दाजु हारूनलाई सन्दूकमाथि भएको कृपा-आसनको सामुन्ने पर्दाभित्र महा-पवित्रस्थानमा मनपरी नआओस् भन्। नत्रता त्यो मर्ला, किनभने म कृपा-आसनमाथि बादलमा देखा पर्छु।
3“हारून पवित्रस्थानमा यसरी बस्नुपर्छ: त्यो पापबलिको निम्ति एउटा साँढ़े र होमबलिको निम्ति एउटा भेड़ा लिएर आओस्।
4सूती कपड़ाको पवित्र लबेदा, सूती कपड़ाको भित्री वस्त्र, सूती कपड़ाको पटुका, र सूती कपड़ाको फेटा पहिरेर आओस्। ती पवित्र लुगा हुन्। यसकारण त्यसले पानीमा नुहाएर मात्र ती लगाओस्।
5त्यसले इस्राएलीहरूको समुदायबाट पापबलिको निम्ति दुई वटा बोका र होमबलिको निम्ति एउटा भेड़ा ल्याओस्।
6“त्यसपछि हारूनले आफ्नो पापबलिको निम्ति साँढ़े चढ़ाओस्, र आफ्नो र आफ्नो घरानाको निम्ति प्रायश्चित गरोस्।
7तब त्यसले ती दुवै बोकाहरू लिएर भेट हुने पालको ढोकामा परमप्रभुको सामु राखिदेओस्।
8त्यसपछि हारूनले दुवै बोकामा चिट्ठा हालोस्, एउटा परमप्रभुको निम्ति र अर्कोचाहिँ छाड़ा छोडिने बोकाको निम्ति।
9चिट्ठामा परमप्रभुको भागमा परेको बोकाचाहिँ हारूनले नजिक ल्याएर पापबलिको निम्ति त्यो चढ़ाओस्।
10तर चिट्ठामा छाड़ा छोड्ने बोकाको भागमा परेको बोकाचाहिँ जिउँदै परमप्रभुको सामुन्ने ल्याइओस्, र त्यसपछि त्यो प्रायश्चित गर्नलाई छाड़ा हुन उजाड़-स्थानमा पठाइओस्।
11“हारूनले आफ्नो पापबलिको साँढ़े ल्याओस्, अनि आफ्नो र आफ्नो घरानाको निम्ति प्रायश्चित गरोस्। त्यसले आफ्नो पापबलिको निम्ति साँढ़े मारोस्।
12त्यसले परमप्रभुको सामुन्नेको वेदीबाट आगोका फिलिङ्गाहरूले भरिएको धुपौरो र मसिनो गरी कुटेको सुगन्धित धूप मुट्ठीभरि लिएर पर्दाभित्र ल्याओस्।
13त्यसले परमप्रभुको सामुन्नेको आगोमा धूप हालोस्, र धूपको धूवाँले गवाहीको सन्दूकमाथि भएको कृपा-आसनलाई छोपोस्, नत्रता त्यो मर्नेछ।
14त्यसपछि त्यसले साँढ़ेको रगतबाट केही लिएर आफ्नो औँलाले कृपा-आसनमाथि छर्कोस्, अनि कृपा-आसनको सामुन्ने आफ्नो औँलाले त्यो रगत सात पल्ट छर्कोस्।
15“तब त्यसले मानिसहरूका निम्ति पापबलिको बोका मारोस्, र त्यसको रगत पर्दाभित्र ल्याएर साँढ़ेको रगतजस्तै कृपा-आसनमाथि र कृपा-आसनको सामुन्ने छर्कोस्।
16यसरी इस्राएलीहरूका अशुद्धि, अपराध र तिनीहरूका जम्मै पापको कारणले महा-पवित्रस्थानका निम्ति त्यसले प्रायश्चित गरोस्। तिनीहरूका अशुद्धिको बीचमा भएको भेट हुने पालको निम्ति पनि त्यसले त्यसै गरोस्।
17जब हारून प्रायश्चित गर्नलाई महा-पवित्रस्थानमा पस्छ, त्यसले आफ्नो निम्ति, आफ्नो घरानाको निम्ति र इस्राएलको जम्मै समुदायको निम्ति प्रायश्चित गरेर नफर्कुञ्जेल भेट हुने पालमा कुनै मानिस पनि नरहोस्।
18“तब त्यसले बाहिर वेदीमा गएर परमप्रभुको सामुन्ने त्यसको निम्ति प्रायश्चित गरोस्। अनि साँढ़े र बोकाको रगतबाट केही लिएर वेदीका चारैतिरका सीङहरूमा लगाओस्।
19रगतबाट आफ्नो औँलाले सात पल्ट त्यसमाथि छर्केर इस्राएलीहरूको अशुद्धिबाट वेदीलाई शुद्ध र पवित्र गरोस्।
20“जब हारूनले महा-पवित्रस्थान, भेट हुने पाल र वेदीको निम्ति प्रायश्चित गरिसकेको छ, तब त्यसले जिउँदो बोकाचाहिँ ल्याओस्।
21अनि हारूनले आफ्ना दुवै हात जिउँदो बोकाको टाउकोमा राखोस्, र इस्राएलीहरूका सारा अधर्म, अपराध र पाप स्वीकार गरेर बोकाको टाउकोमाथि राखिदेओस्। त्यसले ती पापहरू बोकाको टाउकोमा राखेर त्यसलाई अघिबाट खटाइराखेको मानिसको साथ उजाड़-स्थानमा पठाइदेओस्।
22यसरी त्यस बोकाले तिनीहरूका सारा अधर्म एकलास ठाउँमा बोकेर लैजाओस्, र त्यस मानिसले त्यस बोकालाई उजाड़-स्थानमा छोड़िदेओस्।
23“त्यसपछि हारून भेट हुने पालमा गएर महा-पवित्रस्थानमा जाँदा त्यसले लाएका सूती लुगाहरू फुकालेर त्यहीँ छोड़ोस्।
24त्यसले आफ्नो शरीर कहीँ चोखो ठाउँमा पानीमा नुहाओस्, र आफ्ना निज लुगाहरू लाएर आओस्। अनि आफ्नै लागि र मानिसहरूका लागि होमबलि चढ़ाईकन प्रायश्चित गरोस्।
25पापबलिको बोसो पनि त्यसले वेदीमा जलाओस्।
26“छाड़ा हुने बोकालाई छोड्न जानेले आफ्ना लुगा धोएर आफ्नो शरीर नुहाओस्, र त्यसपछि त्यो छाउनीमा आओस्।
27रगतद्वारा प्रायश्चित गर्नलाई महा-पवित्रस्थानमा ल्याइएका पापबलिका साँढ़े र बोका दुवैलाई छाउनीदेखि बाहिर लगेर तिनीहरूका छाला, मासु र गोबर आगोमा जलाइदिनू।
28ती जलाउनेले आफ्नो लुगा धोएर आफ्नो शरीर नुहाओस्, र त्यसपछि त्यो छाउनीमा आओस्।
29“तिमीहरूका निम्ति यो अनन्तको विधि होस्। सातौँ महिनाको दशौँ दिनमा तिमीहरूले आफू-आफूलाई इन्कार गर्नू
30किनभने त्यसै दिन तिमीहरूलाई शुद्ध पार्नलाई तिमीहरूका निम्ति प्रायश्चित गरिन्छ। तब परमप्रभुको सामुन्ने सबै पापबाट तिमीहरू शुद्ध हुनेछौ।
31यो तिमीहरूका निम्ति विश्रामको शबाथ हो। तिमीहरूले आफू-आफूलाई इन्कार गर्नू। यो सदाको लागि एउटा आदेश हो।
32अभिषेक भएको र बुबाचाहिँको सट्टामा प्रधान पूजाहारी हुनलाई जो नियुक्त भएको छ, त्यसैले प्रायश्चित गरोस्, र त्यसले पवित्र सूती लुगाहरू लगाओस्।
33त्यसले महा-पवित्रस्थान, भेट हुने पाल र वेदीको निम्ति प्रायश्चित गरोस्। अनि त्यसले पूजाहारीहरू र समुदायका सबै मानिसहरूका निम्ति पनि प्रायश्चित गरोस्।
34“यो तिनीहरूका निम्ति अनन्तको विधि होस्: वर्षको एक पल्ट इस्राएलीहरूका सारा पापका निम्ति प्रायश्चित गरिओस्।”