1परमप्रभुले मोशालाई भन्नुभयो,
2“इस्राएलीहरूलाई भन्: ‘पवित्र सभा स्वरूप तिमीहरूले घोषणा गर्नुपर्ने परमप्रभुका तोकिएका चाड़हरू यी नै हुन्।
3“‘छ दिन काम गरिओस्, तर सातौँ दिनचाहिँ विशेष विश्राम को शबाथ, एक पवित्र सभाको दिन हो। त्यस दिन तिमीहरूले कुनै किसिमको काम नगर्नू। तिमीहरूले जहीँ बसोबास गरे तापनि त्यो परमप्रभुको शबाथ हो।
4“‘तोकिएका समयमा तिमीहरूले घोषणा गर्नुपर्ने परमप्रभुका तोकिएका चाड़हरू, अर्थात् पवित्र सभाहरू यी नै हुन्:
5पहिलो महिनाको चौधौँ दिनको साँझमा परमप्रभुको निस्तार सुरु हुन्छ।
6त्यसै महिनाको पन्ध्रौँ दिनमा परमप्रभुको निम्ति अखमिरी रोटीको चाड़ सुरु हुन्छ। सात दिनसम्म तिमीहरूले अखमिरी रोटी खानू।
7पहिलो दिन पवित्र सभा होस्। त्यस दिनमा तिमीहरूले दैनिक काम नगर्नू।
8सात दिनसम्म तिमीहरूले परमप्रभुको निम्ति अग्नि-होम चढ़ाउनू। अनि सातौँ दिनमा पवित्र सभा होस्। त्यस दिनमा तिमीहरूले दैनिक काम नगर्नू’।”
9परमप्रभुले मोशालाई भन्नुभयो,
10“इस्राएलीहरूलाई भन्: ‘मैले तिमीहरूलाई दिने देशमा पुगेर जब त्यहाँको बाली काटौला, तब तिमीहरूले आफ्नो बालीको पहिलो उब्जनीको एक बिटा पूजाहारीकहाँ ल्याउनू।
11त्यो ग्रहण हुनलाई तिनले त्यो बिटा परमप्रभुको सामुन्ने डोलाऊन्। शबाथको भोलिपल्ट पूजाहारीले त्यो डोलाऊन्।
12त्यो बिटा डोलाउन लगाएको दिन परमप्रभुको निम्ति होमबलिको लागि एउटा एक वर्षे निष्खोट थुमा तिमीहरूले चढ़ाउनू।
13त्यससँगको अन्नबलिचाहिँ परमप्रभुको निम्ति एक मीठो बास्ना, आगोद्वारा चढ़ाइने बलि स्वरूप तेलमा मुछेको एक पाथी मसिनो पीठो होस्। अर्घबलिचाहिँ एक लिटर दाखमद्य होस्।
14तिमीहरू यो बलि आफ्ना परमेश्वरको निम्ति जुन दिनसम्म ल्याउँदैनौ त्यस दिनसम्म रोटी, भुटेको अन्न र हरियो बाला केही नखानू। तिमीहरूले जहीँ बसोबास गरे तापनि तिमीहरूका पुस्तौँ-पुस्तौँका निम्ति यो अनन्तको विधि होस्।
15“‘शबाथको भोलिपल्टदेखि, अर्थात् तिमीहरूले डोलाइने बलिको बिटा ल्याएको दिनदेखि सात हप्ता तिमीहरूले गन्नू,
16अर्थात् सातौँ शबाथको भोलिपल्टसम्म पचास दिन गन्नू। त्यही दिन तिमीहरूले परमप्रभुको निम्ति नयाँ अन्नको बलि चढ़ाउनू।
17तिमीहरूले आफ्नो घरदेखि एक पाथी मसिनो पीठोले बनाएका र खमिर मिलाएर पकाएका दुई वटा रोटी परमप्रभुको निम्ति अगौटे फलको बलि स्वरूप ल्याउनू।
18ती रोटीसित एक वर्षे सात वटा निष्खोट थुमा र एउटा साँढ़े र दुई वटा भेड़ाहरू चढ़ाउनू। ती तिनीसँगका अन्नबलि र अर्घ-बलिसमेत परमप्रभुको निम्ति आगोद्वारा चढ़ाइने मीठो बास्नाको होमबलि होस्।
19त्यसपछि तिमीहरूले पापबलिको निम्ति एउटा बोका र मेलबलिको निम्ति एक वर्षे दुई वटा थुमा चढ़ाउनू।
20पूजाहारीले परमप्रभुको सामु, अगौटे फलको रोटीसँगसँगै डोलाइने बलिको निम्ति दुई वटा थुमा डोलाऊन्। पूजाहारीको हिस्सा हुनलाई त्यो परमप्रभुको निम्ति पवित्र बलि होस्।
21त्यस दिन पवित्र सभा हो भनी तिमीहरूले घोषणा गर्नू। त्यस दिनमा तिमीहरूले दैनिक काम नगर्नू। तिमीहरूका पुस्तौँ-पुस्तौँका निम्ति यो अनन्तको विधि होस्।
22“‘तिमीहरूले आफ्नो देशमा खेतको बाली काट्दा खेतका छेउ-छेउसम्म निखारेर नकाट्नू। तिमीहरूले आफ्नो बालीको शिला-बाला नबटुल्नू। ती तिमीहरूले गरीब र परदेशीहरूका निम्ति छोड़िदिनू। म परमप्रभु तिमीहरूका परमेश्वर हुँ।”
23परमप्रभुले मोशालाई भन्नुभयो,
24“इस्राएलीहरूलाई भन्: ‘सातौँ महिनाको पहिलो दिनमा तिमीहरूका निम्ति विशेष विश्रामको दिन होस्। त्यस दिन सम्झनाको लागि तुरही फुकेर पवित्र सभा राखिओस्।
25तिमीहरूले त्यस दिनमा दैनिक काम नगर्नू, तर परमप्रभुको निम्ति अग्नि-होम चढ़ाउनू’।”
26परमप्रभुले मोशालाई भन्नुभयो,
27“सातौँ महिनाको दशौँ दिनचाहिँ प्रायश्चितको दिन होस्। त्यस दिन तिमीहरूले पवित्र सभा राख्नू। तिमीहरूले आफैलाई इन्कार गर्नू,
28त्यस दिन तिमीहरूले कुनै किसिमको काम नगर्नू, किनभने परमप्रभुको सामुन्ने तिमीहरूका निम्ति प्रायश्चित गरिने यो प्रायश्चितको दिन हो।
29त्यस दिन जसले आफूलाई इन्कार गर्दैन, त्यो आफ्ना मानिसहरूबाट बहिष्कार गरिओस्।
30त्यस दिन कुनै किसिमको काम गर्ने मान्छेलाई त्यसका मानिसहरूमध्येबाट म नाश गर्नेछु।
31तिमीहरूले कुनै किसिमको काम नगर्नू। तिमीहरूले जहीँ बसोबास गरे तापनि तिमीहरूका पुस्तौँ-पुस्तौँका निम्ति यो अनन्तको विधि होस्।
32तिमीहरूका निम्ति यो विशेष विश्रामको शबाथ होस्, र तिमीहरूले आफू-आफूलाई इन्कार गर्नू। त्यस महिनाको नवौँ दिनको साँझदेखि भोलिपल्ट साँझसम्म तिमीहरूले आफ्नो शबाथ पालन गर्नू।”
33परमप्रभुले मोशालाई भन्नुभयो,
34“इस्राएलीहरूलाई भन्: ‘सातौँ महिनाकै पन्ध्रौँ दिनदेखि सात दिनसम्म परमप्रभुको छाप्रो-वासको चाड़ होस्।
35त्यसको पहिलो दिन पवित्र सभा होस्। त्यस दिन तिमीहरूले दैनिक काम नगर्नू।
36सात दिनसम्म तिमीहरूले परमप्रभुको निम्ति अग्नि-होम चढ़ाउनू। आठौँ दिनमा तिमीहरूले पवित्र सभा राख्नू, र तिमीहरूले परमप्रभुको निम्ति एउटा अग्नि-होम चढ़ाउनू। यो समाप्त गर्ने सभा हो। तिमीहरूले दैनिक काम नगर्नू।
37(“ ‘पवित्र सभा स्वरूप तिमीहरूले घोषणा गर्नुपर्ने परमप्रभुका तोकिएका चाड़हरू यी नै हुन्। यी चाड़मा परमप्रभुको निम्ति तिमीहरूले आगोद्वारा चढ़ाइने होमबलि, अन्नबलि, बलिदान र अर्घ-बलि ठीक-ठीक दिनमा चढ़ाउनू।
38परमप्रभुको शबाथ, तिमीहरूका दानहरू, भाकलहरू र परमप्रभुलाई दिने गरेका स्वेच्छा भेटीहरूबाहेक यी हुनुपर्छ।)
39“‘सातौँ महिनाको पन्ध्रौँ दिनमा आफ्नो जमिनका फलहरू बटुलेपछि तिमीहरूले सात दिनसम्म परमप्रभुको निम्ति यो चाड़ मनाउनू। पहिलो दिन र आठौँ दिन विशेष विश्रामका दिन हुन्।
40पहिलो दिन तिमीहरूले रूखहरूका असल-असल फल, खजूरका हाँगाहरू, धेरै पात भएका हाँगाहरू, र लहरे-पीपलका हाँगाहरू लिएर परमप्रभु तिमीहरूका परमेश्वरको सामुन्ने सात दिनसम्म खुशी मनाउनू।
41तिमीहरूले वर्षमा सात दिनसम्म परमप्रभुको निम्ति यो चाड़ मनाउनू। यो तिमीहरूका पुस्तौँ-पुस्ताका लागि अनन्तको विधि होस्। यो तिमीहरूले सातौँ महिनामा मनाउनू।
42सात दिनसम्म तिमीहरू झुप्राहरूमा बस्नू। सबै स्वदेशी इस्राएलीहरूचाहिँ झुप्रामा बसून्,
43र मैले मिश्रबाट निकालेर ल्याउँदा तिनीहरूलाई झुप्रामा बस्न लाएको थिएँ भनी तिमीहरूका भावी सन्तानहरूले जानून्। म परमप्रभु तिमीहरूका परमेश्वर हुँ’।”
44यसरी मोशाले इस्राएलीहरूलाई परमप्रभुका तोकिएका चाड़हरू घोषणा गरे।