व्यवस्था 27:1-26 NNRV2012 - Bible AI

1मोशा र इस्राएलका धर्म-गुरुहरूले मानिसहरूलाई यस्‍तो आदेश दिए: “मैले आज तिमीहरूलाई दिएका आज्ञाहरू सबै पालन गर।

2जब तिमीहरू यर्दन तरेर परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई दिनुहुने देशमा पुग्‍नेछौ, तब ठूला-ठूला ढुङ्गा खड़ा गरेर कमेरोले पोत्‍नू।

3तिमीहरूका पुर्खाहरूका परमप्रभु परमेश्‍वरले प्रतिज्ञा गर्नुभएअनुसार परमप्रभु आफ्‍ना परमेश्‍वरले तिमीहरूलाई दिनुहुने, दूध र मह बग्ने देशमा पसेको दिन यस व्‍यवस्‍थाका सबै वचनहरू त्‍यसमा लेख्‍नू।

4यर्दन पारि पुगेको दिन मैले भनेका यी ढुङ्गाहरू एबाल डाँड़ामा स्‍थापना गरेर कमेरोले पोत्‍नू।

5त्‍यहीँ तिमीहरूले परमप्रभु आफ्‍ना परमेश्‍वरको निम्‍ति ढुङ्गाको वेदी बनाउनू। त्‍यसमा कुनै फलामको हतियार प्रयोग नगर्नू।

6तिमीहरूले परमप्रभु आफ्‍ना परमेश्‍वरको वेदी खेतका ढुङ्गाको बनाउनू, र त्‍यहाँ परमप्रभु आफ्‍ना परमेश्‍वरको निम्‍ति होमबलि चढ़ाउनू।

7तिमीहरूले मेलबलि चढ़ाएर त्‍यहीँ खानू, अनि परमप्रभु तिमीहरूका परमेश्‍वरको सामुन्‍ने आनन्‍द मनाउनू।

8तिमीहरूले खड़ा गरेका ती ढुङ्गामा यस व्‍यवस्‍थाका सबै आदेश स्‍पष्‍टसँग लेख्‍नू।”

9तब मोशा र लेवी पूजाहारीहरूले जम्‍मै इस्राएललाई यसो भने, “हे इस्राएली हो, चूप लागेर सुन। आज तिमीहरू परमप्रभु आफ्‍ना परमेश्‍वरका प्रजा भएका छौ।

10आज मैले आदेश दिएबमोजिम तिमीहरूले परमप्रभु आफ्‍ना परमेश्‍वरका आज्ञा र विधि पूरा गरेर उहाँको वचन पालन गर्नू।”

11त्‍यही दिन मोशाले मानिसहरूलाई यस्‍तो आदेश दिए:

12तिमीहरू यर्दन पारि तरेपछि शिमियोन, लेवी, यहूदा, इस्‍साखार, योसेफ र बेन्‍यामीनचाहिँ मानिसहरूलाई आशीर्वाद दिनका लागि गीरीज्‍जीम डाँड़ामा खड़ा होऊन्‌।

13रूबेन, गाद, आशेर, जबूलून, दान र नप्‍तालीचाहिँ श्राप दिनका निम्‍ति एबाल डाँड़ामा खड़ा होऊन्‌।

14अनि लेवीहरूले इस्राएलका सबै मानिसलाई उच्‍च सोरले यसो भनेर घोषणा गरून्‌:

15“कारीगरले बनाएको जस्‍तै आफूले खोपेको वा ढालेको परमप्रभुलाई घिन लाग्‍ने मूर्ति गुप्‍तमा स्‍थापना गर्ने मानिस श्रापित होस्‌।” तब सबै जनाले भनून्, “आमेन।”

16“आफ्‍ना आमा-बुबालाई अपमान गर्ने मानिस श्रापित होस्‌।” तब सबै जनाले भनून्, “आमेन।”

17“आफ्‍ना छिमेकीको साँधसिमानाको ढुङ्गो हटाउने मानिस श्रापित होस्‌।” तब सबै जनाले भनून्, “आमेन।”

18“अन्‍धालाई उल्‍टो बाटो देखाइदिने मान्‍छे श्रापित होस्‌।” तब सबै जनाले भनून्, “आमेन।”

19“परदेशी, टुहुरा-टुहुरी र विधवाले पाउनुपर्ने न्‍याय नदिने मानिस श्रापित होस्‌।” तब सबै जनाले भनून्, “आमेन।”

20“आफ्‍ना बुबाकी पत्‍नीसँग सहवास गर्ने मानिस श्रापित होस्, किनकि त्‍यसले आफ्‍ना बुबाको ओछ्यानको अपमान गर्दछ।” तब सबै जनाले भनून्, “आमेन।”

21“पशुसँग सम्‍भोग गर्ने मानिस श्रापित होस्‌।” तब सबै जनाले भनून्, “आमेन।”

22“आफ्‍ना बुबा वा आमाकी छोरी, अर्थात्‌ आफ्‍नै बहिनीसँग सहवास गर्ने मानिस श्रापित होस्‌।” तब सबै जनाले भनून्, “आमेन।”

23“आफ्‍नी सासूसित सहवास गर्ने मानिस श्रापित होस्‌।” तब सबै जनाले भनून्, “आमेन।”

24“गोप्‍य रीतिले छिमेकीलाई मार्ने मानिस श्रापित होस्‌।” तब सबै जनाले भनून्, “आमेन।”

25“निर्दोष मान्‍छेको हत्‍या गर्नलाई घूस लिने मानिस श्रापित होस्‌।” तब सबै जनाले भनून्, “आमेन।”

26“यस व्‍यवस्‍थाका वचन पूरा गरी पालन नगर्ने मानिस श्रापित होस्‌।” तब सबै जनाले भनून्, “आमेन।”