2मेरा शिक्षा झरीझैँ बर्सन देओ, मेरो वचन शीतझैँ झर्न देओ, कलिलो घाँसमाथि सिमसिमे पानीझैँ, झारपातमाथि दर्कने पानीझैँ।
3म परमप्रभुका नाउँको घोषणा गर्नेछु। परमेश्वरका महानताको प्रशंसा गर!
4उहाँ नै चट्टान हुनुहुन्छ। उहाँका काम सिद्ध छन्, र उहाँका सबै चाल न्यायोचित छन्। एउटा विश्वासयोग्य परमेश्वर जसले भूल गर्नुहुन्न, न्यायी र सत्य उहाँ हुनुहुन्छ।
5तिनीहरूले उहाँसँग भ्रष्ट व्यवहार गरे। लाजमर्दो कुरो, तिनीहरू अबदेखि उहाँका सन्तान होइनन्। तिनीहरू बाङ्गो र टेढ़ो पुस्ताका मानिसहरू हुन्।
6के यसरी नै तिमीहरूले परमप्रभुलाई कृतज्ञता देखाउँछौ, हे मूर्ख र बुद्धि नभएका मानिसहरू तिमीहरूलाई सृष्टि गर्ने र बनाउने उहाँ नै तिमीहरूका पिता, तिमीहरूका सृष्टिकर्ता हुनुहुन्न र?
7उहिले-उहिलेका दिनको स्मरण गर, युग-युगअघिका पुस्ताका बारेमा सोच। तिमीहरूका बुबालाई सोध, र तिनले तिमीहरूलाई बताउनेछन्, तिमीहरूका बुढापाकालाई सोध, र तिनीहरूले तिमीहरूलाई बताउनेछन्।
8जब सर्वोच्चले जाति-जातिहरूलाई उनीहरूका अंश दिनुभयो, ⓟ जब उहाँले सबै मानिस-जातिलाई विभाजन गर्नुभयो, तब उहाँले इस्राएलीहरूका सन्तानको संख्याअनुसार जाति-जातिका सिमाना ठहराइदिनुभयो।
9परमप्रभुको निज हिस्सा उहाँका मानिसहरू हुन्, याकूब उहाँका अंशको भाग हुन्।
10उहाँले तिनलाई निर्जन स्थानमा भेट्टाउनुभयो, गर्जने आवाजले भरिएको उजाड़ ठाउँमा। उहाँले तिनलाई जोगाउनुभयो र तिनको वास्ता गर्नुभयो, उहाँले तिनलाई आफ्नो आँखाको नानीझैँ रक्षा गर्नुभयो—
11गुँड़लाई हल्लाएर आफ्ना बचेराहरूमाथि हावामा उड़िरहने, पखेटा फैलाई बचेराहरूलाई थाम्ने, र आफ्ना प्वाँखमाथि ती बोक्ने गरुडले झैँ।
12परमप्रभु एक्लैले तिनलाई अगुवाइ गर्नुभयो, उहाँसँग विदेशी देवता थिएन।
13उहाँले तिनलाई पृथ्वीका अग्ला ठाउँहरूमाथि सवार गराउनुभयो, अनि तिनलाई खेतको उब्जनी खुवाउनुभयो। उहाँले तिनलाई पहराको मह र दर्शनढुङ्गाको भीरबाट तेल खुवाउनुभयो।
14गाई-गोरुको बथान र भेड़ाबाख्राको बगालबाट दूध र दही, अनि पोस्याइएका थुमा र बाख्राहरू, बाशानका छानिएका भेड़ाहरू, र गहूँका असल दानाहरू उहाँले तिनलाई खुवाउनुभयो। तिमीहरूले फीँज उठेको दाखरस पियौ।
15तर यशूरूनले [1] मोटाएर लात हाने, राम्ररी खान पाएर ती मोटा र चिल्ला भए। तब तिनले आफूलाई सृष्टि गर्नुहुने परमेश्वरलाई त्यागे, र आफ्ना उद्धारकर्ता चट्टानलाई तुच्छ ठाने।
16तिनीहरूले आफ्ना अन्य देवताहरूको कारण उहाँलाई डाही तुल्याए, र आफ्ना घृणित मूर्तिहरूद्वारा उहाँलाई रीस उठाए।
17तिनीहरूले भूतहरूका निम्ति बलि चढ़ाए, जो ईश्वर होइनन्, ⓠ तिनीहरूले नचिनेका देवताहरूलाई, भर्खरै देखा परेका देवताहरूलाई, तिमीहरूका पिता-पुर्खाले भक्ति नगरेका देवताहरूलाई।
18तिमीहरूलाई जन्माउने चट्टानलाई तिमीहरूले त्याग्यौ, तिमीहरूलाई जन्म दिनुहुने परमेश्वरलाई तिमीहरूले बिर्स्यौ।
19त्यो देखेर परमप्रभुले तिनीहरूलाई तिरस्कार गर्नुभयो, किनभने उहाँका छोराछोरीहरूको कारण उहाँलाई रीस उठ्यो।
20तब उहाँले भन्नुभयो, “म तिनीहरूबाट आफ्नो मुख लुकाउनेछु” अनि तिनीहरूको अन्त के हुनेछ, म हेर्नेछु। किनकि तिनीहरू उल्टा पुस्ताका हुन्, विश्वासघाती सन्तानहरू हुन्।
21जो ईश्वर होइन, त्यसको कारण तिनीहरूले मलाई डाही तुल्याए, ⓡ तिनीहरूका व्यर्थका मूर्तिहरूद्वारा तिनीहरूले मलाई रीस उठाए। एउटा जाति नै नभएका मानिसहरूद्वारा म तिनीहरूलाई डाही बनाउँछु, समझै नभएको एउटा जातिद्वारा तिनीहरूको रीस उठाउनेछु।
22किनकि मेरो रीसले एउटा आगो सल्काएको छ, जसले तल मृत्युको राज्यसम्मै [2] जलाउँछ। त्यसले पृथ्वी र त्यसको उब्जनीलाई भस्म पार्नेछ, र पहाड़हरूका जगमा आगो लाउनेछ।
23“म तिनीहरूमाथि विपत्ति ल्याउनेछु, म आफ्ना काँड़ तिनीहरूमाथि चलाउनेछु।
24म तिनीहरूका विरुद्धमा नाश गर्ने अनिकाल पठाउनेछु, क्षय गर्ने महामारी र भयङ्कर रूढ़ी। तिनीहरूका विरुद्ध जङ्गली जनावरका दाह्रा पठाउनेछु, र भूइँमा घस्रने विषालु सर्पहरू।
25गल्ली-गल्लीमा तरवारले तिनीहरूलाई निस्सन्तान बनाउनेछ, तिनीहरूका घर-घरमा आतङ्कले राज्य गर्नेछ। युवक-युवतीहरू दुवै नष्ट हुनेछन्, दूधे-बालक र केश फुलेका बुढापाका पनि।
26मैले भनें, ‘म तिनीहरूलाई टाढ़ा-टाढ़ासम्म तितरबितर पार्नेछु, र मानव-जातिको बीचबाट तिनीहरूको सम्झना मेटिदिनेछु’।
27तर मलाई शत्रुको खिसी मन परेन, कहीँ विरोधीले गल्ती सम्झेर भन्ला, ‘हाम्रो हातले विजय पायो, परमप्रभुले यो सब गर्नुभएको होइन’।”
28तिनीहरू समझ नभएको जाति हुन्, र तिनीहरूमा केही अन्तर्दृष्टि नै छैन।
29तिनीहरू बुद्धिमान् भएर यो कुरो बुझ्न सक्ने भएको भए, र तिनीहरूको अन्त के हुन्छ सो देखेको भए!
30तिनीहरूको चट्टानले तिनीहरूलाई बेची नसकेको भए, परमप्रभुले तिनीहरूलाई त्यागी नसक्नुभएको भए, कसरी एक जनाले एक हजारलाई खेद्न सक्थ्यो, वा दुई जनाले दश हजारलाई?
31किनकि उनीहरूको चट्टान हाम्रो चट्टानजस्तो होइन, हाम्रा शत्रुहरू आफैले पनि यो स्वीकार गर्छन्।
32उनीहरूको लहरा सदोमको लहराबाट र गमोराका बारीहरूबाट आएको हो। उनीहरूका दाख विषले भरिएका छन् र उनीहरूका दाखका झुप्पाहरू तीतोपनले।
33उनीहरूको दाखमद्य सर्पहरूको विष, गोमनको कड़ा विष हो।
34“के यो मैले साँचेर राखेको छैनँ, र मेरा भण्डारमा छाप मारेर राखेको छैनँ?
35बदला लिने काम मेरो हो, म नै बदला लिनेछु। ⓢ ठीक समयमा उनीहरूको खुट्टा चिप्लनेछ, उनीहरूको पतनको दिन नजिक आएको छ। उनीहरूको सर्वनाश उनीहरूमाथि आइपर्दैछ।”
36जब तिनीहरूको बल घटेको ⓣ र बँधुवा वा फुक्का केही नरहेको उहाँले देख्नुहुन्छ। तब परमप्रभुले आफ्ना मानिसहरूको इन्साफ गर्नुहुनेछ, र आफ्ना सेवकहरूलाई टिठ्याउनुहुनेछ।
37उहाँले भन्नुहुनेछ, “उनीहरूका देवताहरू कहाँ छन्, उनीहरूले शरण लिएको चट्टान?
38यी देवताहरू, जसले उनीहरूका बलिदानको बोसो खान्थे, र उनीहरूका अर्घको दाखमद्य पिउँथे? यिनीहरू उठेर तिमीहरूको सहायता गरून्! यिनीहरूले तिमीहरूलाई आश्रय देऊन्!
39“अब हेर, म उही हुँ, मबाहेक अरू कोही ईश्वर छैन। म नै मार्दछु, र म नै जीवित पार्दछु। म नै चोट लाउँछु, र म नै निको पार्छु, र कसैले मेरो हातबाट छुटाउन सक्दैन।
40म आफ्नो हात स्वर्गतिर उठाएर घोषणा गर्छु: म सधैँको लागि जिएझैँ
41जब म आफ्नो चम्कने तरवारमा शान लगाउँछु, र मेरो हातले इन्साफमा त्यो पक्रन्छ, तब म मेरा विरोधीहरूमाथि बदला लिनेछु, र मलाई तिरस्कार गर्नेहरूलाई साटो फेर्नेछु।
42म मेरा काँड़हरूलाई रगतले मत्याउनेछु, जब मेरो तरवारले मासु खाँदछ, मारिएका र कैदमा परेकाहरूको रगत, शत्रुहरूका नायकहरूका शिर!”
43हे जातिहरू हो, उहाँको प्रजासँग रमाओ, ⓤ किनकि उहाँले आफ्ना दासहरूका रगतको बदला लिनुहुनेछ। उहाँले आफ्ना शत्रुहरूमाथि साटो लिनुहुनेछ, र आफ्नो देश र आफ्नो प्रजाको लागि प्रायश्चित गर्नुहुनेछ।