श्रेष्‍ठगीत 3:1-11 NNRV2012 - Bible AI

1रातभर मेरो ओछ्यानमा मेरो हृदयले प्रेम गरेका प्रेमीलाई मैले खोजें, मैले उहाँलाई खोजें तर भेट्टाइनँ।

2म अब उठेर सहरतिर लाग्‍नेछु, गल्‍ली र चोकहरूतिर। मेरो हृदयले प्रेम गरेका प्रेमीलाई म खोज्‍नेछु। यसरी मैले उहाँलाई खोजें तर भेट्टाइनँ।

3सहरमा घुम्‍दै गरेका पहरेदारहरूले मलाई भेट्टाए। “के तपाईंले मेरो हृदयका प्रेमीलाई देख्‍नुभयो?”

4तिनीहरूलाई छोड़ेर अलिक परसम्‍म मात्र म अगि बढ़ेकी थिएँ कि मेरो हृदयका प्रेमीलाई मैले भेटें। मैले उहाँलाई मेरी आमाको घर, मलाई जन्‍म दिनुहुनेको कोठामा नल्‍याउञ्‍जेलसम्‍म नछोड़ीकन समातेर राखें।

5यरूशलेमका छोरीहरू हो, म तिमीहरूलाई आज्ञा गर्दछु, मैदानका मुडुली मृग र हरिणहरूको नाउँमा: आफूले नचाहेसम्‍म प्रेमलाई नउठाओ वा नजगाओ।

6व्‍यापारीका सबै मसलाहरूबाट बनिएको मूर्र र धूपले सुगन्‍धित भएर, उजाड़-स्‍थानबाट धूवाँको मुस्‍लाजस्‍तै, माथि आउँदै गरेका यिनी को हुन्‌?

7हेर त! यो त सोलोमनको सवारी पालकी हो, यसलाई इस्राएलका सुयोग्‍य साठी जना योद्धाहरूले सुरक्षा गरी लिइ हिँड़ेका छन्,

8सबैले तरवार भिरेका छन्, युद्धमा ती निपुण हुन्, तिनका तरवार छेउमा छन्, रात्रिको त्रासलाई सामना गर्न।

9राजा सोलोमनले आफ्‍नै निम्‍ति बनाउनुभएको पालकी लेबनानबाट झिकाइएका काठबाट बनाइएको हो।

10उहाँले यसका डन्‍डा चाँदी र आधार सुनले बनाउनुभयो। यसको बस्‍ने आसन बैजनी वस्‍त्रले ढाकियो, र यसको भित्री भाग यरूशलेमका छोरीहरूले अति राम्ररी जड़ियो।

11सियोनका छोरीहरू हो, बाहिर निस्‍केर आओ, राजा सोलोमनले मुकुट लगाउनुभएको हेर, त्‍यो मुकुट जुन उहाँकी आमाले विवाहको दिन, उहाँको हृदय रमाएको दिनमा पहिराइदिएकी थिइन्‌।

e>