श्रेष्‍ठगीत 4:1-16 NNRV2012 - Bible AI

1मेरी प्‍यारी, तिमी साह्रै सुन्‍दरी छ्यौ! असाध्‍यै सुन्‍दरी! घुम्‍टोभित्र लुकेका तिम्रा आँखा ढुकुरजस्‍ता छन्, तिम्रा केश गिलाद डाँड़ाको भिरालोबाट झरिरहेका बाख्राको बगालजस्‍तै छ।

2तिम्रा दाँत भरखरै कत्रेका, नुहाएर आएका भेड़ाहरूका बथानजस्‍तै छन्‌। प्रत्‍येकको जुम्‍ल्‍याहा छ, कुनै पनि एकलो छैन।

3तिम्रा ओठ राता रिबनजस्‍ता छन्, तिम्रो मुख अति सुन्‍दर छ। घुम्‍टोभित्र तिम्रा गालाहरू दुई फ्‍याक परेको दारिमजस्‍तै छन्‌।

4तिम्रो घाँटी दाऊदको भव्‍य धरहराजस्‍तै छ। त्‍यहाँ एक हजार ढाल झुण्‍डाइएका छन्, ती सबै योद्धाहरूका ढाल हुन्‌।

5तिम्रा दुई स्‍तन दुई पाठाजस्‍तै छन्, लिली फूलका बीचमा चर्ने हरिणका जुम्‍ल्‍याहा पाठाजस्‍तै छन्‌।

6झिसमिसे बिहान नआएसम्‍म र छाया हराउँदै नगएसम्‍म, म मूर्रको पर्वतमा र धूपको डाँड़ामा जानेछु।

7मेरी प्‍यारी, तिमी साह्रै सुन्‍दरी छ्यौ, तिमीमा कुनै दाग छैन।

8हे मेरी दुलही, लेबनानबाट मकहाँ आऊ, लेबनानबाट मकहाँ आऊ। अमानाको चुचुरोबाट ओह्रालो झरेर आऊ, सेनीरको टुप्‍पा, हेर्मोनको टाकुराबाट आऊ, सिंहहरूका ओड़ार र चितुवाहरूका पहाड़ी अखड़ाबाट।

9तिमीले मेरो हृदय चोरेकी छ्यौ, मेरी बहिनी, मेरी दुलही तिम्रो एउटै नजरले, तिम्रो हारको एउटा रत्‍नले तिमीले मेरो हृदय चोरेकी छ्यौ।

10तिम्रो प्रेम कति आनन्‍ददायी छ, मेरी बहिनी, मेरी दुलही। कुनै दाखमद्यभन्‍दा पनि तिम्रो प्रेम साह्रै असल, र तिम्रो अत्तरको बास्‍ना कुनै पनि मसलाको भन्‍दा अति सुगन्‍धित छ!

11तिम्रा ओठले महका चाकाबाट जस्‍तै मिठास चुहाउँछ, हे मेरी दुलही। दूध र मह तिम्रो जिब्रोमुनि छन्‌। तिम्रा लुगाको बास्‍ना लेबनानको जस्‍तै छ।

12मेरी बहिनी, मेरी दुलही, तिमी बन्‍द राखिएको बगैँचाजस्‍तो, छोपिएको मुहानजस्‍तो, एउटा छाप लगाएकी फुहाराजस्‍तै छ्यौ।

13तिम्रा बोटहरू अनारको बगैँचाजस्‍तै छन्, उत्तम फलहरूले भरिएको बगैँचा— मेहदी र जटामसी,

14जटामसी र केशर, बोझो र दालचिनी, थरी-थरीका सुगन्‍धित धूपका रूखहरू, मूर्र र एलवा, र सबै किसिमका असल सुगन्‍धित मसलाहरू।

15तिमी त बगैँचाको फुहारा, लेबनानबाट बग्‍दैआएकी पानीको मूल हौ।

16हे उत्तरको बतास, जाग्‌। हे दक्षिणको बतास, आइज! मेरो बगैँचाबाट हुँदै बही, यसको बास्‍ना टाढ़ासम्‍म पुगोस्‌। मेरा प्रेमी आफ्‍नो बगैँचामा आऊन्, र यसका उत्तम फलहरू चाखून्‌।

e>