श्रेष्‍ठगीत 7:1-13 NNRV2012 - Bible AI

1हे राजकुमारकी छोरी, जुत्ता लाएका तिम्रा खुट्टा कति राम्रा छन्‌। एउटा निपुण कारीगरले रचेका जस्‍तै तिम्रा हिसी परेका खुट्टा रत्‍नझैँ छन्‌।

2तिम्रो नाभि गोलो बटुकोजस्‍तै छ, जसमा मिसाएका दाखमद्यको अभाव कहिल्‍यै हुँदैन। तिम्रो पेट लिली फूलहरूले घेरिएको गहूँको राशिजस्‍तै छ।

3तिम्रा स्‍तनहरू दुई पाठाहरूजस्‍तै छन्, हरिणका दुई जुम्‍ल्‍याहा पाठाहरूझैँ।

4तिम्रो घाँटी हस्‍ती-हाड़को धरहराजस्‍तै छ, तिम्रा आँखा बाथ-रब्‍बीमका ढोकाको छेउमा रहेका हेश्‍बोनका पोखरीहरूजस्‍ता छन्‌। तिम्रो नाक दमस्‍कसतिर फर्केको लेबनानको धरहराजस्‍तै छ।

5तिम्रो शिरले कर्मेल डाँड़ाजस्‍तै तिमीलाई मुकुट लगाइदिएको छ। तिम्रो शिरको केश राजकीय पर्दाझैँ छ। केश राशिले राजा मोहित छन्‌।

6तिमी कति सुन्‍दरी र मनोहर छ्यौ, हे प्रिय, तिम्रो आनन्‍दमा!

7तिम्रो शरीरको कद खजूरको रूखजस्‍तै, र तिम्रा स्‍तनहरू फलका झुप्‍पाझैँ छन्‌।

8मैले भनें, “म खजूरको रूखमा चढ्‌नेछु, र यसका फल समात्‍नेछु।” तिम्रा स्‍तनहरू दाखका झुप्‍पाहरूजस्‍तै, तिम्रो सासको बास्‍ना स्‍याउको सुगन्‍धझैँ,

9र तिम्रो मुख उत्तम दाखमद्यजस्‍तै होऊन्‌। ओठ र दाँतबाट भएर बिस्‍तारै बग्‍दै दाखमद्य सीधै मेरा प्रेमीकहाँ पुगोस्‌।

10म मेरा प्रेमीकी हुँ, र उहाँको तृष्‍णा मेरै निम्‍ति छ।

11आउनुहोस्, मेरा प्रेमी, खेतबारी हुँदो डुल्‍न जाऔं, र राती गाउँतिर वास बसौं।

12हामी बिहानै दाखबारीमा जाऔं, दाखमा कोपिला लागेर फक्रेका छन्‌ कि, र दारिमहरूका फूल लागेछन्‌ कि हेरौं— त्‍यहाँ म तपाईंलाई मेरो प्रेम दिनेछु।

13दूधे-फूलहरूले आफ्‍नो बास्‍ना फैलाइरहेका छन्, सबै किसिमका स्‍वादिला फलहरू हाम्रै ढोकामा छन्, नयाँ र पुराना फलहरू, जो मैले तपाईंको निम्‍ति साँचिराखेकी छु, हे मेरा प्रेमी।

e>