1यदि तपाईं मेरी आमाको स्तन चुसेर हुर्केका मेरो निम्ति दाजुजस्तै हुनुभए त, मैले तपाईंलाई बाहिर भेट्टाएमा म तपाईंलाई चुम्बन गर्नेथिएँ, र कसैले मलाई निन्दा गर्नेथिएन।
2म तपाईंलाई लिएर मेरी आमाको घरमा लैजाने थिएँ— तिनले मलाई शिक्षा दिएकी हुन्। म तपाईंलाई मसलायुक्त दाखमद्य, र मेरा दारिमको ताजा रस पिउनलाई दिनेथिएँ।
3उहाँको देब्रे हात मेरो शिरमुनि छ, र उहाँको दाहिने हातले मलाई अँगालो हालेको छ।
4यरूशलेमका छोरीहरू हो, म तिमीहरूलाई आज्ञा गर्छु: आफूले नचाहेसम्म प्रेमलाई नउठाओ वा नजगाओ।
5आफ्ना प्रेमीसित अड़ेस लाग्दै उजाड़-स्थानतिरबाट आउने को छ? स्याउको रूखमुनि मैले तपाईंलाई उत्तेजित पारें, त्यहीँ तपाईंकी आमाले तपाईंलाई गर्भधारण गरिन्, त्यहीँ तपाईंलाई जन्म दिन तिनलाई सुत्केरी बेथा लागेको थियो।
6मलाई तपाईंको हृदयमा एउटा छापजस्तै लगाउनुहोस्, तपाईंको पाखुरामा एउटा छापजस्तै, किनभने प्रेमचाहिँ मृत्युजस्तै प्रबल हुन्छ, यसको तृष्णा चिहानजस्तै हठी। त्यो कुनै पनि ज्वालाभन्दा पनि कड़ा दन्केको आगोझैँ दन्किन्छ।
7थुप्रै पानीका भलले पनि प्रेमलाई मेट्न सक्दैन, खोलाहरूले यसलाई कदापि बगाउन सक्दैनन्। कुनै मानिसले प्रेमको सट्टामा आफ्नो घरको सारा सम्पत्ति नै दिए तापनि त्यो त बिल्कुलै तिरस्कार गरिनेथियो।
8हाम्री एउटी सानी बहिनी छिन्, तिनका स्तन सानै छन्। तिनलाई विवाह गर्न कोही माग्न आए त्यस दिन हामी के गरौं?
9यदि तिनी पर्खाल भए त, हामीले तिनीमाथि चाँदीका धरहरा खड़ा गर्नेथियौं। यदि तिनी ढोका भए त, हामी देवदारुका फल्याकले बारेर बन्द गर्ने थियौं।
10म एक पर्खाल हुँ, र मेरा स्तन धरहराजस्तै छन्। त्यसैले म उहाँको नजरमा सन्तुष्टि दिने भएकी छु।
11बाल-हामोनमा सोलोमनको एउटा दाखबारी थियो, उहाँले आफ्नो बारी अधियाँ लाउनुभयो, र अधियाँ लिएका हरेकले फलफूलको सट्टा एक हजार चाँदीका सिक्का बुझाउनुपर्थ्यो।
12तर मेरो आफ्नै दाखबारी दिने अधिकार त मेरै हो, हे सोलोमन, ती हजार सिक्का तपाईंकै निम्ति हुन्, र दुई सय ती फलफूल हुर्काउनेहरूका निम्ति हुन्।
13आफ्ना मित्रहरूको उपस्थितिमा तिमी बगैँचाहरूमा बस्ने, तिम्रो सोर म सुन्न पाऊँ!
14बाहिर निस्केर आउनुहोस्, हे मेरा प्रेमी, र सुगन्धित मसलाले भरिएका पर्वतहरूमा हुने हरिण अथवा जवान मृगजस्तै हुनुहोस्।