हबकूक 1:1-17 NNRV2012 - Bible AI

1हबकूक अगमवक्ताले दर्शनमा पाएको ईश्‍वरवाणी।

2हे परमप्रभु, कहिलेसम्‍म सहायताको निम्‍ति मैले पुकार गर्ने, तर तपाईं सुन्‍नुहुन्‍न? अथवा “उपद्रव” भनी म तपाईंमा कहिलेसम्‍म पुकारा गर्ने, तर तपाईं बचाउनुहुन्‍न?

3तपाईं मलाई किन अन्‍याय हेर्न लाउनुहुन्‍छ? तपाईं किन अनुचित कुरा सहनुहुन्‍छ? नाश र उपद्रव मेरै सामु भइरहेका छन्‌। झगड़ा र विवाद चारैतिर छन्‌।

4यसैकारण व्‍यवस्‍था मन्‍द हुँदैजाँदैछ, र न्‍याय कहिल्‍यै प्रबल हुँदैन। दुष्‍टहरूले धर्मीहरूलाई घेर्छन्, यसैले न्‍यायको दुरुपयोग हुन्‍छ।

5“जाति-जातिलाई नियालेर हेर्, तिनीहरूलाई हेरेर छक्‍क पर्, किनभने म तेरा दिनमा यस्‍तो काम गर्छु, जो तँलाई भने पनि तैंले विश्‍वास गर्नेछैनस्‌।

6म बेबिलोनीहरूलाई खड़ा गरिरहेछु, त्‍यो निष्‍ठुर र उग्र जाति, जो अर्काको वासस्‍थान खोस्‍न सारा पृथ्‍वीभरि नै बढ़ेर जान्‍छ।

7तिनीहरू डरलाग्‍दा र भयानक मानिसहरू छन्‌। तिनीहरू आफैमा आफ्‍नो व्‍यवस्‍था हुन्‌ र आफ्‍नै मान-मर्यादा बढ़ाउँछन्‌।

8तिनीहरूका घोड़ाहरू चितुवाभन्‍दा चाँड़ो कुद्‌ने र बेलुकी निस्‍कने ब्‍वाँसाहरूभन्‍दा क्रूर छन्‌। तिनीहरूका घोड़चढ़ी सेना अधोमुख कुद्‌छ। तिनीहरूका घोड़चढ़ीहरू टाढ़ादेखि आउँछन्‌। तिनीहरू शिकार निल्‍नलाई वेग हानेर उड्‌ने गिद्धझैँ अगि बढ्‌छन्‌।

9तिनीहरू सबै उपद्रव गर्नलाई नै आउँछन्‌। तिनीहरूको सैन्‍य दल मरुभूमिको हुरीझैँ अगि बढ्‌छ र कैदीहरूलाई बालुवाजस्‍तै जम्‍मा गर्छ।

10तिनीहरूले राजाहरूलाई हँस्‍सीमा उड़ाउँछन्‌ र शासकहरूको ठट्टा गर्छन्‌। किल्‍ला भएका सबै सहरलाई देखेर तिनीहरू हाँस्‍छन्, र माटोको ढिस्‍कुरो बनाएर तिनीहरूले ती कब्‍जा गर्छन्‌।

11तब तिनीहरू बतासझैँ वेगसित आउँछन्‌ र जान्‍छन्‌। ती दोषी मानिसहरू हुन्, जसको सामर्थ्‍य नै तिनीहरूको देवता हो।”

12हे परमप्रभु, के तपाईं सनातनदेखि नै हुनुहुन्‍न र? हे मेरा परमेश्‍वर, मेरा परमपवित्र, हामी मर्नेछैनौं। हे परमप्रभु, तपाईंले तिनीहरूलाई न्‍यायको निम्‍ति नियुक्त गर्नुभएको छ। हे चट्टान, सजाय दिनलाई तपाईंले तिनीहरूलाई अभिषेक गर्नुभएको छ।

13तपाईंको दृष्‍टि यति शुद्ध छ, कि तपाईं दुष्‍ट कुरा हेर्न सक्‍नुहुन्‍न, खराबी देखेर तपाईं सहन सक्‍नुहुन्‍न। त्‍यसो भए छल गर्ने मानिसहरूलाई किन तपाईं सहनुहुन्‍छ? आफूभन्‍दा धर्मी मानिसहरूलाई दुष्‍टहरूले निल्‍दा तपाईं किन चूप लाग्‍नुहुन्‍छ?

14तपाईंले मानिसहरूलाई समुद्रका माछा र शासकविनाका घस्रने जन्‍तुहरूतुल्‍य बनाउनुभएको छ।

15दुष्‍ट शत्रुले ती सबैलाई बल्‍छीले उठाइलान्‍छ, र तिनलाई जालमा पक्रन्‍छ। त्‍यसले तिनीहरूलाई महाजालमा थुपार्छ। यसकारण त्‍यो रमाउँछ र खुशी हुन्‍छ।

16यसैकारण त्‍यसले आफ्‍नो जाललाई बलि चढ़ाउँछ, र महाजालको लागि धूप बाल्‍छ, किनकि तीद्वारै त्‍यो सुख-चैनमा बस्‍छ र उत्तम भोजनको मजा लिन्‍छ।

17के त्‍यसले आफ्‍नो जाल रित्त्याउँदैजाने, र जाति-जातिहरूलाई निर्दयतापूर्वक सर्वनाश गरिरहने?

Scripture Text © Nepal Bible Society 1997, 2006, 2009, 2012
v>