हितोपदेश 1:1-33 NNRV2012 - Bible AI

1दाऊदका छोरा इस्राएलका राजा सोलोमनका हितोपदेश:

2जसद्वारा मानिसहरूले बुद्धि र अनुशासन प्राप्‍त गर्नेछन्, अन्‍तर्दृष्‍टिका कुराहरू बुझ्‍नेछन्,

3एक अनुशासित र विवेकी जीवन जिउनेछन्,

4सोझाहरू विवेकशील बन्‍नेछन्, जवानहरूले ज्ञान र बुद्धि प्राप्‍त गर्नेछन्‌।

5बुद्धिमान्‌ले सुनून्‌ र तिनीहरूको ज्ञान बढ़ोस्, र विवेकशील व्‍यक्तिलाई अगुवाइ मिलोस्,

6जसद्वारा हितोपदेश र दृष्‍टान्‍तहरू, बुद्धिमान्‌को आहान र रहस्‍यका कुराहरू तिनीहरूले बुझून्‌।

7परमप्रभुको भय नै ज्ञानको सुरु हो, तर मूर्खले [1] बुद्धि र अनुशासनलाई तुच्‍छ ठान्‍दछ।

8हे मेरो छोरा, आफ्‍नो बुबाको आदेश सुन्‌ र आफ्‍नी आमाको शिक्षा नत्‍याग्‌।

9ती तेरो शिरमा शोभाको मुकुट, र तेरो गलामा सम्‍मानको हार हुनेछ।

10हे मेरो छोरा, यदि पापीहरूले तँलाई बहकाउन खोजे भने, तिनीहरूको बहकाउमा नलाग्‌।

11तिनीहरू भन्‍लान्, “आऊ हामीसँग, कसैको रक्तपात गर्न ढुकिबसौं, कुनै निर्दोषलाई लुट्‌न ढुकिबसौं,

12चिहानले [2] निलेझैँ, र गहिरो भड्‌खालोमा परी त्‍यसको पीँधमा पुग्‍नेहरूलाई झैँ, हामी तिनीहरूलाई पूरै जिउँदै निलौं।

13हामी सबै किसिमका बहुमूल्‍य थोकहरू लिनेछौं, र लूटका मालसामानले हाम्रा घर भर्नेछौं,

14तिमी हामीसँगै साझेदार होऊ, र हामी लूटको थैलोबाट बाँड्‌नेछौं।”

15हे मेरो छोरा, तिनीहरूसँग नजा, तिनीहरूको मार्गमा पाइलै नराख्,

16किनकि तिनीहरूका पाइला पाप गर्न हतारिन्‍छन्, तिनीहरू रक्तपात गर्न आतुरी गर्छन्‌।

17सबै पक्षीहरूका नजरको सामु जाल फैलाउनु कति व्‍यर्थ!

18यी मानिसहरू आफ्‍नै रगतको लागि ढुकिरहन्‍छन्, तिनीहरू आफै जाकिन ढुकिरहन्‍छन्‌!

19बेईमानीसित कमाउनपट्टि लाग्‍नेहरू सबैको अन्‍त्‍य यस किसिमले हुन्‍छ, यसरी धन आर्जन गर्नेको जीवन त्‍यसैले छिनेर लैजान्‍छ।

20बुद्धि सड़कहरूमा चर्को सोरले कराउँछ, त्‍यसले आफ्‍नो आवाज बजारहरूमा उचाल्‍छ,

21होहल्‍लाले भरिएका गल्‍लीहरूका पर्खालमाथिबाट त्‍यो चिच्‍च्‍याउँछ, सहरका मूल ढोकाहरूमा यसरी त्‍यसले भाषण गर्छ:

22“हे निर्बुद्धि [3] हो, कहिलेसम्‍म तिमीहरू आफ्‍नो बुद्धिहीन मार्गलाई प्रेम गरिरहनेछौ? कहिलेसम्‍म खिल्‍ली उड़ाउनेहरू खिल्‍ली उड़ाइरहनमा मग्‍न भइरहने र मूर्खहरूले ज्ञानलाई घृणा गर्दैरहने?

23यदि मेरो हप्‍की तिमीहरूले ग्रहण गरेका भए, म आफ्‍नो हृदयका कुराहरू तिमीहरूसँग पोख्‍नेथिएँ, र मेरा विचारहरू तिमीहरूलाई थाहा गराउनेथिएँ।

24तर मैले बोलाउँदा तिमीहरूले इन्‍कार गरेका हुनाले र मैले आफ्‍नो हात फैलाउँदा कसैले ध्‍यान नदिएको हुनाले,

25मेरा सबै अर्तीलाई तिमीहरूले बेवास्‍ता गरेका हुनाले र मेरो हप्‍की ग्रहण नगरेका हुनाले,

26तिमीहरूलाई आपत्ति आइपर्दा म हाँस्‍नेछु, विपत्तिले तिमीहरूलाई छोप्‍दा म खिल्‍ली उड़ाउनेछु—

27जब आँधीबेहरीझैँ तिमीहरूलाई विपत्तिले ढाक्‍छ, जब भुमरीझैँ आपत्ति तिमीहरूमाथि मड़ारिएर आउँछ, जब सङ्कष्‍ट र दु:खले तिमीहरूलाई डुबाउँछन्‌।

28“तब तिनीहरू मलाई पुकार्नेछन्, तर म जवाफ दिनेछैन, तिनीहरूले मेरो खोजी गर्नेछन्, तर मलाई भेट्टाउनेछैनन्‌।

29तिनीहरूले ज्ञानलाई घृणा गरेका हुनाले, र परमप्रभुको भय मान्‍न नचाहेका हुनाले,

30तिनीहरूले मेरो अर्ती ग्रहण नगरेका हुनाले, र मेरो हप्‍की तिरस्‍कार गरेका हुनाले,

31तिनीहरूले आफ्‍नो चालचलनको फल भोग्‍नेछन्, र आफ्‍ना कपट योजनाको फलले आफै लादिनेछन्‌।

32आफ्‍नै मनमानीपनले गर्दा निर्बुद्धिहरू मर्नेछन्, र मूर्खहरूको आफ्‍नै निश्‍चिन्‍तताले तिनीहरूमाथि नाश आइपर्नेछ।

33तर मैले भनेको कुरा जस-जसले सुन्‍छन्‌ तिनीहरू सुरक्षामा जिउनेछन्, र हानि-नोक्‍सानीको डरैविना ढुक्‍क रहनेछन्‌।”

Scripture Text © Nepal Bible Society 1997, 2006, 2009, 2012
/div>