हितोपदेश 10:1-32 NNRV2012 - Bible AI

1बुद्धिमान्‌ छोराले आफ्‍ना बुबालाई खुशी तुल्‍याउँछ, तर मूर्ख छोराले आफ्‍नी आमालाई पिरोल्‍छ।

2अन्‍यायसँग कमाएको धनको केही मूल्‍य हुँदैन, तर धार्मिकताले मृत्‍युबाट छुटाउँछ।

3परमप्रभुले धर्मीहरूलाई भोकै रहन दिनुहुन्‍न, तर उहाँले दुष्‍टको लालसालाई विफल पार्नुहुन्‍छ।

4अल्‍छे हातहरूले मानिसलाई कङ्गाल तुल्‍याउँछन्, तर लगनशील हातहरूले सम्‍पत्ति आर्जन गर्छन्‌।

5ग्रीष्‍म ऋतुमा अन्‍न जोहो गर्ने छोरा बुद्धिमान्‌ हो, तर जो फसलको बेला सुत्‍छ त्‍यो बेइज्‍जत ल्‍याउने छोरो हो।

6धर्मात्‍माको शिरमाथि आशिष्‌को मुकुट रहन्‍छ, तर दुष्‍टको मुखमा हिंसा छिपेको हुन्‍छ।

7धर्मीको सम्‍झना गर्नु आशिष्‌मय हुनेछ, तर दुष्‍टको नाउँचाहिँ सड़ेर जानेछ।

8हृदयमा बुद्धिमान्‌ हुनेले आज्ञाहरू स्‍वीकार गर्छ, तर बकबके मूर्ख सर्वनाशमा पुग्‍छ।

9ईमानदार मानिस निर्धक्‍क हिँड्‌छ। तर टेढ़ो चाल चल्‍ने पक्राउ पर्नेछ।

10द्वेषपूर्ण आँखा झिम्‍क्‍याउनेले शोक ल्‍याउँछ, अनि बकबके मूर्ख सर्वनाशमा पुग्‍छ।

11धर्मात्‍माको मुख जीवनको फुहारा हो, तर दुष्‍टको मुखमा हिंसा लुकेको हुन्‍छ।

12घृणाले कलह उत्‍पन्‍न गराउँछ, तर प्रेमले सबै कुकर्महरू ढाकिदिन्‍छ

13विवेकशील मानिसहरूका ओठमा बुद्धिको कुरा पाइन्‍छ, तर लट्ठीचाहिँ समझ नभएको मानिसको लागि हो।

14बुद्धिमान्‌ मानिसले ज्ञान सञ्‍चय गर्छ, तर मूर्खको मुखले सर्वनाश निम्‍त्‍याउँछ।

15धनीको धन नै तिनीहरूका निम्‍ति बलियो सहर हो, तर दरिद्रताले असहायहरूको पतन हुन्‍छ।

16धर्मीको ज्‍यालाले तिनीहरूमा जीवन ल्‍याउँछ, तर दुष्‍टको आम्‍दानीले दण्‍ड ल्‍याउँछ।

17जसले अनुशासन पालन गर्छ, त्‍यसले जीवनको बाटो देखाउँछ, तर सुधारको बेवास्‍ता गर्नेले अरूलाई पनि बहकाउँछ।

18जसले आफूमा घृणा लुकाएर राख्‍छ, त्‍यसको जिब्रो छली हुन्‍छ, र जसले अपवाद फैलाउँछ, त्‍यो मूर्ख हो।

19जब कुरा बढ्‌ता गरिन्‍छ, पापको अभाव हुँदैन, तर जसले आफ्‍नो जिब्रोलाई वशमा राख्‍छ, त्‍यो बुद्धिमान्‌ हो।

20धर्मात्‍माको जिब्रो निखुर चाँदी हो, तर दुष्‍टको हृदय भने बेकामको हुन्‍छ।

21धर्मीका ओठले धेरैलाई तृप्‍त गराउँछन्, तर बुद्धिको अभावले नै मूर्खहरू मर्छन्‌।

22परमप्रभुको आशिष्‌ले धन-सम्‍पत्ति ल्‍याउँछ, अनि उहाँले त्‍यसमाथि दु:ख थप्‍नुहुन्‍न।

23मूर्ख खराब चालचलनमा रमाउँछ, तर समझशक्ति भएको मानिस बुद्धिमा प्रसन्‍न हुन्‍छ।

24आतङ्कित बनेको कुरा नै दुष्‍टमाथि आइपर्नेछ। धर्मीले इच्‍छा गरेको कुरा मन्‍जूर गरिनेछ।

25जब आँधीबेहरी मड़ारिएर आउँछ, दुष्‍टहरू रहँदैनन्, तर धर्मात्‍माचाहिँ अनन्‍तसम्‍मै स्‍थिर रहन्‍छन्‌।

26सिर्काले दाँत कुँड़िए र धूवाँले आँखा पिरिएझैँ, अल्‍छी गर्ने मानिस आफूलाई पठाउनेको निम्‍ति त्‍यस्‍तै हुनेछ।

27परमप्रभुको डरले जीवनको आयु थपिन्‍छ, तर दुष्‍टको आयु घटाइन्‍छ।

28धर्मीको आशाले हर्षित तुल्‍याउँछ, तर दुष्‍टका आशाहरू फासफुस हुन्‍छन्।

29परमप्रभुको मार्ग धर्मीहरूका निम्‍ति एक शरणस्‍थान हो, तर दुष्‍ट काम गर्नेहरूका निम्‍ति विध्‍वंस हो।

30धर्मात्‍मा कहिल्‍यै उखेलिनेछैन, तर दुष्‍ट मानिस पृथ्‍वीमा रहनेछैन।

31धर्मीको मुखबाट बुद्धिको कुरा निस्‍किन्‍छ, तर भड्‌काउने जिब्रो काटिनेछ।

32धर्मात्‍माका ओठले ग्रहणयोग्‍य कुरा जान्‍दछन्, तर दुष्‍टको मुखले बाङ्गोटिङ्गो कुरा मात्रै गर्दछ।