1बुद्धिमान् स्त्रीले आफ्नो घर निर्माण गर्छे, तर निर्बुद्धि स्त्रीले आफ्नै हातले आफ्नो घर भत्काउँछे।
2ईमानसँग हिँड्नेले परमप्रभुको भय मान्छ, तर कुटिल मार्गमा हिँड्नेले उहाँलाई तुच्छ ठान्छ।
3मूर्खको बोलीले आफ्नै पीठमाथि लाठो ल्याउँछ, तर बुद्धिमान्का ओठले त्यसको सुरक्षा गर्छन्।
4जहाँ गोरुहरू छैनन्, त्यहाँ भकारी खाली रहन्छ, तर गोरुको बलले प्रशस्त फसल कटनी हुन्छ।
5साँचो साक्षीले छल गर्दैन, तर झूटो साक्षीले झूटा कुराहरूको ओइरो लाउँछ।
6खिल्ली उड़ाउने व्यक्तिले बुद्धिको खोजी गर्छ तर पाउँदैन, तर विवेकशील व्यक्तिलाई ज्ञान सजिलैसित आउँछ।
7मूर्ख मानिसदेखि टाढ़ै बस्, किनभने त्यसका ओठमा ज्ञानको कुरो पाइँदैन।
8समझदार मानिसको बुद्धिले त्यसलाई सही बाटो दिन्छ, तर मूर्खहरूको मूर्खताचाहिँ धोका हो।
9पापको क्षतिपूर्ति गर्ने कुरामा मूर्खले खिल्ली उड़ाउँछ, तर ईमानसँग चल्नेहरूका माझमा सद्भाव पाइन्छ।
10मनको तीतोपन मनले नै जान्दछ, र त्यसको आनन्द अरू कसैले भोग गर्न सक्दैन।
11दुष्टको घर भत्काइनेछ, तर ईमानदारको पालमा फलिफाप हुनेछ।
12कुनै बाटो मानिसको नजरमा ठीक देखिएला, ⓒ तर अन्त्यमा त्यसले मृत्युमा पुर्याउँछ।
13मुखमा हाँसो भए पनि हृदयमा वेदना हुन सक्छ, र हर्षको अन्तचाहिँ शोकमा हुन सक्छ।
14बेईमानहरूले आफ्नो चालको फल पूरै भोग्नुपर्छ, र भला मानिसलाई आफ्नो कामको प्रतिफल दिइनेछ।
15बेवकूफ मानिसले जुनसुकै कुरा पत्याउँछ, तर समझदार मानिसले आफ्ना पाइलाहरू सतर्कसाथ चाल्छ।
16बुद्धिमान् मानिसले परमप्रभुको भय राख्छ र खराबीदेखि टाढ़ै रहन्छ, तर मूर्खचाहिँ गरम मिजासको र असावधानी हुन्छ।
17रिसाहा मानिसले मूर्ख कामहरू गर्छ, र धूर्त मानिस घृणित हुन्छ।
18अज्ञानीले मूर्खता कमाउँछ, तर समझदारहरूले ज्ञानको मुकुट लगाउँछन्।
19खराब मानिसहरू असल मानिसहरूका सामु र दुष्टहरू धर्मीहरूको ढोका अघि झुक्नुपर्छ।
20आफ्नै छिमेकीहरूबाट समेत गरीबहरू त्यागिन्छन्, तर धनीका त धेरै मित्रहरू हुन्छन्।
21आफ्नो छिमेकीलाई हेला गर्नेले पाप गर्छ, तर त्यो मानिस धन्य हो, जसले दरिद्रलाई दया गर्छ।
22के खराब योजना रच्नेहरू बरालिँदैनन् र? तर असल योजना बनाउनेहरूले प्रेम र ईमानदारी प्राप्त गर्छन्।
23सबै कठोर परिश्रमले लाभ हुन्छ, तर कुरै मात्र गर्नेचाहिँ दरिद्रतामा पुग्छ।
24बुद्धिमान्को सम्पत्ति तिनीहरूको मुकुट हो, तर मूर्खहरूको मूर्खताले मूर्खता नै उत्पन्न गराउँछ।
25साँचो साक्षीले जीवन बचाउँछ, तर झूटो साक्षी छली हुन्छ।
26जसले परमप्रभुको भय मान्छ, त्यसको सुरक्षित किल्ला हुन्छ, र त्यसका छोराछोरीका निम्ति यो एक शरणस्थान हुनेछ।
27परमप्रभुको भय जीवनको मूल हो, जसद्वारा मानिस मृत्युको पासोहरूबाट उम्कन्छ।
28प्रजाको ठूलो सङ्ख्याले राजा गौरवान्वित हुन्छ, तर प्रजाविनाको शासक नष्ट हुन्छ।
29धैर्यवान् मानिसको समझशक्ति अपार हुन्छ, तर गरम मिजासको मानिसले आफ्नो मूर्खता प्रदर्शन गर्छ।
30शान्त हृदयले शरीरलाई जीवन दिन्छ, तर डाहले हड्डी मकाउँछ।
31गरीबलाई थिचोमिचो गर्नेले तिनीहरूका सृष्टिकर्ताप्रति अवहेलना देखाउँछ, तर दरिद्रलाई दया देखाउनेले परमेश्वरको आदर गरेको हुन्छ।
32आपत्ति आइपर्दा दुष्टहरूको पतन हुन्छ, तर धर्मीले चाहिँ मृत्युमा समेत आश्रय पाउँछ।
33विवेकीको हृदयमा बुद्धिले वास गर्छ, मूर्खहरूका माझमा समेत बुद्धिले आफूलाई प्रकट गराउँछ।
34धार्मिकताले देशलाई उचाल्छ, तर पाप गर्नुचाहिँ कुनै पनि जातिको लागि बेइज्जती हो।
35राजा बुद्धिमान् दाससँग प्रसन्न रहन्छ, तर लाजमर्दो दासले तिनको क्रोध बेहोर्नुपर्छ।