हितोपदेश 17:1-28 NNRV2012 - Bible AI

1शान्‍ति र मौनसाथ निस्‍तो गाँस खानु कलहले भरिएको घरमा भोज गर्नुभन्‍दा बेस हो।

2बुद्धिमान्‌ नोकरले अयोग्‍य छोरामाथि हुकुम चलाउनेछ, र दाजुभाइहरूसरह पैतृक-सम्‍पत्तिको अंश पाउनेछ।

3चाँदी पगाल्‍ने भाँड़ो र सुन खार्ने आरन हुन्‍छ, तर हृदय जाँच गर्नेचाहिँ परमप्रभु नै हुनुहुन्‍छ।

4दुष्‍ट मानिस खराबी कुरा सुन्‍छ, फटाहाले डाही जिब्रोको कुरातिर ध्‍यान दिन्‍छ।

5गरीबको ठट्टा उड़ाउनेले तिनीहरूलाई बनाउनुहुनेलाई खिसी गर्छ, अर्काको विपत्तिमा रमाउने जोसुकै पनि दण्‍डबाट उम्‍कनेछैन।

6नाति-नातिनाहरू वृद्धहरूका मुकुट हुन्, र आमा-बुबाहरू आफ्‍ना छोराछोरीहरूका गर्व हुन्‌।

7अभिमानी कुरा मूर्खको मुखमा नसुहाउँदो हुन्‍छ भने, शासकको मुखमा झूटो कुरा झन्‌ कत्ति असुहाउँदो हुन्‍छ!

8जसले घूस दिन्‍छ त्‍यसको लागि त्‍यो टुनाजस्‍तै हो, जहाँ गए पनि त्‍यो सफल हुन्‍छ।

9चित्त दुखाइलाई ढाकछोप गर्नेले प्रेम बढ़ाउँछ, तर कुरा दोहोर्‍याउने जोसुकैले पनि घनिष्‍ठ मित्रहरूमा फाटो ल्‍याउँछ।

10मूर्खलाई सय कोर्रा लगाएकोभन्‍दा त विवेकी मानिसलाई एकै हप्‍कीले बढ़ी प्रभाव पार्छ।

11खराब मानिसको झुकाव विद्रोहतिर मात्रै हुन्‍छ, त्‍यसको विरुद्ध एक निष्‍ठुर अधिकृत पठाइनेछ।

12मूर्खलाई त्‍यसको मूर्खतामा भेट्‌नुभन्‍दा त बरु बच्‍चा खोसिएको भालू भेट्‌नु बेस।

13यदि मानिसले भलाइको साटो खराबी गर्छ भने, खराबीले त्‍यसको घर कहिल्‍यै छोड्‌नेछैन।

14कलह सुरु हुनु बाँध भत्‍किनुजस्‍तो हो, त्‍यसैले वाद-विवाद चर्किनुभन्‍दा अघि नै त्‍यसलाई बन्‍द गर।

15दोषीलाई निर्दोष ठहराउने र निर्दोषलाई दोषी ठहराउने— ती दुवैलाई परमप्रभु घृणा गर्नुहुन्‍छ।

16मूर्खको हातमा पैसा के कामको होला र, किनकि बुद्धि प्राप्‍त गर्ने त्‍यसमा इच्‍छा नै हुँदैन?

17एक मित्रले सधैँ प्रेम गर्छ, दाजुभाइचाहिँ दु:खको बेलाको लागि जन्‍मेको हुन्‍छ।

18समझ नभएको मानिस वाचाबन्‍धन गर्छ, र आफ्‍नो छिमेकीको जमानी बस्‍छ।

19कलह रुचाउनेले पाप रुचाउँछ। अग्‍लो द्वार बनाउनेले सत्‍यनाश निम्‍त्‍याउँछ।

20कुटिल हृदय भएको मानिसलाई पुगीसरी आउँदैन। जसको जिब्रो छली छ, त्‍यो सङ्कष्‍टमा जाकिन्‍छ।

21छोरा मूर्ख भइदिनाले अफसोस ल्‍याउँछ, मूर्खको बुबालाई सुख भने हुँदैन।

22प्रसन्‍न हृदय असल औषधी हो, तर पेलिएको आत्‍माले हड्डीहरू सुकाउँछ।

23दुष्‍ट मानिसले न्‍याय बिगार्न गुप्‍तमा घूस स्‍वीकार गर्छ।

24विवेकी मानिसले आफ्‍नो दृष्‍टिमा बुद्धि राख्‍छ, तर मूर्खको आँखा पृथ्‍वीको अन्‍त्‍यसम्‍म यताउता डुलिरहन्‍छ।

25मूर्ख छोराले आफ्‍ना बुबामाथि अफसोस, र त्‍यसलाई जन्‍माउनेमाथि तीतोपन ल्‍याउँछ।

26निर्दोष मानिसलाई दण्‍ड दिनु असल होइन, वा आफ्‍नो ईमानदारीको खातिर कर्मचारीहरूलाई कोर्रा लगाउनु ठीक होइन।

27ज्ञानी मानिसले संयमसित शब्‍दहरू प्रयोग गर्छ, र समझशक्ति भएको मानिस ठन्‍डा मिजासको हुन्‍छ।

28चूप लागिबस्‍ने मूर्ख पनि बुद्धिमान्‌ ठानिन्‍छ, र आफ्‍नो जिब्रोलाई लगाम लगायो भने त्‍यो विवेकी मानिन्‍छ।