1राजाको हृदय परमप्रभुको हातमा हुन्छ, खोलाको पानीझैँ जता मन लाग्यो उतै उहाँले फर्काउनुहुन्छ।
2मानिसको हरेक बाटो आफूलाई ठीकै लाग्ला, तर हृदय जाँच्नुहुने परमप्रभु नै हुनुहुन्छ।
3जे ठीक र न्यायसङ्गत छ त्यही गर्नु परमप्रभुलाई बलिदान चढ़ाउनुभन्दा बढ़ी ग्रहणयोग्य हुन्छ।
4घमण्डी आँखा र अहङ्कारी हृदय, दुष्टका दियो यिनै हुन् जो पाप हो!
5लगनशीलको योजनाहरूले लाभ गराउनेतर्फ उन्मुख गराउँछ, त्यसरी नै हतार गर्नाले दरिद्रतामा पुगिन्छ।
6झूटो जिब्रोले आफ्नो भाग्य सुधार्नचाहिँ उड़िजाने कुइरो र घातक पासो हो।
7दुष्टको उपद्रवले नै तिनीहरूलाई घिच्च्याएर लैजान्छ, किनभने जे ठीक हो सो गर्न तिनीहरूले अस्वीकार गर्छन्।
8दोषीको बाटो कुटिल हुन्छ, तर निर्दोषको चालचलन ईमानदार हुन्छ।
9कचकचे पत्नीसँग एउटै घरमा बस्नुभन्दा त कौसीको एक कुनामा बस्नु बेस।
10दुष्ट मानिसले खराबीको लालसा गर्छ, त्यसको छिमेकीले त्यसबाट दया पाउँदैन।
11जब खिल्ली उड़ाउनेलाई दण्ड दिइन्छ, निर्बुद्धिले बुद्धि प्राप्त गर्छ, बुद्धिमान्लाई जब शिक्षा दिइन्छ, त्यसले ज्ञान पाउँछ।
12परमधार्मिकले दुष्टको घरलाई याद गरिरहनुहुन्छ, र उहाँले दुष्टहरूमाथि सर्वनाश ल्याउनुहुन्छ।
13गरीबले पुकारा गर्दा यदि मानिसले आफ्नो कान बन्द गर्छ भने, त्यसले पनि पुकारा गर्नेछ तर जवाफ भने पाउनेछैन।
14गुप्तमा दिइएको उपहारले रीस मारिदिन्छ, र खास्टोभित्र लुकाएर दिएको घूसले ठूलो क्रोध शान्त गराउँछ।
15जब न्याय हुन्छ, धर्मीहरू हर्षित हुन्छन्, तर कुकर्मीहरू भने त्रासित हुन्छन्।
16समझदारीको मार्गबाट तर्किने मानिस मृतकहरूको सङ्गतमा लेट्न पुग्छ।
17सुख-विलासको प्रेम गर्ने दरिद्र हुनेछ, दाखमद्य र तेललाई प्रेम गर्ने कहिल्यै धनी हुनेछैन।
18धर्मीका छुटकाराको साधन दुष्टहरू हुनेछन्, र बेईमानहरूचाहिँ ईमानदारीसँग चल्नेको साधन हुनेछन्।
19झगड़ालु र रिसाहा पत्नीसँग बस्नुभन्दा बरु मरुभूमिमा बस्नु बेस।
20बुद्धिमान् मानिसको घरमा उत्तम भोजन र तेल मौजूद हुन्छ, तर मूर्ख मानिसले आफूसँग भएको सबै उड़ाउँछ।
21धार्मिकता र प्रेमको पछि लाग्नेले जीवन, समुन्नति र आदर पाउँछ।
22बुद्धिमान् मानिसले बलिष्ठको सहरमाथि आक्रमण गर्छ, र तिनीहरूले भरोसा गरेको बलियो गढ़ खँगार पारिदिन्छ।
23आफ्नो मुख र जिब्रो सम्हाल्नेले आफूलाई आपद्-विपद्बाट जोगाउँछ।
24अहङ्कारी र शेखीबाज मानिसको नाउँ “खिल्ली उड़ाउने” हो, त्यसले अभिमानीसाथ व्यवहार गर्दछ।
25अल्छेको लालसाले नै त्यसलाई मार्नेछ, किनभने त्यसका हातहरू काम गर्न अस्वीकार गर्छन्।
26दिनभरि नै त्यसले झन् बढ्ता लालसा गरिरहन्छ, तर धर्मीले मुट्ठी खोलेर दिन्छ।
27दुष्टको बलिदान घिनलाग्दो हुन्छ— खराब अभिप्रायले चढ़ाएको झन् कत्ति बढ़ी घृणित होला!
28झूटो साक्षी नष्ट हुनेछ, त्यसको कुरा सुन्ने जोसुकै सधैँको निम्ति नष्ट हुनेछ
29दुष्ट मानिस साहसीजस्तै हिँड्छ, तर ईमानदारीसँग चल्ने मानिसले आफ्ना चालहरू विचार गर्छ।
30कुनै पनि यस्तो बुद्धि, अन्तर्दृष्टि वा योजना छैन, जो परमप्रभुको विरुद्ध सफल हुन सक्छ।
31युद्धका दिनको लागि घोडा तयार पारिन्छ, तर विजयचाहिँ परमप्रभुकै हातमा हुन्छ।