हितोपदेश 25:1-28 NNRV2012 - Bible AI

1सोलोमनका यी हितोपदेश यहूदाका राजा हिजकियाका मानिसहरूले उतारेका हुन्‌:

2कुनै कुरा गोप्‍य राख्‍नुमा परमेश्‍वरको महिमा हुन्‍छ, कुनै कुराको खोजी निकाल्‍नुमा राजाहरूको महिमा हुन्‍छ।

3जसरी स्‍वर्गहरू उच्‍च छन्‌ र पृथ्‍वी गहिरो छ, त्‍यसरी नै राजाहरूका हृदयको खानतलासी गर्न नसकिने हुन्‍छ।

4चाँदीको कसर निकालिदे, अनि मात्र कलाकारको निम्‍ति काम लाग्‍ने वस्‍तु निस्‍कन्‍छ।

5राजाको उपस्‍थितिबाट दुष्‍टहरू निकालिदे, अनि मात्र तिनको सिंहासन धार्मिकताले स्‍थापित हुनेछ।

6राजाको उपस्‍थितिमा आफैलाई नउचाल्, र महापुरुषहरूका माझमा बस्‍ने हक नखोज्‌।

7ठूलाबड़ाका अगि तँलाई तिनले होच्‍याउनुभन्‍दा, तिनी आफैले तँलाई यसो भनेको बेस हुनेछ, “यहाँ माथि आऊ।”

8तेरो आँखाले जे देखेको छ, त्‍यो कुरा हत्तपत्त अदालतमा नलैजा, किनभने अन्‍त्‍यमा तैंले के गर्नेछस्, यदि तेरो छिमेकीले तँलाई लाजमा पार्‍यो भने?

9छिमेकीसँग आफ्‍नो मुद्दा-मामिला तैंले बहस गर्दा, अर्का मानिसको आस्‍थामा विश्‍वासघात नगर्,

10नत्रता त्‍यो सुन्‍नेले तँलाई लाजमा पार्ला, र तेरो खराब नाम कहिल्‍यै मेटिनेछैन।

11ठीकसित बोलिएको वचन चाँदीमा जड़ान गरिएको सुनका स्‍याउहरूजस्‍तै हुन्‍छन्‌।

12सुनको कुण्‍डल वा निखुर सुनको गहनाझैँ बुद्धिमान्‌ मानिसको हप्‍की सुन्‍ने कानको लागि हुन्‍छ।

13कटनीको बेला हिउँको शीतलताझैँ विश्‍वास योग्य‍ दूत त्‍यसलाई पठाउनेहरूका निम्‍ति हुन्‍छ। आफ्‍ना मालिकको आत्‍मालाई त्‍यसले ताजा गराउँछ।

14झरीविनाको बादल र बतासझैँ आफूले नदिएको दानमा धाक लाउने मानिस हुन्‍छ।

15धैर्य गर्नाले शासकलाई मनाउन सकिन्‍छ, र विनीत जिब्रोले हड्डी गलाउन सक्‍छ।

16मह भेट्टाइस्‌ भने चाहिँदो मात्र खा, यो धेरै खाइस्‌ भने तैंले बान्‍ता गर्नेछस्‌।

17आफ्‍नो छिमेकीको घरमा कहिलेकहीँ मात्र जाने गर्, धेरै जाने गरिस्‌ भने त्‍यसले तँलाई घृणा गर्नेछ।

18लाठो वा तरवार वा तीखो काँड़झैँ आफ्‍नो छिमेकीको विरुद्ध झूटो गवाही दिने मानिस हो।

19दु:खेको दाँत अथवा लङ्गड़ो खुट्टा भएझैँ सङ्कष्‍टको बेला अविश्‍वसयोग्य व्‍यक्तिमा भर पर्नु हो।

20जाडो दिनमा ओढ्‌ने खोसेर लगेझैँ वा सोडामा सिर्का खन्‍याएझैँ, दु:खित हृदय भएकोलाई गीत गाइदिने मानिस हुन्छ।

21यदि तेरो शत्रु भोकाएको छ भने, त्‍यसलाई खान भोजन दे, यदि त्‍यो तिर्खाएको छ भने, त्‍यसलाई पिउन पानी दे।

22यसो गर्नाले तैंले त्‍यसको टाउकोमा जलिरहेको भुङ्‌ग्रो खन्‍याउनेछस्, र परमप्रभुले तँलाई इनाम दिनुहुनेछ।

23उत्तरीय बतासले वृष्‍टि ल्‍याएझैँ धूर्त जिब्रोले क्रुद्ध अनुहार ल्‍याउँछ।

24झगड़िया पत्‍नीसँग एउटै घरमा बस्‍नुभन्‍दा त कौसीको एक कुनामा बस्‍नु बेस।

25थकित प्राणको लागि चिसो पानीझैँ टाढ़ा ठाउँबाट आएको शुभ समाचार हो।

26दुष्‍टको कुरामा लाग्‍ने धर्मी मानिस हिले जरुवा-पानी वा दूषित कूवाझैँ हो।

27धेरै मह खानु राम्रो हुँदैन, न त आफ्‍नै मान खोज्‍नु कसैलाई आदरणीय हुन्‍छ।

28पर्खालहरू भत्‍किएको नगरझैँ आत्‍मसंयम नभएको मानिस हो।