हितोपदेश 27:1-27 NNRV2012 - Bible AI

1भोलिको धाक नलगा, किनभने एकै दिनमा के आइपर्ला भन्‍ने तँलाई थाहा हुँदैन।

2तेरै मुखले होइन अरूले तेरो प्रशंसा गरून्, तेरै ओठले होइन कोही अरूबाट होस्‌।

3ढुङ्गा गह्रौँ हुन्‍छ र बालुवा वजनदार, तर मूर्खको उत्तेजना ती दुवैभन्‍दा अझ गह्रौँ हुन्‍छ।

4क्रोध निर्दयी हुन्‍छ, र झोँकचाहिँ अत्‍यधिक, तर डाहको सामु को खड़ा हुनसक्‍छ?

5खुल्‍ला हप्‍की गोप्‍य प्रेमभन्‍दा असल हो।

6मित्रबाट पाएको चोट पत्‍यार गर्न सकिने हुन्‍छ, तर शत्रुका चुम्‍बन भने प्रचुर हुन्‍छन्‌।

7टन्‍न अघाएको व्‍यक्तिलाई मह अमन हुन्‍छ, तर भोकाएकालाई तीतोसमेत मीठो लाग्‍छ।

8आफ्‍नो गुँड़बाट भट्‌किएर निस्‍केको चराझैँ आफ्‍नो घरबाट भट्‌किएर निस्‍केको मानिस हुन्‍छ।

9अत्तर र धूपले मनलाई हर्षित पार्छ, र मित्रबाट पाइने मिठास उनको साँचो सल्‍लाह हो।

10आफ्‍नै मित्र र आफ्‍ना बुबाको मित्रलाई नत्‍याग्, र तँलाई विपत्ति आइपर्दा आफ्‍नो दाजुभाइको घरमा नजा, किनभने नजिकको छिमेकी टाढ़ाको दाजुभाइभन्‍दा बेस हो।

11हे मेरो छोरा, बुद्धिमान्‌ बन्, र मेरो हृदयलाई आनन्‍दित तुल्‍या, तब मलाई हेलचेक्‍्रयाइँको व्‍यवहार गर्ने जोसुकैलाई पनि म जवाफ दिन सक्‍नेछु।

12बुद्धिमान्‌ले खतरा आइरहेको देख्‍छ र कतै शरण लिन्‍छ, तर सोझोचाहिँ त्‍यतैतिर जान्‍छ र दु:ख भोग्‍छ।

13अपरिचितको जमानी बस्‍नेको लुगा पनि खोस्, यदि त्‍यसले स्‍वेच्‍छाचारी स्‍त्रीको खातिर त्‍यसो गरेको भए, त्‍यो धरौटी राख्‌।

14कसैले आफ्‍नो छिमेकीलाई एकाबिहानै चर्को स्‍वरले आशिष्‌ दिन्‍छ भने, त्‍यो ता श्राप पो बन्‍छ।

15झगड़िया पत्‍नी वर्षाको दिनमा एकोहोरो तपतप चुहुने झरीजस्‍तै हो।

16त्‍यसलाई वशमा राख्‍नु बतासलाई वशमा राख्‍नु बराबर हो, अथवा हातले तेल अँठ्याउनुजस्‍तै हो।

17फलामले फलामलाई उध्‍याएजस्‍तै एउटाले अर्को मानिसलाई उध्‍याउँछ।

18अञ्‍जीरको रूख रेखदेख गर्नेले त्‍यसको फल खानेछ, र आफ्‍ना मालिकको हेरचाह गर्ने व्‍यक्ति सम्‍मानित हुनेछ।

19पानीमा अनुहार प्रतिबिम्‍बित भएझैँ मानिसको हृदयमा मानिस प्रतिबिम्‍बित हुन्‍छ।

20मृत्‍यु र विनाश कहिल्‍यै तृप्‍त हुँदैन, न त मानिसका आँखा नै सन्‍तुष्‍ट हुन्‍छन्‌।

21चाँदी पगाल्‍ने भाँड़ो र सुन खार्ने आरन हुन्‍छ, तर आफूले पाउने प्रशंसाबाट मानिस जाँचिएको हुन्‍छ।

22मूर्खलाई खलमा हालेर पिँधे पनि, त्‍यसलाई जाँतोमा अन्‍न राखेर पिँधेझैँ गरे पनि, तैंले त्‍यसको मूर्खता त्‍यसबाट हटाउनेछैनस्‌।

23तेरा भेड़ाहरूको अवस्‍था राम्ररी थाहा गर्, आफ्‍नो बगालप्रति सावधानीपूर्वक ध्‍यान दे,

24किनभने धन-सम्‍पत्ति त सधैँभरि रहँदैन, र मुकुट पनि सबै पुस्‍ताका लागि सुरक्षित रहँदैन।

25जब पराल हटाइन्‍छ र नयाँ पालुवा देखा पर्छ, र डाँड़ा-पाखाहरूबाट घाँस बटुलिन्‍छ,

26तब भेड़ाहरूले तँलाई लुगा जुटाइदिन्‍छन्, र खेत किन्‍ने रकम बाख्राहरूबाट आउँछ।

27बाख्रीको दूध तँ र तेरो परिवारलाई खान चाहेजति पुग्‍नेछ, र तेरा नोकर्नीहरूलाई पोषण हुनेछ।