1कसैले नलखेटे पनि दुष्ट मानिस भाग्छ, तर धर्मीचाहिँ सिंहजस्तै आँटिला हुन्छन्।
2जब देश बागी बन्छ, त्यहाँ धेरै शासकहरू खड़ा हुन्छन्, तर समझशक्ति भएको ज्ञानी मानिसले अमनचैन कायम राख्छ।
3गरीबमाथि थिचोमिचो गर्ने शासक अन्न एउटै नराखी नाश पार्ने मुसलधारे वर्षाजस्तै हो।
4व्यवस्था त्याग्नेहरूले दुष्टहरूको प्रशंसा गर्छन्, तर व्यवस्था पालन गर्नेहरूले तिनीहरूको विरोध गर्छन्।
5दुष्ट मानिसहरू न्यायलाई बुझ्दैनन्, तर परमप्रभुलाई खोज्नेहरूले यसलाई पूर्ण रूपले बुझ्दछन्।
6गरीब भए तापनि कलङ्करहित भई हिँड्नु कुटिल मतिको बाटोमा लागेको धनीभन्दा असल हो।
7व्यवस्था पालन गर्नेचाहिँ विवेकी छोरो हो, तर खन्चुवाको सङ्गत गर्नेले आफ्ना बुबामाथि बेइज्जत ल्याउँछ।
8अति नै ब्याज लगाएर जसले आफ्नो सम्पत्ति बढ़ाउँछ, त्यसले कुम्ल्याएको धन अर्कैको हुनेछ, जसले गरीबमाथि दया राख्नेछ।
9यदि कसैले व्यवस्थाप्रति आफ्नो कान बन्द गर्छ भने, त्यसका प्रार्थनाहरूसमेत घृणित हुन्छन्।
10ईमानसँग चल्नेलाई जसले खराब बाटोतिर लैजान्छ, त्यसको आफ्नै पासोमा त्यो फस्नेछ। तर निर्दोषले पर्याप्त अंश पाउनेछ।
11धनी मानिस आफ्नै नजरमा बुद्धिमान् हुन सक्छ, तर विवेक भएको गरीब मानिसले त्यसलाई छर्लङ्गै देख्छ।
12धर्मीको विजय हुँदा ठूलो खुशीयाली हुन्छ, तर दुष्ट सत्तामा पुग्दा मानिसहरू लुक्न थाल्छन्।
13आफ्ना पापहरू लुकाउनेको उन्नति हुँदैन, तर जसले ती स्वीकार गर्छ र त्याग्छ, त्यसले कृपा पाउँछ।
14परमप्रभुसँग सधैँ डराउने मानिस धन्यको हो, तर आफ्नो हृदय कठोर पार्ने मानिस सङ्कष्टमा पर्छ।
15गर्जने सिंह वा झम्टने भालूजस्तै असहाय मानिसहरूमाथि शासन गर्ने दुष्ट मानिस हो।
16निर्दयी शासकमा बुद्धिको अभाव हुन्छ, तर भ्रष्टाचारको धन घृणा गर्नेले दीर्घायु पाउनेछ।
17हत्याको दोषले व्याकुल भएको मान्छे मृत्युसम्मै फरार रहनेछ। कसैले पनि त्यसको समर्थन नगरोस्।
18जसको हिँड़ाइ निर्दोष छ, त्यो सुरक्षित रहन्छ, तर जसका बाटाहरू कुटिल मतिका छन्, तिनीहरू अचानक पतित हुनेछन्।
19आफ्नो जमिन खनजोत गर्नेको प्रशस्त भोजन हुनेछ, तर कल्पनाको पछि दौड्नेहरू दरिद्रताले भरिन्छन्।
20विश्वसनीय मानिसले बेसरी आशिष् पाउनेछ, तर धनी हुनलाई व्यग्र बन्नेहरू दण्डविना रहनेछैन।
21पक्षपात गर्नु राम्रो होइन, तापनि एक टुक्रा रोटीको खातिर मानिसले कुकर्म गर्छ।
22कन्जुस मानिस धनी हुने लालसा गर्छ, र दरिद्रताले त्यसलाई प्रतीक्षा गरिराखेको छ भन्ने त्यसलाई थाहै हुँदैन।
23फुर्क्याउने जिब्रो भएकोले भन्दा हप्काउने मानिसले नै आखिरमा धेरै निगाहा प्राप्त गर्नेछ।
24आफ्नो बुबा वा आमालाई लुटेर “यो गल्ती होइन” भन्ने छोरा बरबाद पार्नेको साझेदार हो।
25लोभी मानिसले कलह मच्चाउँछ, तर परमप्रभुमा भरोसा राख्ने मानिसको फलिफाप हुन्छ।
26आफैमा भरोसा राख्ने व्यक्ति मूर्ख हो, तर बुद्धिमा हिँड्ने सुरक्षित रहन्छ।
27जसले गरीबलाई दिन्छ, उसलाई कुनै अभाव हुनेछैन, तर जसले तिनीहरूप्रति आँखा चिम्लन्छ, त्यसले धेरै श्राप पाउनेछ।
28दुष्ट सत्तामा पुग्दा मानिसहरू लुक्न थाल्छन्, तर जब दुष्टको नाश हुन्छ, धर्मी मौलाउँछन्।