हितोपदेश 29:1-27 NNRV2012 - Bible AI

1घरीघरी हप्‍की पाएर पनि कोही हठी नै भइरहन्‍छ भने, त्‍यो एक्‍कासि नाश हुनेछ, तरकीबै नरहने गरी।

2धर्मी सप्रेमा मानिसहरू रमाउँछन्, दुष्‍टले शासन गर्दा मानिसहरू वेदनाले छटपटाउँछन्‌।

3बुद्धि प्रेम गर्ने मानिसले आफ्‍ना बुबालाई खुशी तुल्‍याउँछ, तर वेश्‍याहरूको सङ्गत गर्नेले आफ्‍नो सम्‍पत्ति बेकाममा उड़ाउँछ।

4न्‍याय कायम गरेर राजाले देशलाई स्‍थायित्‍व दिन्‍छ, तर घूसको लोभ गर्नेले मुलुकलाई सर्वनाश गर्छ।

5आफ्‍नो छिमेकीलाई फुर्क्‍याउनेले त्‍यसका खुट्टा फस्‍ने जाल फिँजाएको हुन्‍छ।

6खराब मानिस त्‍यसको आफ्‍नै पापको कारण पासोमा पर्छ, तर धर्मीजन गाउन र प्रसन्‍न हुन सक्‍दछ।

7धर्मात्‍माले गरीबको न्‍यायबारे हेर-विचार गर्छ, तर दुष्‍टले चाहिँ त्‍यसबारे सरोकार नै राख्‍दैन।

8खिल्‍ली उड़ाउनेले सहरभरि हल्‍ला मच्‍चाउँछ, तर बुद्धिमान्‌ मानिसले क्रोधलाई पर पन्‍साउँछ।

9बुद्धिमान्‌ मानिस मूर्खसँगै अदालतमा गयो भने, मूर्ख झोकिन्‍छ र गिल्‍ला गर्छ, त्‍यसैले त्‍यहाँ मिलाप हुँदैन।

10रक्तपात गर्ने मानिसहरू ईमानदार व्‍यक्तिलाई घृणा गर्छन्, र ईमानदारीसँग चल्‍नेलाई मार्न खोज्‍छन्‌।

11मूर्खले आफ्‍नो रीस पूरै पोखिन दिन्‍छ, तर बुद्धिमान्‌ मानिसले आफूलाई अधीनमा राख्‍छ।

12शासकले झूटा कुराहरू सुन्‍छ भने, तिनका सम्‍पूर्ण अधिकारीहरू दुष्‍ट बन्‍छन्‌।

13गरीब मानिस र अत्‍याचारीमा यो कुरो समान छ: परमप्रभुले तिनीहरू दुवैका आँखालाई दृष्‍टि दिनुहुन्‍छ।

14यदि राजाले ठीकसँग गरीबको न्‍याय गर्छ भने, तिनको सिंहासन सदैव सुरक्षित रहनेछ।

15सुधारको छड़ीले बुद्धि प्रदान गर्छ, तर छाडा छोड़ेको छोराले आफ्‍नी आमाको बेइज्‍जत गर्छ।

16जब दुष्‍ट फस्‍टाउन थाल्‍छ, पाप पनि फस्‍टिँदैजान्‍छ। तर धर्मीले तिनीहरूको पतन देख्‍नेछ।

17आफ्‍नो छोरालाई ताड़ना दे, र त्‍यसले तँलाई शान्‍ति दिन्‍छ। त्‍यसले तेरो प्राणमा अति आनन्‍द ल्‍याउनेछ।

18जहाँ दर्शन-प्रकाश छैन, त्‍यहाँ मानिसहरू भाँड़िन्‍छन्‌। तर त्‍यो मानिस धन्‍य हो, जसले व्‍यवस्‍था पालन गर्छ।

19कुराले मात्रै नोकरलाई सुधार्न सकिँदैन, त्‍यसले बुझे तापनि जवाफ दिँदैन।

20हतारिएर बोल्‍ने मानिस तँ देख्‍छस्‌? त्‍यसको भन्‍दा त एउटा मूर्खको निम्‍ति धेरै आशा हुन्‍छ।

21मानिसले आफ्‍नो नोकरलाई बाल्‍यकालदेखि नै पुलपुल्‍यायो भने, आखिरमा त्‍यसले दिक्‍दारी पार्नेछ।

22दुष्‍ट मानिसले कलह मच्‍चाउँछ, र गरम मिजास भएकोले धेरै पापहरू गर्छ।

23मानिसको घमण्‍डले त्‍यसलाई नीचो पार्छ, तर नम्र आत्‍मा भएको मानिसले सम्‍मान पाउँछ।

24चोरको मतियार हुने त्‍यसको परमशत्रु हुन्‍छ, त्‍यसलाई शपथ खान लाएको हुनाले गवाही दिने त्‍यसको आँट हुँदैन।

25मान्‍छेको डर एउटा पासोजस्‍तै हो, तर परमप्रभुमा भरोसा राख्‍ने मानिस सुरक्षित रहन्‍छ।

26धेरैले शासकसँग भेटघाट गर्न खोज्‍दछन्, तर परमप्रभुबाट नै मानिसलाई न्‍याय मिल्‍छ।

27धर्मीले बेईमानलाई घृणा गर्छ, दुष्‍टले ईमानदारलाई घृणा गर्छ।