1हे मेरो छोरा, मेरो बुद्धिमा ध्यान दे, र मेरा अन्तर्दृष्टिका वचनहरू ध्यानसित सुन्।
2यसरी तैंले विवेकलाई कायम राख्नेछस्, र तेरो ओठले ज्ञानको रक्षा गर्नेछ।
3किनभने व्यभिचारी स्त्रीको ओठबाट मह चुहुन्छ, र त्यसको बोलीचाहिँ तेलभन्दा चिप्लो हुन्छ।
4तापनि अन्तमा त त्यो स्त्री पित्तझैँ तीतो, र दुईधारे तरवारझैँ लाग्ने हुन्छे।
5त्यसको खुट्टा मृत्युको बाटोतिर ओह्रालो लाग्छ, त्यसको पाइला सोझै पातालतिर लागेको हुन्छ।
6त्यसले जीवनको मार्गतिर ध्यानै दिँदिन, त्यसको चाल कुटिल छ, तापनि यो कुरा त्यसले थाहा गर्दिन।
7अब हे मेरा छोरा हो, मेरा कुरा सुन, र मैले भनेका कुराहरूबाट तर्केर एकातिर नलाग।
8त्यस्ती स्त्रीदेखि टाढ़ा बस, त्यसको घरको ढोका नजिक नजाओ।
9नत्रता तिमीहरूले आफ्नो उत्तम बल पराईलाई दिनेछौ, र तिमीहरूको उमेर निर्दयीको हातमा पर्नेछ,
10विदेशीहरूले तिमीहरूको सम्पत्तिमा चैन गर्नेछन्, र तिमीहरूका पसीनाको कमाइचाहिँ अर्कैको घरमा भरिभराउ हुनेछ।
11जीवनको आखिरी समयमा तिमीहरूले विलाप गर्नेछौ, जब तिमीहरूका मासु र छाला गलिसकेका हुनेछन्।
12तब तिमीहरूले भन्नेछौ, “हाय मैले अनुशासनलाई कसरी घृणा गरें, र सुधार र हप्कीलाई मेरो हृदयबाटै लत्याएँ।
13मैले मेरा गुरुहरूको आज्ञापालन गरिनँ, र मेरा प्रशिक्षकहरूको कुरामा ध्यानै दिइनँ।
14म पूरै सर्वनाशको खाड़लमा आइपुगेको छु, र सारा समुदायको सामु निन्दित भएको छु।”
15आफ्नै कुण्डको पानी, र आफ्नै कूवाबाट बगेको पानी पी।
16के तेरो कूवाको पानी सड़कतिर, र तेरो खोलाको पानी बजारहरूतिर बग्न दिने?
17त्यो तेरै निम्ति मात्र होस्। पराई त्यसको हिस्सेदार पटक्कै हुन नपाओस्
18तेरो फुहारा आशीर्वादी होस्, र तेरो युवावास्थाकी पत्नीसित तँ आनन्दित हो।
19मयालु मृगी र राम्री हरिणीझैँ, त्यसकै स्तनमा तँ सन्तुष्ट बन्, तँ सधैँ त्यसकै प्रेममा मोहित भइरहेस्।
20हे मेरो छोरो, तँ किन वेश्याको मोहमा फस्छस्? तँ किन अर्काकी पत्नीलाई आलिङ्गन गर्छस्?
21किनभने मानिसको चाल त सधैँ परमप्रभुको दृष्टिमा रहिरहन्छ, र उहाँले त्यसका सबै मार्गहरू जाँच्नुहुन्छ।
22दुष्ट मानिसको खराब कामले त्यसलाई पासोमा पार्छ, र आफ्नै पापको बन्धनमा त्यो जेलिन्छ।
23अनुशासनको अभावले त्यो मर्नेछ, आफ्नै असीम मूर्खताले त्यसलाई भर्माउनेछ।