हितोपदेश 6:1-35 NNRV2012 - Bible AI

1हे मेरो छोरा, यदि तँ आफ्‍नो छिमेकीको जमानी बसेको छस्‌ वा कसैसँग करार बाँधेको छस्‌ भने,

2यदि आफ्‍नो प्रतिज्ञाको वचनले तँ फसिस्, र आफ्‍नै मुखको वचनले पासोमा परिस्‌ भने,

3तब, हे मेरो छोरा, आफूलाई जोगाउन मैले भनेजस्‍तो गर्, किनकि तँ आफ्‍नो छिमेकीको पन्‍जामा परेको छस्‌: आफूलाई नम्र तुल्‍याएर झट्टै जा, र छिमेकीसँग खुरन्‍धार बिन्‍ती गर्‌!

4आँखामा निद्रा पर्न नदे, र पटल बन्‍द हुन नदे।

5शिकारीको हातबाट हरिण उम्‍केझैँ, व्‍याधाको पासोबाट चरा फुत्‍केझैँ तैंले आफूलाई मुक्त गर्‌।

6ए अल्‍छे, कमिलाकहाँ गएर त्‍यसको चाल-ढङ्ग हेर्‌ र बुद्धिमानी बन्‌!

7त्‍यसको अगुवा हुँदैन, हाकिम वा शासक हुँदैन,

8तापनि ग्रीष्‍म ऋतुमा त्‍यसले अन्‍नको भण्‍डार तयार गर्छ र कटनीको समयमा आफ्‍नो खानेकुरो सञ्‍चय गर्छ।

9ए अल्‍छे, तँ कहिलेसम्‍म सुतिरहन्‍छस्‌? तँ कहिले आफ्‍नो निद्राबाट जाग्‍छस्‌?

10क्षणिक सुताइ र क्षणिक उँघाइले, हात बाँधेर केहीबेरको आराम गराइले

11दरिद्रता तँमाथि डाँकूझैँ र अभावचाहिँ हतियार भिरेको मानिसझैँ आइलाग्‍नेछ।

12बदमाश र दुष्‍ट मानिस त्‍यही हो जो भ्रष्ट कुराकानी गरिहिँड्‌छ,

13जसले आँखा झिम्‍क्‍याउँछ, र खुट्टा र औँलाले इशारा गर्दछ।

14आफ्‍नो छली हृदयमा त्‍यसले दुष्‍ट कुरा रच्‍दछ। त्‍यसले सधैँ विवाद उत्‍पन्‍न गराउँछ।

15त्‍यसैले त्‍यसमाथि अचानक विपत्ति आइलाग्‍नेछ, उपायविना नै त्‍यो एक्‍कासि नष्‍ट हुनेछ।

16छ वटा कुराहरू छन्, जसलाई परमप्रभुले घृणा गर्नुहुन्‍छ, सातौँचाहिँ जो उहाँको दृष्‍टिमा घृणित छन्‌:

17अहङ्कारी आँखा, झूट बोल्‍ने जिब्रो, निर्दोषको रगत बगाउने हात,

18दुष्‍ट योजनाहरू रच्‍ने हृदय, खराबी काम गर्न झट्टै अग्रसर हुने पाइला,

19असत्‍य बोल्‍ने झूटो साक्षी, र दाजुभाइहरूका माझमा झगड़ा उठाउने मानिस।

20हे मेरो छोरो, आफ्‍ना पिताका आज्ञाहरू पालन गर्, र आफ्‍नी आमाको अर्तीलाई नत्‍याग्‌।

21ती तेरो हृदयमा सधैँ राख्, तिनलाई तेरो घाँटीमा बाँधिराख्‌।

22तँ हिँड्‌दा तिनले तेरो अगुवाइ गर्नेछन्, तँ सुतेको बेला तिनले तेरो हेरचाह गर्नेछन्, तँ जागा छँदा तिनी तँसित बातचीत गर्नेछन्‌।

23किनभने ती आज्ञाहरू बत्ती, र अर्तीचाहिँ ज्‍योति हुन्, र अनुशासनको लागि गरिने हप्‍काइहरू जीवनका मार्ग हुन्,

24जसले तँलाई अनैतिक स्‍त्री, र लोभ्‍याउने कुरा गर्ने स्‍वेच्‍छाचारी पत्‍नीबाट जोगाउनेछन्‌।

25तेरो मनमा त्‍यसको सुन्‍दरताको कारण कुइच्‍छा नगर्, अथवा त्‍यसको आँखाले तँलाई नफसाओस्‌।

26किनकि वेश्‍याले तँलाई एउटा रोटीको टुक्रामा झारिदिनेछे। र व्‍यभिचारिणीले त तेरो जीवनसमेत शिकार तुल्‍याउनेछे।

27आफ्‍नो लुगा नडढ़ाईकन के कुनै मानिसले आफ्‍नो काखमा आगो राख्‍न सक्‍छ?

28जलिरहेका भुङ्‌ग्रामा कुनै मानिस हिँड्‌यो भने के त्‍यसका खुट्टा पोल्‍दैनन्‌ र?

29अर्काकी पत्‍नीसित सुत्‍ने त्‍यस्‍तै नै हुन्‍छ, तिनलाई छुने कुनै पनि मानिस दण्‍ड नपाई उम्‍कनेछैन।

30साह्रै भोक लागेको मानिसले आफ्‍नो भोक मार्न चोरी गर्‍यो भने, मानिसहरूले त्‍यसलाई घृणा गर्दैनन्‌।

31तापनि त्‍यो पक्राउ पर्‍यो भने त्‍यसले सात गुणा बढ़ी तिर्नैपर्ने हुन्‍छ, शायद त्‍यसले आफ्‍नो घरको सारा सम्‍पत्तिसम्‍म दिनुपर्नेछ।

32तर व्‍यभिचार गर्ने मानिस विनासमझको हुन्‍छ, यस्‍तो काम गर्नेले आफूमाथि बरबादी ल्‍याउँछ।

33त्‍यसले मुक्‍का र बेइज्‍जत पाउनेछ, र त्‍यसको अपमान कहिल्‍यै मेटिनेछैन,

34किनभने डाहले पतीको क्रोधलाई उत्तेजित गराउँछ, र दयामाया नदेखाईकनै त्‍यसले बदला लिन्‍छ।

35त्‍यसले कुनै क्षतिपूर्ति ग्रहण गर्नेछैन, जत्तिसुकै घूसले पनि त्‍यसलाई मनाउन सकिँदैन।

Scripture Text © Nepal Bible Society 1997, 2006, 2009, 2012
/div>