1हे मेरो छोरो, मेरा वचनहरू पालन गर्, र मेरा आज्ञाहरू तँभित्र संचय गरिराख्।
2मेरा आज्ञाहरू पालन गर्, र तँ जीवित रहनेछस्, मेरा अर्तीहरू तेरो आँखाको नानीजस्तै जोगाइराख्।
3तिनलाई तेरा औँलामा औँठीझैँ लगाइराख्। हृदयको पाटीमा ती लेखिराख्।
4बुद्धिलाई भन्, “तिमी मेरी बहिनी हौ,” र समझशक्तिलाई चाहिँ आफ्नो परममित्र भन्,
5तब तिनले तँलाई वेश्याबाट, र स्वेच्छाचारी पत्नीको मोहित गराउने कुरादेखि जोगाइराख्नेछन्।
6म आफ्नो घरको झ्यालमा बसेर त्यसको आँखी-झ्यालबाट बाहिर हेर्दा, मैले के देखें भने,
7सीधासादाहरूका माझमा, ठिटाहरूमध्ये एक जनालाई देखें जो समझहीन रहेछ।
8त्यो स्त्री बस्ने गल्लीमा ऊ हिँड़िरहेको, र त्यसकै घरतिर पाइला बढ़ाइरहेको मैले देखें—
9साँझमा, जब दिन ढल्कँदैजाँदा रात अँध्यारो हुँदैजान्छ।
10तब एउटी स्त्री उसलाई भेट्न निस्केर आई, वेश्याझैँ पहिरेकी र धूर्त नियत भएकी।
11चञ्चली र जिद्दीवाल स्त्री, जो कहिल्यै घरमा बस्दिन,
12कहिले गल्लीमा, कहिले चोकहरूमा, हरेक कुनाकाप्चा हुँदो त्यो लुकेर बस्छे।
13त्यसैले नै उसलाई समाती र चुम्बन गरी, र निर्लज्ज चेहराले भनी:
14“मैले घरमा मेलबलि चढ़ाउनु परेको छ, आज मैले आफ्नो भाकल पूरा गरेकी छु।
15त्यसैले म तपाईंलाई भेट्न बाहिर आएकी हुँ। मैले तपाईंलाई खोजें, अहिले भेट्टाएकी छु!
16मैले मेरो ओछ्यानमा, मिश्रदेशका रङ्गीन तन्ना बिछ्याएकी छु।
17मैले मेरो बिछ्याउना मूर्र, एलवा र दालचिनी छर्केर सुगन्धित तुल्याएकी छु।
18आउनुहोस्, बिहानसम्मै हामी प्रेमको सागरमा डुबौं, हामी प्रेममा मस्त होऔं!
19मेरो पति घर हुनुहुन्न, उहाँ त टाढ़ा यात्रामा जानुभएको छ।
20उहाँले आफूसित थैलीभरि रुपियाँ लानुभयो, र पूर्णिमासम्म उहाँ घर फर्कनुहुन्न।”
21फकाई-फुस्लाईकन त्यसले उसलाई रनभुल्ल पारी, मोहित कुराहरू गरेर त्यसले उसलाई फसाई।
22तुरुन्तै ऊ त्यसको पछि लाग्यो, वधशालातिर लागेको गोरुझैँ, पासोतिर अगि बढ़िरहेको मृगझैँ।
23तब बाणले त्यसको कलेजो नै छेड़िदिन्छ, जालतिर वेगले उड़ेको चराझैँ, आफ्नो ज्यानै गुमाउँछु भन्ने उसलाई ज्ञानै छैन।
24अब हे मेरा छोराहरू हो, मेरो कुरा सुन, मैले भनेको कुरामा ध्यान देओ।
25तिमीहरूको हृदय त्यसको चालतिर फस्न नदेओ, त्यसको बाटोतिर बरालिएर नजाओ।
26त्यसले धेरै जनालाई नष्ट पारेकी छे, त्यसको शिकार बन्नेहरू असंख्य छन्।
27त्यसको घर पाताल जाने बाटो हो, जसले मृत्युका कोठाहरूतिर पुर्याउँछ।