हितोपदेश 9:1-18 NNRV2012 - Bible AI

1बुद्धिले आफ्‍नो घर बनाएको छ, त्‍यसले आफ्‍ना सात खामा गाड़ेको छ।

2त्‍यसले आफ्‍नो पशु मारेको छ, दाखमद्यमा मसला मिसाएको छ, त्‍यसले आफ्‍नो टेबिल पनि तयार पारेको छ।

3त्‍यसले आफ्‍ना दासीलाई पठाएको छ, र सहरका अग्ला ठाउँहरूबाट बोलाउँछ।

4“ए सबै निर्बुद्धिहरू भित्र आओ!” भन्‍दै ती समझ नभएकाहरूलाई त्‍यसले भन्‍छ।

5“आओ, मसँग खाओ, र मैले मसला मिसाएको दाखमद्य पिओ।”

6आफ्‍ना अज्ञानी चालहरू छोडिदेओ, र तिमी बाँच्‍नेछौ। समझशक्तिको मार्गमा हिँड़।

7जसले गिल्‍ला गर्ने व्‍यक्तिलाई सुधार्छ, त्‍यसले अपमान निम्‍त्‍याउँछ, जसले दुष्‍ट मानिसलाई हप्‍काउँछ, त्‍यसले दुर्व्‍यवहार बेहोर्नुपर्छ।

8गिल्‍ला गर्नेलाई नहप्‍का, नत्र त्‍यसले तँलाई घृणा गर्नेछ। बुद्धिमान्‌ मानिसलाई हप्‍का, र त्‍यसले तँलाई प्रेम गर्नेछ।

9बुद्धिमान्‌लाई अर्ती दे, र त्‍यो झन्‌ बढी बुद्धिमान्‌ हुनेछ। धर्मी मानिसलाई शिक्षा दे, र त्‍यसले आफ्‍नो ज्ञान अझ बढ़ाउनेछ।

10“परमप्रभुको भय मान्‍नु नै बुद्धिको सुरुआत हो, र परमपवित्रको ज्ञान नै समझशक्ति हो।

11किनभने मद्वारा नै तेरो जीवनका दिनहरू धेरै हुनेछन्, अनि तँ दीर्घायु हुनेछस्‌।

12तँ बुद्धिमान्‌ भइस्‌ भने तेरो बुद्धिले नै तँलाई इनाम ल्‍याउनेछ, तँ गिल्‍ला गर्ने व्‍यक्ति भइस्‌ भने तैंले मात्र नोक्‍सान बेहोर्नुपर्नेछ।

13“मूर्खता” भनिने स्‍त्री चर्की हुन्‍छे, त्‍यो अनुशासनहीन र अज्ञानी हुन्‍छे।

14त्‍यो आफ्‍नो घरको ढोकामा सहरको सबैभन्‍दा अग्‍ला ठाउँहरूमा भएको आसनमा बस्‍छे।

15त्‍यसको नजिकैबाट सरासर आफ्‍नो बाटो हिँड़िरहेकाहरूलाई त्‍यसले बोलाउँछे।

16ती समझ नभएकाहरूलाई त्‍यसले भन्‍छे, “सबै अज्ञानी जति यता आऊन्‌।

17चोरीको पानी मीठो हुन्‍छ, गुप्‍तमा खाएको रोटी स्‍वादिष्‍ठ हुन्‍छ।”

18तर मृतकहरूको वास त्‍यहाँ हुन्‍छ, र त्‍यस स्‍त्रीका पाहुनाहरू पातालको गहिराइमा पुगिसकेका छन्‌ भन्‍ने कुराको ज्ञान तिनीहरूलाई रत्तीभर हुँदैन।

Scripture Text © Nepal Bible Society 1997, 2006, 2009, 2012
/div>