हिब्रू 1:1-14 NNRV2012 - Bible AI

1प्राचीन कालमा हाम्रा पितापुर्खाहरूसँग अगमवक्ताहरूद्वारा धेरै र विभिन्‍न किसिमले परमेश्‍वर बोल्‍नुभयो।

2तर यी आखिरी दिनहरूमा उहाँ आफ्‍ना पुत्रद्वारा हामीसँग बोल्‍नुभएको छ। पुत्रलाई नै उहाँले सबै कुराका उत्तराधिकारी नियुक्त गर्नुभयो, उहाँद्वारा नै समस्‍त सृष्‍टि रच्‍नु पनि भयो।

3उहाँ नै परमेश्‍वरका महिमाको प्रतिबिम्‍ब र परमेश्‍वरकै स्‍वभावको वास्‍तविक प्रतिरूप हुनुहुन्‍छ, र सम्‍पूर्ण विश्‍वलाई आफ्‍नो शक्तिको वचनले सम्हाल्‍नुहुन्‍छ। पापको शुद्धि गर्नुभएपछि महिमित परमेश्‍वरको दाहिने बाहुलीपट्टि उच्‍च स्‍थानमा उहाँ विराजमान हुनुभयो।

4जसरी उहाँले प्राप्‍त गर्नुभएको नाउँ स्‍वर्गदूतहरूका भन्‍दा उत्तम छ, त्‍यसरी नै उहाँ तिनीहरूभन्‍दा अझ उच्‍च ठहरिनुभएको छ।

5“तिमी मेरा पुत्र हौ, मैले नै आज तिमीलाई जन्‍माएको छु” भनी के कुनै स्‍वर्गदूतलाई परमेश्‍वरले कहिल्‍यै भन्‍नुभयो? र फेरि, “म तिनका पिता हुनेछु, र तिनी मेरा पुत्र हुनेछन्‌” भनी कुनै स्‍वर्गदूतलाई कहिल्‍यै भन्‍नुभयो?

6आफ्‍नो प्रथम जन्‍मेकालाई संसारमा ल्‍याउनुहुँदा उहाँ फेरि भन्‍नुहुन्‍छ,

6“परमेश्‍वरका सारा स्‍वर्गदूतहरूले उहाँलाई नै पुजून्‌।”

7स्‍वर्गदूतका विषयमा उहाँ भन्‍नुहुन्‍छ, “उहाँले आफ्‍ना स्‍वर्गदूतहरूलाई बतास र आफ्‍ना दासहरूलाई आगोको ज्‍वाला तुल्‍याउनुहुन्‍छ।”

8तर पुत्रको विषयमा चाहिँ उहाँ भन्‍नुहुन्‍छ, “हे परमेश्‍वर, तपाईंको सिंहासन सदासर्वदाको निम्‍ति रहिरहन्‍छ, र न्‍यायको राजदण्‍ड तपाईंका राज्‍यको राजदण्‍ड हो।

9तपाईंले धार्मिकतालाई प्रेम गर्नुभएको छ, र अधर्मलाई घृणा गर्नुभएको छ। यसकारण परमेश्‍वर, तपाईंका परमेश्‍वरले तपाईंलाई आफ्‍ना साथीहरूभन्‍दा बढ्‌ता गरेर हर्षको तेलले अभिषेक गर्नुभएको छ।”

10उहाँ फेरि भन्‍नुहुन्‍छ, “हे परमप्रभु, तपाईंले आदिमा पृथ्‍वीको जग बसाल्‍नुभयो, र आकाशमण्‍डल तपाईंका बाहुलीको काम हो।

11तिनीहरू त नष्‍ट हुनेछन्, तर तपाईंचाहिँ रहिरहनुहुन्‍छ। तिनीहरू वस्‍त्रझैँ पुराना भइहाल्‍नेछन्,

12खास्‍टोझैँ तपाईंले तिनीहरूलाई लपेट्‌नुहुन्‍छ, वस्‍त्रझैँ ती फेरिनेछन्‌। तर तपाईं एकैनास हुनुहुन्‍छ, र तपाईंका वर्षहरूको अन्‍त्‍य कहिल्‍यै हुनेछैन।”

13तर कुन स्‍वर्गदूतलाई उहाँले कहिले यसो भन्‍नुभयो, “तिमी मेरो दाहिने हातपट्टि बस, जबसम्‍म म तिम्रा शत्रुहरूलाई तिम्रा खुट्टाको पाउदान तुल्‍याउँदिनँ”?

14के ती सबै स्‍वर्गदूतहरू मुक्ति पाउनेहरूका खातिर सेवा गर्नलाई पठाइएका सेवा गर्ने आत्‍माहरू होइनन्‌?

Scripture Text © Nepal Bible Society 1997, 2006, 2009, 2012
iv>