हिब्रू 10:1-39 NNRV2012 - Bible AI

1किनभने व्‍यवस्‍था अब आउने उत्तम कुराहरूको खास रूप होइन, तर तिनको छाया मात्र हो। यसकारण सालिन्‍दै नित्‍य चढ़ाइने त्‍यही किसिमका बलिहरूद्वारा नजिक आउनेहरूलाई यसले सिद्ध पार्न सक्‍दैन।

2नत्रता बलि चढ़ाउने काम रोकिनेथिएन र? किनकि आराधकहरू एकै खेपमा शुद्ध पारिने भए तिनीहरूमा त्‍यसपछि पापको चेतना हुनेथिएन।

3तर ती बलिदानहरूले सालिन्‍दा पापको सम्‍झना गराउँछन्‌।

4किनकि साँढ़े र बोकाहरूको रगतले पाप हरण गर्न असम्‍भव छ।

5यसकारण संसारमा आउनुहुँदा ख्रीष्‍टले भन्‍नुभयो, “बलि र भेटीहरू तपाईंले चाहनुभएन, तर तपाईंले मेरो निम्‍ति एउटा शरीर तयार पार्नुभएको छ।

6होमबलि र पापबलिहरूमा तपाईं प्रसन्‍न हुनुहुन्‍न।

7तब मैले भने, ‘हेर्नुहोस्, हे परमेश्‍वर, पुस्‍तकको मुट्ठोमा मेरो बारेमा लेखिएजस्‍तै तपाईंकै इच्‍छा पूरा गर्न म आएको छु’।”

8पहिले उहाँले भन्‍नुभयो, “बलि र भेटीहरू, होमबलि र पापबलिहरू तपाईंले चाहनुभएन। तपाईं तिनीहरूमा प्रसन्‍न हुनुभएन।” (यी त व्‍यवस्‍थाबमोजिम चढ़ाइन्‍छन्‌।)

9अनि पछिबाट भन्‍नुभयो, “हेर्नुहोस्, तपाईंकै इच्‍छा पूरा गर्न म आएको छु।” दोस्रोलाई स्‍थापित गर्न पहिलोचाहिँ उहाँले खारेज गर्नुहुन्‍छ।

10त्‍यही इच्‍छाबाट येशू ख्रीष्‍टका शरीरको बलिद्वारा सदाको निम्‍ति हामी पवित्र बनाइएका छौं।

11हरेक पूजाहारी एकै किसिमको बलि बारम्‍बार चढ़ाउँदै प्रतिदिन सेवामा खड़ा रहन्‍छ, जुन बलिले कहिल्‍यै पाप हरण गर्न सक्‍दैन।

12तर ख्रीष्‍टले त पापहरूका निम्‍ति सदाको लागि एउटै बलिदान चढ़ाउनुभयो, अनि उहाँ परमेश्‍वरको दाहिने बाहुलीतर्फ विराजमान हुनुभयो।

13र उहाँका शत्रुहरू उहाँको पाउदान नहोउञ्‍जेल उहाँ पर्खिरहनुहुन्‍छ।

14किनकि एउटै बलिद्वारा जो पवित्र तुल्‍याइँदैछन्, तिनीहरूलाई उहाँले सदाको निम्‍ति सिद्ध बनाउनुभएको छ।

15पवित्र आत्‍माले पनि हामीलाई गवाही दिनुहुन्‍छ। पहिला उहाँ भन्‍नुहुन्‍छ,

16“ती दिनपछि तिनीहरूसँग बाँध्‍ने मेरो करार यही हो, परमप्रभु भन्‍नुहुन्‍छ, तिनीहरूका हृदयमा म मेरो व्‍यवस्‍था राखिदिनेछु, र तिनीहरूका मनमा पनि म त्‍यो लेखिदिनेछु।”

17तब उहाँ भन्‍नुहुन्‍छ, “तिनीहरूका पाप र तिनीहरूका दुष्‍कर्महरू म फेरि सम्‍झनेछैनँ।”

18अब जहाँ यी सबैको क्षमा हुन्‍छ, त्‍यहाँ अब फेरि पापको निम्‍ति कुनै बलि छैन।

19यसकारण भाइ हो, येशूको रगतद्वारा महापवित्र स्‍थानमा प्रवेश गर्ने साहस हामीलाई हुन्‍छ।

20हाम्रा निम्‍ति एउटा नयाँ र जीवित मार्ग उहाँले खोलिदिनुभयो, जसको कारण पर्दाद्वारा, अर्थात्‌ उहाँको शरीरद्वारा भएर हामी भित्र पस्‍न सक्‍छौं।

21परमेश्‍वरको घरानामा हाम्रा एक जना महान्‌ पूजाहारी हुनुभएको हुनाले,

22हाम्रा हृदय खराब विवेकबाट छर्कोद्वारा चोख्‍याइएर र शुद्ध पानीले हाम्रो शरीरलाई धोएर साँचो हृदयले विश्‍वासको सम्‍पूर्ण भरोसामा हामी परमेश्‍वरको समीप जाऔं।

23हामीले दृढ़ स्‍वीकार गरेको आशालाई दोधार नभईकन दह्रिलोसँग थामिराखौं, किनकि जसले प्रतिज्ञा गर्नुभयो, उहाँ विश्‍वासयोग्‍य हुनुहुन्‍छ।

24हामी एउटाले अर्कालाई प्रेम र असल कामको निम्‍ति कसरी उत्‍साहित गराउने त्‍यस कुरामाथि विचार गरौं।

25कति जनाको सङ्गतिमा नजाने बानी हुन्‍छ, तर हामीचाहिँ एकसाथ भेला हुन नछोडौं। तर प्रभुको दिन नजिक आइरहेको तिमीहरूले देखेका हुनाले एउटाले अर्कालाई झन्‌ प्रोत्‍साहन देओ।

26किनकि यदि सत्‍यताको ज्ञान पाएर पनि हामीले जानी-जानी पाप गर्‍यौं भने पापको निम्‍ति अब उसो अरू कुनै बलिदान रहँदैन,

27तर इन्‍साफको डरलाग्‍दो प्रतीक्षा र विरोधीहरूलाई भस्‍म गर्ने क्रोधको अग्‍नि मात्र रहनेछ।

28मोशाको व्‍यवस्‍थालाई उल्‍लङ्घन गर्ने मानिस दुई वा तीन साक्षीहरूका गवाहीमा दयाविना मर्नुपर्छ।

29तिमीहरू आफै विचार गर: परमेश्‍वरका पुत्रलाई खुट्टामुनि कुल्‍चने, आफूलाई पवित्र तुल्‍याएको करारको रगतलाई अपवित्र बनाउने र अनुग्रहका आत्‍मालाई अपमान गर्नेचाहिँ झन्‌ कति बढ़ी कड़ा दण्‍डको योग्‍य ठहरिनेछ।

30किनकि “प्रतिशोध लिने काम मेरो हो, प्रतिफल म दिनेछु” भन्‍नुहुनेलाई हामी चिन्‍छौं। यसो पनि भनिएको छ, “परमप्रभुले आफ्‍ना मानिसहरूको इन्‍साफ गर्नुहुनेछ।”

31जीवित परमेश्‍वरको हातमा पर्नु डरलाग्‍दो कुरो हो।

32ती अघिका दिनहरूलाई सम्‍झ, त्‍यस बेला प्रकाश पाएपछि तिमीहरू कष्‍टहरूसहित कठोर सङ्घर्षमा स्‍थिर रहेका थियौ।

33कहिले त निन्‍दा र कष्‍टहरूले अरूको तमाशा बनाइएका थियौ भने कहिलेचाहिँ त्‍यस्‍तै अवस्‍थामा परेकाहरूसँगसँगै सहभागी भएका थियौ।

34कैदीहरूमाथि तिमीहरूले दया देखायौ, आफ्‍नो सम्‍पत्ति लुटिँदा पनि हर्षसाथ सह्यौ, किनकि तिमीहरू जान्‍दथियौ, कि तिमीहरूको आफ्‍नै अझ उत्तम र सदा रहने सम्‍पत्ति छ।

35त्‍यसकारण आफ्‍नो यो भरोसा नत्‍याग, जसमा ठूलो इनामको प्रतिफल छ।

36परमेश्‍वरको इच्‍छा पूरा गर्न र प्रतिज्ञा गरिएको प्रतिफल प्राप्‍त गर्न तिमीहरूलाई स्‍थिर रहनु आवश्‍यक छ।

37किनकि अब एकै छिनमा,

37“आउनुहुनेचाहिँ आउनु नै हुनेछ, र बियाँलो गर्नुहुनेछैन।

38तर मेरो धार्मिक जनचाहिँ विश्‍वासद्वारा बाँच्‍नेछ, र यदि ऊ पछि हट्‌छ भनेता म उसँग खुशी हुनेछैनँ।”

39तर हामी पछि हट्‌ने र विनाश पारिनेहरूमध्‍येका होइनौं, तर विश्‍वास गरी बचाइएकाहरूमध्‍येका हौं।

Scripture Text © Nepal Bible Society 1997, 2006, 2009, 2012
div>