होशे 10:1-15 NNRV2012 - Bible AI

1इस्राएल फिँजिरहेको दाखको बोट थियो, त्‍यसले त आफ्‍नै लागि फल फलायो। फलहरूको संख्‍या बढ्‌दैगएअनुसार त्‍यसले आफ्‍ना वेदीहरूको संख्‍या बढ़ायो। आफ्‍नो देशको उन्‍नतिअनुसार त्‍यसले आफ्‍ना चोखा ढुङ्गाहरू सिँगार्‍यो।

2तिनीहरूको हृदय छली छ। अब तिनीहरूले आफ्‍नो दोषको दण्‍ड भोग्‍नैपर्छ। परमप्रभुले तिनीहरूका वेदीहरू नाश गर्नुहुनेछ, तिनीहरूका चोखा ढुङ्गाहरू नाश गरिदिनुहुन्‍छ।

3तब तिनीहरूले भन्‍नेछन्, “हाम्रो राजा छैन, किनभने हामीले परमप्रभुको आदर गरेनौं। यदि हाम्रा निम्‍ति राजा भए पनि उनले हाम्रा निम्‍ति के गर्न सक्‍थे र?”

4तिनीहरूले धेरै प्रतिज्ञा गर्छन्, झूटा कसम खान्‍छन्‌ र करारहरू बाँध्‍छन्‌। यसैकारण हलो जोतेको भूमिमा विषालु झार उम्रेझैँ न्‍यायका मुद्दाहरू बढ्‌छन्‌।

5सामरियामा बस्‍ने मानिसहरू बेथ-आवनका बाछाको मूर्तिको लागि डराउँछन्‌। त्‍यसका प्रजाले त्‍यसको निम्‍ति शोक गर्नेछन्, र त्‍यसका मूर्तिपूजक पूजाहारीहरू जसले त्‍यसको गौरवमा रमाहट गरेथे, तिनीहरूले विलाप गर्नेछन्, किनभने त्‍यो तिनीहरूबाट प्रवासमा लगिएको छ।

6ठूला राजाको सौगात स्‍वरूप त्‍यो अश्‍शूरमा लगिनेछ। एफ्राइम लाजमा पारिनेछ, इस्राएलचाहिँ आफ्‍नै काठका मूर्तिदेखि लज्‍जित हुनेछ।

7सामरिया र त्‍यसका राजाचाहिँ पानीमाथि बग्‍ने काठको टुक्राझैँ बगिजानेछन्‌।

8इस्राएलको पाप, अर्थात्‌ दुष्‍टताका अल्‍गा-अल्‍गा ठाउँहरू नष्‍ट हुनेछन्‌। तिनका वेदीहरूमा काँढ़ा र सिउँड़ीहरूले ढाक्‍नेछन्‌। तब तिनीहरूले पहाड़हरूलाई भन्‍नेछन्, “हामीलाई छोप,” अनि डाँड़ाहरूलाई भन्‍नेछन्, “हामीमाथि खस।”

9“हे इस्राएल, गिबाको समयदेखि तैंले पाप गर्न सुरु गरिस्, र अझै त्‍यसैमा लागिरहेको छस्‌। दुष्‍ट काम गर्नेहरूका विरुद्धमा लड़ाइँले के गिबामा तिनीहरूलाई भेट्टाएन?

10जब मेरो इच्‍छा हुन्‍छ म तिनीहरूलाई दण्‍ड दिनेछु। तिनीहरूको दोबर अधर्मको निम्‍ति जाति-जातिहरूलाई बाँध्‍न तिनीहरू भेला हुनेछन्‌।

11एफ्राइमचाहिँ दाइँ गर्दा रमाउने सधाइएकी कोरली हो। यसकारण त्‍यसको सुन्‍दर काँधमा म जुवा हालिदिनेछु। म एफ्राइमलाई हाँक्‍नेछु। यहूदाले हलो जोत्‍नुपर्नेछ, र याकूबले डल्‍लाहरू फोर्नुपर्नेछ।

12आफ्‍ना निम्‍ति धार्मिकताका बीउ रोप, र अचूक प्रेमको कटनी गर। तिमीहरूको बाँझो बारी जोत। किनकि परमप्रभुलाई खोज्‍ने समय अहिले हो, जबसम्‍म उहाँ आएर तिमीहरूमाथि धार्मिकताको वृष्‍टि खन्‍याउनुहुन्‍छ।

13“तर तिमीहरूले त अधर्म रोपेका छौ। तिमीहरूले दुष्‍टताको कटनी गरेका छौ। तिमीहरूले छलको फल खाएका छौ। तिमीहरूले आफ्‍नै शक्तिमाथि भर परेका र आफ्‍नै योद्धाहरूमा भर परेका हुनाले,

14तिमीहरूका प्रजाको विरुद्धमा युद्धको गर्जन उठ्‌नेछ, र लड़ाइँमा शल्‍मनले बेथ-आर्बेललाई नाश गरेझैँ तिमीहरूका सबै गढ़ीहरू नाश गरिनेछन्‌— जुन समयमा आमाहरू आफ्‍ना नानीहरूसँगसँगै टुक्रै-टुक्रा पारिए।

15यसरी हे बेथेल हो, तिमीहरूको अत्‍यन्‍त दुष्‍टाताले गर्दा त्‍यो आइपर्नेछ। त्‍यस दिनको उज्‍यालो हुँदा, इस्राएलका राजालाई बिलकुलै सर्वनाश गरिनेछ।

Scripture Text © Nepal Bible Society 1997, 2006, 2009, 2012
v>