1“जब इस्राएल बालक थियो तब मैले त्यसलाई प्रेम गरें, र मैले आफ्नो पुत्रलाई मिश्रदेशबाट बोलाएँ।
2तर जति-जति मैले इस्राएललाई बोलाएँ, त्यति-त्यति तिनीहरू मबाट टाढ़ा भए। तिनीहरूले बाल देवताहरूलाई बलि चढ़ाए, र खोपिएका मूर्तिहरूलाई धूप बाले।
3एफ्राइमलाई हातमा समातेर हिँड्न सिकाउने त म नै थिएँ। तर मैले तिनीहरूलाई निको पारें भनी तिनीहरूले जानेनन्।
4मैले तिनीहरूलाई मानिसजातिको मायाको डोरी, प्रेमको बन्धनले बाँधेर डोर्याएँ। तिनीहरूका काँधबाट जुवा उतारिदिएर तिनीहरूलाई खुवाउन म झुकें।
5“के तिनीहरू मिश्रदेशमा फर्केर जानेछैनन्, र अश्शूरले तिनीहरूमाथि शासन गर्नेछैन र? किनभने तिनीहरूले पश्चात्ताप गर्न अस्वीकार गरे।
6तिनीहरूका सहरहरूमा तरवार चल्नेछन्, र तिनीहरूका ढोकाहरूका बारहरू भत्काइदिनेछन्, र तिनीहरूका योजनाको अन्त्य गर्नेछन्।
7मेरा प्रजाले मबाट फर्किजाने सङ्कल्प गरेका छन्। तिनीहरूले सर्वोच्चलाई पुकारे तापनि उहाँले तिनीहरूलाई उच्च पार्नुहुनेछैन।
8“ए एफ्राइम, म तँलाई कसरी छोड़िदिन सक्छु र! ए इस्राएल, म तँलाई कसरी दुश्मनका हातमा सुम्पिदिन सक्छु? म तँलाई कसरी अदमालाई झैँ व्यवहार गर्न सक्छु? म तँलाई कसरी सबोयीमलाई झैँ बनाउन सक्छु! मेरो हृदय मभित्र परिवर्तित भएको छ। मेरो मन दयाले जागृत भएको छ।
9म मेरो प्रचण्ड रीस प्रयोग गर्नेछैनँ। म एफ्राइमलाई फेरि सर्वनाश गर्नेछैनँ। किनकि म परमेश्वर हुँ, मानिस होइनँ— तिमीहरूका बीचमा परमपवित्र। म क्रोधमा आउनेछैनँ।
10तिनीहरूले परमप्रभुलाई पछ्याउनेछन्। उहाँ सिंहझैँ गर्जनुहुन्छ। जब उहाँ गर्जनुहुन्छ, उहाँका बालकहरू थरथर काम्दै पश्चिमबाट आउनेछन्।
11तिनीहरू मिश्रदेशदेखि चराझैँ र अश्शूरदेखि ढुकुरझैँ थरथर काम्दै आउनेछन्, म तिनीहरूलाई आ-आफ्नै घरमा बसाल्नेछु,” परमप्रभु भन्नुहुन्छ।
12एफ्राइमले झूट र इस्राएलका घरानाले छलले मलाई घेरेका छन्। यहूदा परमेश्वरको विरुद्धमा, परमपवित्रको विरुद्धमा खड़ा भएको छ।