होशे 12:1-14 NNRV2012 - Bible AI

1एफ्राइमले बतास खान्‍छ, त्‍यसले सारा दिन पूर्वीय बतासलाई खेद्‌छ। त्‍यसले निरन्‍तर झूट र हिंसाको संख्‍या बढ़ाउँछ। त्‍यसले अश्‍शूरसित सन्‍धि गर्छ, र मिश्रदेशमा जैतूनको तेल पठाउँछ।

2यहूदाको विरुद्धमा परमप्रभुको एउटा आरोप छ। अनि याकूबलाई [1] तिनका चालअनुसार उहाँले दण्‍ड दिनुहुनेछ, र तिनका कामअनुसार उहाँले तिनलाई बदला दिनुहुनेछ।

3गर्भमा तिनले आफ्‍नो दाजुको कुर्कुच्‍चो पक्रे, र जवान भएपछि तिनले परमेश्‍वरसँग लड़न्‍त गरे।

4तिनले स्‍वर्गदूतसित लड़न्‍त गरे, र उनलाई जिते। तिनी रोए र उनीसित निगाहको निम्‍ति बिन्‍ती गरे। तिनले बेथेलमा उहाँलाई भेटे, र उहाँसँग तिनले बातचीत गरे—

5सर्वशक्तिमान्‌ परमप्रभु परमेश्‍वरसँगै। उहाँको नाउँ प्रसिद्ध छ।

6तर तिमीहरू आफ्‍ना परमेश्‍वरतिर फर्कनैपर्छ। प्रेम र न्‍याय कायम राख, र निरन्‍तर आफ्‍ना परमेश्‍वरको प्रतीक्षा गर।

7व्‍यापारीले छलको तराजू प्रयोग गर्छ, छल गर्न त्‍यो मन पराउँछ।

8एफ्राइमले यस कुराको घमण्‍ड गर्छ, “म असाध्‍य धनी छु, म धनाढ्य भएको छु। मेरा सारा धन-सम्‍पत्तिले गर्दा तिनीहरूले ममा कुनै अधर्म पाउनेछैनन्‌।”

9“म तेरा परमप्रभु परमेश्‍वर हुँ। मैले तँलाई मिश्रदेशदेखि ल्‍याएको छु। तेरा ठहराइएका चाड़का दिनमा झैँ म तँलाई फेरि पालहरूमा बस्‍न लाउनेछु।

10मैले अगमवक्ताहरूसित कुरा गरें, तिनीहरूलाई धेरै दर्शनहरू दिएँ, र तिनीहरूद्वारा मैले दृष्‍टान्‍तहरू दिएँ।”

11के गिलाद दुष्‍ट छ? त्‍यसका मानिसहरू बेकामका छन्‌! के तिनीहरू गिलगालमा साँढ़ेहरूको बलि गर्छन्‌? तिनीहरूका वेदीहरू हलो जोतेका खेतमा ढुङ्गाका रासजस्‍तै हुनेछन्‌।

12याकूब भागेर अरामको देशमा गए। इस्राएलले एउटी पत्‍नीको निम्‍ति चाकरी गरे, र त्‍यसको ज्‍यालाको निम्‍ति भेड़ाहरू चराए।

13परमप्रभुले इस्राएललाई मिश्रदेशबाट निकालेर ल्‍याउन एक जना अगमवक्ता प्रयोग गर्नुभयो, र एक जना अगमवक्ताद्वारा उहाँले तिनको हेरचाह गर्नुभयो।

14तर एफ्राइमले उहाँलाई असाध्‍यै रीस उठाएको छ। त्‍यसका परमप्रभुले त्‍यसले बगाएको रगतको दोष त्‍यसमाथि रहन दिनुहुनेछ, र त्‍यसका अवहेलनाको निम्‍ति उहाँले बदला लिनुहुनेछ।

Scripture Text © Nepal Bible Society 1997, 2006, 2009, 2012
v>