होशे 5:1-15 NNRV2012 - Bible AI

1“हे पूजाहारी हो, यो कुरा सुन! हे इस्राएलीहरू हो, ध्‍यान दिएर सुन! हे राजाको घराना हो, ध्‍यानसित सुन! यो न्‍यायको फैसला तिमीहरूको विरुद्धमा छ। तिमीहरू मिस्‍पामा पासो र तबोरमा फिँजाएको जाल भएका छौ।

2बागीहरू मारकाटमा निकै फसेका छन्‌। म तिनीहरू सबैलाई अनुशासनमा ल्‍याउनेछु।

3म एफ्राइमको विषयमा सबै कुरा जान्‍दछु, र इस्राएल मबाट लुकेको छैन। हे एफ्राइम तँ वेश्‍यावृत्तितिर लागेको छस्‌। इस्राएल भ्रष्‍ट भएको छ।

4तिनीहरूका कामहरूले तिनीहरूलाई आफ्‍ना परमेश्‍वरतिर फर्कन दिँदैनन्‌। वेश्‍यावृत्तिको मन तिनीहरूका हृदयमा छ, र तिनीहरूले परमप्रभुलाई मान्‍यता दिँदैनन्‌।

5“इस्राएलका अहङ्कारले आफ्‍नै विरुद्धमा गवाही दिन्‍छ। इस्राएल र एफ्राइम पनि आ-आफ्‍ना पापमा ठक्‍कर खान्‍छन्‌। यहूदाले पनि तिनीहरूसँगै ठक्‍कर खानेछ।

6जब तिनीहरू आफ्‍ना भेड़ाबाख्रा र गाई-गोरुका बगाल लिएर परमप्रभुलाई खोज्‍न जान्‍छन्, तब तिनीहरूले उहाँलाई पाउनेछैनन्‌। उहाँले आफूलाई तिनीहरूदेखि हटाउनुभएको छ।

7तिनीहरू परमप्रभुप्रति विश्‍वासघाती भएका छन्‌। तिनीहरूले बतासे छोराछोरीहरू जन्‍माएका छन्‌। अब औंसीका चाड़हरूले तिनीहरू र तिनीहरूका खेतहरूसमेत तिनीहरूलाई नाश गर्नेछन्‌।

8“गिबामा तुरही र रामामा बिगुल फुक। बेथ-आवनमा युद्ध-ध्‍वनि उठाओ। ए बेन्‍यामीन, अगुवाइ गर।

9न्‍यायको दिनमा एफ्राइम उजाड़ पारिनेछ। जे कुरो निश्‍चित हुन्‍छ, त्‍यो इस्राएलका कुलका बीचमा म घोषणा गर्दछु।

10यहूदाका अगुवाहरू साँधसिमानाका ढुङ्गा सार्नेहरूजस्‍ता छन्‌। म मेरो क्रोध तिनीहरूमाथि पानीको भलझैँ खन्‍याउनेछु।

11एफ्राइम थिचोमिचोमा परेको छ, न्‍यायमा त्‍यो कुल्‍चीमिल्‍ची भएको छ, मूर्तिकोपछि हिँड्‌नलाई त्‍यसले अठोट गरेको छ।

12यसैले म एफ्राइमको निम्‍ति राती उड्‌ने पुतलीझैँ र यहूदाका घरानाको निम्‍ति क्षयतुल्‍य छु।

13“जब एफ्राइमले आफ्‍नो रोग देख्‍यो र यहूदाले आफ्‍ना घाउ, तब एफ्राइमले अश्‍शूरका ठूला राजाकहाँ सहायताको लागि मानिस पठायो। तर त्‍यसले तँलाई निको पार्न सक्‍दैन, त्‍यसले तेरा चोटलाई निको पार्न सक्‍नेछैन।

14किनकि म एफ्राइमको निम्‍ति एउटा सिंहझैँ र यहूदाको निम्‍ति एउटा ठूलो सिंहझैँ हुनेछु। तिनीहरूलाई टुक्रा-टुक्रा पारेर म बाटो लाग्‍नेछु, म तिनीहरूलाई बोकेर लानेछु, र तिनीहरूलाई छुटाउने कोही पनि हुनेछैन।

15जबसम्‍म तिनीहरूले आफ्‍ना दोष स्‍वीकार गर्दैनन्, तबसम्‍म म फर्केर आफ्‍नै ठाउँमा रहनेछु। तिनीहरूले मेरो अनुहार खोज्‍नेछन्‌। आफ्‍नो कष्‍टमा तिनीहरूले मलाई यत्‍नपूर्वक खोज्‍नेछन्‌।”

Scripture Text © Nepal Bible Society 1997, 2006, 2009, 2012
>