1ए इस्राएल, नरमाओ। अरू जाति-जातिहरूझैँ आनन्दले नरमाओ, किनकि तिमी आफ्ना परमेश्वरप्रति अविश्वासी भएका छौ! अन्नको प्रत्येक खलामा वेश्यावृत्तिको ज्याला लिन तिमीलाई मन पर्छ।
2अन्नका खला र दाखबारीका कोलले मानिसहरूलाई खुवाउनेछैनन्, नयाँ दाखमद्य तिनीहरूका निम्ति अपुग हुनेछ।
3तिनीहरू परमप्रभुको देशमा बस्नेछैनन्। एफ्राइम मिश्रदेशमा फर्किजानेछ, र अश्शूरमा अशुद्ध खानेकुरा खानेछ।
4तिनीहरूले परमप्रभुको सामु अर्घको रूपमा दाखमद्य खनाउनेछैनन्, न त तिनीहरूका बलिदानले उहाँ प्रसन्न हुनुहुनेछ। यस्ता बलिदानहरू तिनीहरूका लागि मरेकाहरूका निम्ति शोक गर्नेको रोटीझैँ हुनेछ। ती खाने सबै अशुद्ध हुनेछन्। यस्ता भोजन तिनीहरूका आफ्नै लागि हुनेछ, त्यो परमप्रभुको मन्दिरमा आउनेछैन।
5तिमीहरूका नियुक्त चाड़हरूका दिन, परमप्रभुका उत्सवका दिनमा तिमीहरू के गर्नेछौ?
6तिनीहरू सर्वनाशदेखि भागे तापनि मिश्रदेशले तिनीहरूलाई बटुल्नेछ, र मोपका मानिसहरूले तिनीहरूलाई गाड्नेछन्। तिनीहरूका चाँदीको धन-सम्पत्ति काँढ़ाघारीले पुर्नेछ। तिनीहरूका पालहरू काँढ़ाका झाँगहरूले भरिनेछन्।
7दण्ड दिने दिनहरू नजिकै छन्, प्रतिशोधका दिनहरू आइरहेछन्। इस्राएलले त्यो थाहा पाऊन्। तिम्रा धेरै पाप र ठूलो वैरभावको कारणले तिम्रो लागि अगमवक्ताचाहिँ मूर्ख र आत्माले प्रेरित भएको मानिसचाहिँ बौलाहासरह हुनेछ।
8अगमवक्ता मेरा परमेश्वरको साथसाथै एफ्राइमको रखवाली गर्ने हो, तापनि त्यसका सबै बाटोमा पासोहरू थापिएका छन्, र त्यसका परमेश्वरको भवनमा त्यसप्रति दुश्मनी छ।
9गिबाका दिनमा झैँ तिनीहरू आफूले आफैलाई साह्रै भ्रष्ट पारेका छन्। परमेश्वरले तिनीहरूका अधर्मको सम्झना गर्नुहुनेछ। उहाँले तिनीहरूका पापको दण्ड दिनुहुनेछ।
10“मैले इस्राएललाई पाउनुचाहिँ उजाड़-स्थानमा दाख पाउनु बराबर थियो। मैले तिमीहरूका पिता-पुर्खालाई देख्नुचाहिँ नेभाराका अगौटे फल देख्नु बराबर थियो। तर जब तिनीहरू बाल-पोरमा गए, तब तिनीहरूले आफैलाई त्यस घिनलाग्दो मूर्तिमा अर्पण गरे, र तिनीहरूले रुचाएको मूर्तिझैँ तिनीहरू घिनलाग्दा भए।
11एफ्राइमको गौरव पक्षी झैँ उड़िजानेछ। तिनीहरूमा न त कुनै जन्म, न कुनै गर्भवास, न गर्भधारण हुनेछ।
12तिनीहरूले छोराछोरी पाएर हुर्काए तापनि एउटै बालक पनि नरहने गरी म तिनीहरूलाई निस्सन्तान तुल्याउनेछु। हाय! तिनीहरूलाई, जब म तिनीहरूबाट फर्केर जानेछु!
13मैले एफ्राइमलाई टुरोसजस्तै सुन्दर स्थलमा रोपिएको देखें, तर एफ्राइमले आफ्नो छोराछोरीहरूलाई संहारको निम्ति डोर्याएर ल्याउनेछ।”
14हे परमप्रभु, तिनीहरूलाई दिनुहोस्— तपाईं तिनीहरूलाई के दिनुहुन्छ? तिनीहरूको गर्भ तुहोस् र स्तन सुकिजाने होस्।
15“गिलगालमा गरेका तिनीहरूका सारा खराबीको कारण मैले तिनीहरूलाई घृणा गरें। तिनीहरूका पापका कामले गर्दा म तिनीहरूलाई मेरो भवनबाट लघारिदिनेछु। म तिनीहरूलाई अब कहिल्यै प्रेम गर्नेछैनँ। तिनीहरूका सबै अगुवाहरू बागीहरू हुन्।
16एफ्राइममाथि प्रहार परेको छ! तिनीहरूको जरो सुक्यो। तिनीहरूमा फल लाग्दैनन्। तिनीहरूले छोराछोरी जन्माए तापनि तिनीहरूका प्रिय बालकहरू म मार्नेछु।
17मेरा परमेश्वरले तिनीहरूलाई इन्कार गर्नुहुनेछ, किनभने तिनीहरूले उहाँका कुरा पालन गरेका छैनन्। जाति-जातिहरूका बीचमा तिनीहरू फिरन्तेहरू हुनेछन्।