1केही बेरपछि दाऊदले पलिश्तीहरूलाई जितेर परास्त गरे, र उनीहरूबाट गात र त्यसका वरिपरिका गाउँहरू लिए।
2तिनले मोआबीहरूलाई पनि जिते, र उनीहरू तिनको अधीनमा भएर तिनलाई कर तिर्ने गरे।
3यूफ्रेटिस नदीको किनारमा आफ्नो अधिकार कायम राख्न जाँदा दाऊदले सोबाका राजा हददेजेरसँग हमातसम्म लड़ाइँ गरे।
4उनीबाट दाऊदले एक हजार रथ, सात हजार सारथिहरू र बीस हजार पैदल सिपाहीहरू कैद गरे। तिनले एक सय घोड़ाबाहेक अरू सबै रथका घोड़ाहरूका खुट्टाका नशा काटिदिए।
5जब सोबाका राजा हददेजेरलाई सहायता गर्नलाई दमस्कसका अरामीहरू आए, तब दाऊदले उनीहरूका बाईस हजार जनालाई नाश गरे,
6र ती अरामीहरूको राज्य दमस्कसमा छाउनी बसाले। उनीहरू तिनका अधीनमा भएर तिनलाई कर तिर्ने गरे। यसरी दाऊद जहाँ गए तापनि परमप्रभुले तिनलाई विजयी तुल्याउनुभयो।
7हददेजेरका अधिकृतहरूले भिरेका सुनका ढालहरू दाऊदले खोसेर यरूशलेममा ल्याए।
8तिनले हददेजेरका सहरहरू तेबह र कूनबाट पनि धेरै मात्रामा काँसा ल्याए। यसैबाट सोलोमनले काँसाको एउटा विशाल खड्कुँलो, स्तम्भहरू र काँसाका विभिन्न भाँड़ाहरू बनाए।
9जब दाऊदले सोबाका राजा हददेजेरका जम्मै सेनालाई परास्त गरेको कुरा हमातका राजा तोऊले सुने,
10तब दाऊदले हददेजेरलाई लड़ाइँमा जितेको कारण तिनलाई अभिवादन र बधाई दिन उनले आफ्ना छोरा हदोरमलाई दाऊद राजाकहाँ पठाए, किनभने हददेजेर र तोऊका बीचमा युद्ध चलेको थियो। हदोरमले आफूसँग सुन, चाँदी र काँसका सबै किसिमका भाँड़ाहरू ल्याए।
11दाऊद राजाले यी भाँड़ाहरू परमप्रभुमा समर्पण गरे। तिनले अरू सबै जातिहरू— एदोम, मोआब, अम्मोनीहरू, पलिश्तीहरू र अमालेक— तीबाट लिएका सुन र चाँदी पनि समर्पण गरे।
12एदोमचाहिँ सरूयाहका छोरा अबीशैले परास्त गरे। तिनले नूनको उपत्यकामा उनीहरूका अठाह्र हजारलाई नाश गरे।
13उनीहरूको देशमा छाउनी बसाले, सबै एदोमीहरू अब दाऊदका अधीनमा भए। जहाँ-जहाँ तिनी गए परमप्रभुले दाऊदलाई विजयी तुल्याउनुभयो।
14दाऊदले सारा इस्राएलमाथि राज्य गरे, र आफ्ना सबै प्रजामाथि ऐन र न्याय कायम गरे।
15सरूयाहका छोरा योआब सेनापति थिए। अहीलूदका छोरा यहोशापात लेखापाल थिए।
16अहीतूबका छोरा सादोक र अबियाथारका छोरा अहीमेलेक पूजाहारीहरू थिए। शब्शा सचिव थिए।
17यहोयादाका छोरा बनायाह करेती र पेलेथीहरूका जिम्मावाल थिए। दाऊदका छोराहरूचाहिँ राजाका मुख्य अधिकारीहरू थिए।