१ इतिहास 29:1-29 NNRV2012 - Bible AI

1त्‍यसपछि राजा दाऊदले सारा समुदायलाई भने, “मेरा छोरा सोलोमन, कलिलै उमेरका सोलोमनलाई नै परमेश्‍वरले चुन्‍नुभएको छ। यो काम महान्‌ छ, किनकि यो भवन मानिसको निम्‍ति होइन तर परमप्रभु परमेश्‍वरको निम्‍ति हो।

2मेरा सबै बलले भ्‍याएसम्‍म मैले मेरा परमेश्‍वरका मन्‍दिरको लागि सुनका कामको निम्‍ति सुन, चाँदीका कामको निम्‍ति चाँदी, काँसाको निम्‍ति काँसा, फलामको निम्‍ति फलाम, काठको निम्‍ति काठ, र मणिघरको निम्‍ति आनिक्‍स, फिरोजा, विभिन्‍न रङ्गका पत्‍थरहरू, र सबै किसिमका दामी-दामी ढुङ्गाहरू प्रशस्‍त गरी तयार पारिराखेको छु।

3त्‍यसबाहेक मेरा परमेश्‍वरको मन्‍दिरप्रति मलाई ज्‍यादा भक्ति भएको हुनाले मेरा परमेश्‍वरका मन्‍दिरको निम्‍ति म मेरो आफ्‍नो निजी भण्‍डारबाट सुन र चाँदी दिँदैछु— योचाहिँ यस पवित्र मन्‍दिरको निम्‍ति मैले जम्‍मा गरेका सबै थोकबाहेक हो—

4अर्थात्, एक सय टन सुन (ओपीरको सुन) र दुई सय चालीस टन निखुर चाँदी मन्‍दिरका भित्ताहरू मोहोर्नलाई,

5सुनका कामको निम्‍ति र चाँदीको कामको निम्‍ति अनि निपुण कारीगरले गर्ने सबै कामको निम्‍ति दिँदैछु। अब आज परमप्रभुलाई अर्पण गर्न को राजी छ?”

6तब घराना-घरानाका नायकहरू, इस्राएलका कुलहरूका अधिकृतहरू, हजार र सयका सेनापतिहरू र राजाका सेवाको जिम्‍मामा रहेका अधिकारीहरूले,

7राजीखुशीसित परमप्रभुको मन्‍दिरका कामको निम्‍ति एक सय सत्तरी टन र असी किलोग्राम सुन, तीन सय चालीस टन चाँदी, छ सय टन काँसो र साढ़े तीन हजार टन फलाम दिए।

8त्‍यसबाहेक जस-जसकहाँ दामी-दामी रत्‍नहरू थिए, तिनीहरूले ती गेर्शोनी यहीएलको जिम्‍मामा परमप्रभुको मन्‍दिरका भण्‍डारको निम्‍ति दिए।

9मानिसहरूले आफ्‍ना अगुवाहरूले यसरी राजीखुशीसित दिएकामा आनन्‍द मनाए, किनकि तिनीहरूले आफ्‍ना हृदयको भक्तिसाथ परमप्रभुको निम्‍ति राजीखुशीसित ती दिएका थिए। दाऊद राजा पनि साह्रै आनन्‍दित भए।

10दाऊदले सबै समुदायको उपस्‍थितिमा यसो भनेर परमप्रभुको प्रशंसा गरे: “हे हाम्रा पुर्खाहरूका परमप्रभु परमेश्‍वर, सनातनदेखि सनातनसम्‍म तपाईंको प्रशंसा होस्‌।

11हे परमप्रभु, महानता, शक्ति, महिमा, गौरव र ऐश्‍वर्य तपाईंकै हुन्, किनकि स्‍वर्ग र पृथ्‍वीमा भएका सबै कुरा तपाईंकै हुन्‌। हे परमप्रभु, राज्‍य तपाईंकै हो, अनि सबैमाथि तपाईं सर्वोच्‍च हुनुहुन्‍छ।

12धन र मान तपाईंबाट नै आउँछन्‌। तपाईं नै सबैमाथि शासन गर्नुहुन्‍छ। पराक्रम र शक्ति तपाईंकै बाहुलीमा छन्, सबैलाई उच्‍च पार्न र शक्ति दिन तपाईंकै हातमा बल र शक्ति छन्‌।

13अब हे हाम्रा परमेश्‍वर, हामी तपाईंलाई धन्‍यवाद दिन्‍छौं, र तपाईंको महिमित नाउँको प्रशंसा गर्दछौं।

14“तर म को हुँ, अनि मेरा प्रजा को हुन्, कि हामी उदार-चित्तले यसरी दिन सक्‍छौं? सबै कुरा तपाईंबाटै आउँछन्, र तपाईंकै दानबाट हामी तपाईंलाई दिँदछौं।

15हामी त तपाईंको दृष्‍टिमा विदेशी र प्रवासीहरू हौं, जस्‍ता हाम्रा पुर्खाहरू थिए। हाम्रा दिन यस पृथ्‍वीमा छायाजस्‍ता मात्र छन्‌ र हाम्रा निम्‍ति आशा छैन।

16हे परमप्रभु हाम्रा परमेश्‍वर, तपाईंको पवित्र नाउँका सम्‍मानको निम्‍ति भवन बनाउन हामीले जम्‍मा गरेका यी सबै धन तपाईंबाट नै आउँछन्, र यी सबै तपाईंकै हुन्‌।

17हे मेरा परमेश्‍वर, म जान्‍दछु कि तपाईं हृदयको जाँच गर्नुहुन्‍छ, र मनको सोझोपनादेखि तपाईं खुशी हुनुहुन्‍छ। साँचो हृदयले मैले राजीखुशीसित यी सबै दान तपाईंमा टक्र्याएको हुँ। यहाँ उपस्‍थित भएका तपाईंका प्रजाले राजीखुशीसित टक्र्याएको देख्‍दा अब मलाई आनन्‍द लागेको छ।

18हे हाम्रा पुर्खा अब्राहाम, इसहाक र इस्राएलका परमेश्‍वर, तपाईंका प्रजाको यो अभिप्राय सधैँको निम्‍ति कायम राख्‍नुहोस्, र तिनीहरूका हृदयलाई तपाईंतिर खिँच्‍नुहोस्‌।

19मेरा छोरा सोलोमनले तपाईंका आज्ञाहरू, तपाईंका धार्मिक-नियमहरू र तपाईंका विधिहरू भक्तिसाथ पालन गर्न अनुग्रह गर्नुहोस्, र तिनले ती सबै पूरा गर्न सकून्, र तिनले त्‍यो भवन निर्माण गर्न सकून्, जसको निम्‍ति मैले सबै कुरा तयार पारिराखेको छु।”

20तब सारा समुदायतिर फर्केर दाऊदले भने, “अब परमप्रभु तिमीहरूका परमेश्‍वरको प्रशंसा गर।” यसैले सारा समुदायले आफ्‍ना पुर्खाहरूका परमेश्‍वरको प्रशंसा गरे। तिनीहरूले परमप्रभु र राजाको सामु घोप्‍टो परी साष्‍टाङ्ग दण्‍डवत्‌ गरे।

21भोलिपल्‍ट तिनीहरूले परमप्रभुको निम्‍ति बलिदान चढ़ाए, र उहाँलाई होमबलि गरी एक हजार साँढ़े, एक हजार भेड़ा, एक हजार थुमा, र तिनका साथसाथै तोकिएको अर्घ-बलिसित इस्राएलको निम्‍ति अरू प्रशस्‍त बलिदान चढ़ाए।

22त्‍यसरी ठूलो आनन्‍दसित परमप्रभुको सामु तिनीहरूले त्‍यस दिन खानपान गरे।

22त्‍यसपछि तिनीहरूले दोस्रो खेप दाऊदका छोरा सोलोमन राजालाई स्‍वीकार गरे, र परमप्रभुको सामु तिनलाई राजा र सादोकलाई चाहिँ पूजाहारी अभिषेक गरे।

23यसरी सोलोमन आफ्‍ना पिता दाऊदको सट्टा परमप्रभुको सिंहासनमा राजा भएर विराजमान गरे। तिनको उन्‍नति भयो र सबै इस्राएलले तिनको हुकुम पालन गरे।

24सबै अधिकृतहरू र योद्धाहरू र दाऊद राजाका सबै छोराहरूले पनि सोलोमन राजालाई आफ्‍नो राजभक्ति देखाउने प्रतिज्ञा गरे।

25सारा इस्राएलका नजरमा परमप्रभुले सोलोमनलाई अति उच्‍च तुल्‍याउनुभयो, र उहाँले तिनलाई यस्‍तो राजकीय ऐश्‍वर्य दिनुभयो, कि त्‍यस्‍तो ऐश्‍वर्य तिनीअघि इस्राएलमा कुनै राजालाई दिनुभएको थिएन।

26यिशैका छोरा दाऊदले सारा इस्राएलमाथि राज्‍य गरेका थिए, र तिनले इस्राएलमाथि चालीस वर्ष राज्‍य गरे

27हेब्रोनमा सात वर्ष र यरूशलेममा तेत्तीस वर्ष तिनले राज्‍य गरे।

28तिनी धन-सम्‍पत्ति र मानले पूर्ण भई पूरा उमेर पुगेर वृद्धावस्‍थामा मरे। तिनीपछि तिनका छोरा सोलोमन राजा भए।

29 [29-30] दाऊद राजाको राज्‍यका घटनाहरू सुरुदेखि आखिरीसम्‍म, तिनको राज्‍यका पूरा-पूरा वर्णन, र तिनका वीरताका कामहरू, र तिनी र इस्राएल र संसारका अरू सबै देशमा बितेका घटनाहरू दर्शी शमूएल, अगमवक्ता नातान र दर्शी गादका पुस्‍तकहरूमा लेखिएका छन्‌।