१ कोरिन्थी 13:1-13 NNRV2012 - Bible AI

1मैले मानिसहरू र स्‍वर्गदूतहरूको भाषामा बोलें तापनि ममा प्रेम छैन भने, म हल्‍ला मचाउने घण्‍टा र झ्‍याइँ-झ्‍याइँ गर्ने झ्‍याली मात्र हुन्‍छु।

2मसँग अगमवाणी बोल्‍ने शक्ति होला, र सबै रहस्‍य र सबै ज्ञानहरू बुझ्‍न सकूँला, र पहाड़हरू हटाउन सक्‍नेसम्‍मको सम्‍पूर्ण विश्‍वास मसित होला, तर ममा प्रेमचाहिँ छैन भने म केही पनि होइनँ।

3यदि मैले सारा सम्‍पत्ति बाँड़िदिएँ, र मेरो शरीर जलाउनलाई दिइहालें, तर मसित प्रेम छैन भने मलाई केही लाभ हुँदैन।

4प्रेम सहनशील हुन्‍छ र दयालु हुन्‍छ। प्रेमले डाह गर्दैन, न शेखी गर्छ।

5प्रेम हठी हुँदैन, न ढीट हुन्‍छ। प्रेमले आफ्‍नै कुरामा जिद्दी गर्दैन, झर्को मान्‍दैन, खराबीको हिसाब राख्‍दैन।

6प्रेम खराबीमा प्रसन्‍न हुँदैन, तर ठीक कुरामा रमाउँछ।

7प्रेमले सबै कुरा सहन्‍छ, सबै कुराको पत्‍यार गर्छ, सबै कुरामा आशा राख्‍छ, सबै कुरामा स्‍थिर रहन्‍छ।

8प्रेमको कहिल्‍यै अन्‍त्‍य हुँदैन। अगमवाणीहरू बितेर जानेछन्, भाषाहरू बन्‍द हुनेछन्, ज्ञान टलिजानेछ।

9हाम्रो ज्ञान अपूर्ण छ, हाम्रो अगमवाणी अपूर्ण छ।

10तर जब सिद्धताचाहिँ आउनेछ, तब अपूर्णता टलिजानेछ।

11जब म बालक थिएँ तब बालकजस्‍तै बोल्‍थें, बालकले जस्‍तो विचार गर्थें, बालकले जस्‍तै तर्क गर्थें, तर जब म जवान भएँ तब बालकको चाल छोडिदिएँ।

12अहिले हामी ऐनामा जस्‍तै धमिलोसँग देख्‍छौं, तर त्‍यस बेलाचाहिँ छर्लङ्ग देख्‍नेछौं। अहिले म थोरै मात्र बुझ्‍दछु, त्‍यस बेलाचाहिँ पूरै बुझ्‍नेछु, जसरी म पनि पूर्ण रूपले चिनिएको छु।

13अब विश्‍वास, आशा, प्रेम, यी तीन रहन्‍छन्, तर यिनमा सर्वोत्तमचाहिँ प्रेम नै हो।

e>