१ कोरिन्थी 4:1-21 NNRV2012 - Bible AI

1यसरी मानिसले हामीहरूलाई ख्रीष्‍टका सेवक र परमेश्‍वरका रहस्‍यहरूका भण्‍डारे ठान्‍नुपर्दछ।

2त्‍यसबाहेक यो आवश्‍यक छ, कि भण्‍डारेहरू विश्‍वासयोग्‍य ठहरिनुपर्छ।

3तर तिमीहरूबाट वा मानिसको कुनै अदालतबाट मेरो इन्‍साफ हुनु, यो त मेरो निम्‍ति अति सानो कुरो हो, म आफै पनि आफ्‍नो इन्‍साफ गर्दिनँ।

4मेरो आफ्‍नै विरुद्धमा केही छ भन्‍ने मलाई थाहा छैन, तर त्‍यसले मलाई निर्दोष साबित गर्दैन। मेरो न्‍याय गर्ने त प्रभु नै हुनुहुन्‍छ।

5यसकारण तोकिएको समयभन्‍दा अघि न्‍याय नगर, प्रभु आउञ्‍जेल पर्ख। उहाँले अँध्‍यारोमा लुकेका कुराहरूलाई प्रकाशमा ल्‍याउनुहुनेछ, र मानिसका हृदयका अभिप्रायहरू प्रकट गरिदिनुहुनेछ। तब हरेक मानिसले परमेश्‍वरबाट आफ्‍नो प्रशंसा पाउनेछ।

6भाइ हो, मैले आफ्‍नो र अपोल्‍लोसको उदाहरण दिएर, तिमीहरूका भलाइको निम्‍ति यी सब कुरा लेखेको छु, ताकि हामीबाट पवित्र धर्मशास्‍त्रअनुसार तिमीहरू जिउन सिक, र तिमीहरूमध्‍ये कोही पनि एक अर्काको विरुद्धमा घमण्‍डले नफुल।

7किनभने अरूहरूभन्‍दा तिमीहरू कुन कुरामा फरक छौ? तिमीहरूसित के छ, जो तिमीहरूले पाएका होइनौ? अनि तिमीहरूले त्‍यो पाएका छौ भने त्‍योचाहिँ वरदान होइनजस्‍तै गरी किन तिमीहरू घमण्‍डले फुल्‍दछौ?

8तिमीहरू तृप्‍त भइसकेका छौ। तिमीहरू धनी भइसकेका छौ। हामीविना नै तिमीहरू राजा भएका छौ। तिमीहरूले साँच्‍चै राज्‍य गरेका भए हुन्‍थ्‍यो, ताकि हामी पनि तिमीहरूसँगै राज्‍य गर्न सकौं!

9किनभने मलाई यस्तो लाग्दछ परमेश्‍वरले हामी प्रेरितहरूलाई मृत्युदण्ड पाएकाहरूलाई जस्तै सबैभन्दा पछि प्रदर्शनमा राख्‍नुभएकोछ। किनकि संसार, स्‍वर्गदूतहरू र मानिसहरूका निम्‍ति हामी तमाशा भएका छौं।‍

10हामी ख्रीष्‍टको खातिर मूर्ख छौं, तर तिमीहरू त ख्रीष्‍टमा बुद्धिमान्‌ छौ। हामी दुर्बल छौं, तर तिमीहरू बलिया छौ। तिमीहरूको आदर छ, तर हाम्रोचाहिँ अनादर।

11यस घड़ीसम्‍म हामी भोका र प्‍यासा छौं, नाङ्गा छौं, कुटाइ खाँदैछौं र घरविहीन छौं।

12आफ्‍नै हातले काम गरेर हामी मेहनत गर्छौं। अपमानित हुँदा हामी आशीर्वाद दिन्‍छौं। सताइँदा हामी सहन्‍छौं।

13हाम्रो बदनाम हुँदा प्रेमपूर्वक जवाफ दिन्‍छौं। अहिलेसम्‍म हामी संसारका फोहोर र पृथ्‍वीका कसिङ्गर बनेका छौं।

14तिमीहरूलाई शर्ममा पार्नलाई यी कुरा मैले लेखेको होइनँ, तर मेरा प्‍यारा बालकहरूलाई जस्‍तै अर्ती दिनलाई हो।

15किनकि ख्रीष्‍टमा तिमीहरूका दश हजार शिक्षकहरू भए पनि तिमीहरूका धेरै पिता त छैनन्‌। किनकि सुसमाचारद्वारा ख्रीष्‍ट येशूमा म तिमीहरूका पिता बनें।

16यसकारण तिमीहरू मेरा अनुसरण गर्नेहरू होओ भनी म तिमीहरूलाई आग्रह गर्दछु।

17यसैले तिमीहरूकहाँ तिमोथीलाई पठाउँदैछु। तिनी प्रभुमा मेरा प्‍यारा र विश्‍वासी छोरा हुन्‌। मैले सबै ठाउँमा सारा मण्‍डलीमा सिकाएबमोजिम ख्रीष्‍टमा मेरो जीवन कस्‍तो छ, सो तिनले तिमीहरूलाई सम्‍झना गराउनेछन्‌।

18म तिमीहरूकहाँ नआउने भन्‍ठानेर कति जना अहङ्कारी भएका छन्‌।

19तर प्रभुको इच्‍छा भयो भने म तिमीहरूकहाँ चाँड़ै आउनेछु, र ती अहङ्कारी मानिसहरूको कुरा होइन, तर तिनीहरूको शक्तिचाहिँ के रहेछ त्‍यसको पत्ता लाउनेछु।

20किनकि परमेश्‍वरको राज्‍य कुरामा होइन, तर शक्तिमा हुन्‍छ।

21तिमीहरू के इच्‍छा गर्छौ? म तिमीहरूकहाँ छड़ी लिएर आऊँ, कि नम्रताको आत्‍मामा प्रेमसाथ?

>