1तिमीहरूका बीचमा व्यभिचार छ भन्ने कुरा पक्का गरी सुनिएको छ, यस्तो व्यभिचार जो अन्यजातिहरूमा पनि हुँदैन। तिमीहरूमध्ये कुनै एक जनाले आफ्नै बुबाकी पत्नी राखेको छ भन्ने सुनेको छु।
2तिमीहरूचाहिँ घमण्ड गर्छौ। तिमीहरूले त शोक गर्नुपर्नेथिएन र? यस्तो काम गर्नेलाई तिमीहरूका बीचबाट हटाओ।
3म शरीरमा उपस्थित नभए पनि आत्मामा तिमीहरूसँग छु। म उपस्थित भएझैँ गरी यस्तो काम गर्नेको न्याय मैले गरिसकेको छु।
4जब तिमीहरू हाम्रा प्रभु येशूको नाउँमा भेला हुन्छौ र म आत्मामा तिमीहरूसँग उपस्थित हुन्छु, अनि हाम्रा प्रभु येशूको शक्तिमा,
5त्यस मानिसलाई शैतानकहाँ सुम्पिदेओ, ताकि त्यसको पापमय स्वभाव नाश होस्, अनि प्रभुको दिनमा त्यसको आत्माचाहिँ बाँचोस्।
6तिमीहरूको घमण्ड ठीक होइन। अलिकता खमिरले जम्मै ढिकालाई खमिरा बनाइहाल्छ भन्ने के तिमीहरूलाई थाहा छैन?
7नयाँ ढिका बन्नलाई पुरानो खमिरलाई निकाल, किनकि तिमीहरू वास्तवमा अखमिरी नै हौ। हाम्रो निस्तारको थुमा, ख्रीष्टको बलिदान भइसकेको छ।
8यसकारण हामी पुरानो खमिरले, अर्थात् कुकर्म र दुष्टताको खमिरले होइन, तर निष्कपटता र सत्यताको अखमिरी रोटीले चाड मनाऔं।
9मैले मेरो पत्रमा तिमीहरूलाई व्यभिचारीहरूको सङ्गत नगर्नू भनेर लेखेको थिएँ।
10त्यसको अर्थ, यस संसारका व्यभिचारीहरू, लोभीहरू, वा लुटाहाहरू, वा मूर्तिपूजकहरूसँग बिलकुलै सङ्गत नगर्नू भनेको होइन, नत्रता तिमीहरू संसारबाट नै निस्किजानुपर्थ्यो।
11तर यस्ताको सङ्गत नगर्नू भनेर मैले तिमीहरूलाई लेखे, जसले आफैलाई विश्वासी भाइ हुँ भनी भन्छ, तर वास्तवमा जो व्यभिचारी, वा लोभी, वा मूर्तिपूजक, वा निन्दा गर्ने, वा मतवाला वा लुटाहा हो। त्यस्तो मानिससँग त खान पनि नबस।
12किनकि बाहिरकाहरूको इन्साफ गर्नु मलाई के खाँचो? के तिमीहरूले मण्डली भित्रकाहरूको न्याय गर्नुपर्दैन र?
13बाहिरकाहरूको न्याय परमेश्वरले नै गर्नुहुन्छ। “तिमीहरूले आफ्नो बीचबाट दुष्ट मानिसलाई निकालिदेओ।”