1अब मूर्तिहरूलाई चढ़ाएको खानेकुरा बारेमा: हामी जान्दछौ, कि हामी सबैसित ज्ञान छ। ज्ञानले घमण्ड ल्याउँछ, तर प्रेमले उन्नति गराउँछ।
2यदि कसैले “केही जान्दछु” भनी ठान्छ भने, उसले जति जान्नुपर्ने हो त्यति जानेको हुँदैन।
3तर कसैले परमेश्वरलाई प्रेम गर्दछ भने त्यसलाई परमेश्वरले चिन्नुहुन्छ।
4यसकारण मूर्तिहरूलाई चढ़ाएका खानेकुरा खाने विषयमा चाहिँ हामी जान्दछौं, कि मूर्तिको कुनै अस्तित्व नै छैन, र एक परमेश्वरबाहेक अरू छैन।
5आकाशमा वा पृथ्वीमा नाम मात्रका देवदेवताहरू छन् होला। (साँच्चै यस्ता धेरै “देवदेवताहरू” र “प्रभुहरू” छन्।)
6तर हाम्रा निम्ति त एउटै परमेश्वर पिता हुनुहुन्छ, जसबाट सबै थोक हुन आए, अनि उहाँकै निम्ति हामी जिउँदछौं— हाम्रा निम्ति एउटै प्रभु, येशू ख्रीष्ट हुनुहुन्छ, जसद्वारा सबै कुरा हुन आए, र जसद्वारा हामी जिउँदछौं।
7तापनि सबै मानिसमा त यो ज्ञान हुँदैन। तर कति मानिसहरूलाई मूर्तिपूजाको यति बानी बसेको हुन्छ, कि तिनीहरूले यस्तो भोजन खाँदा साँच्चै मूर्तिलाई चढ़ाएको भनिठान्छन्, र तिनीहरूको विवेक दुर्बल भएकोले अशुद्ध बन्छ।
8तर खानेकुराले हामीलाई परमेश्वरको दृष्टिमा बढ़ी ग्रहणयोग्य बनाउँदैन। नखाँदैमा कुनै हानि छैन र खाँदैमा कुनै लाभ छैन।
9तर होशियार होऔ, तिमीहरूको यो स्वतन्त्रता दुर्बलहरूका निम्ति ठोकरको कारण नबनोस्।
10किनभने यदि कुनै दुर्बल विवेक भएको मानिसले तिमी ज्ञान भएको मानिसलाई मूर्तिको मन्दिरमा खान बसेको देख्यो भने, मूर्तिलाई चढ़ाएको खानेकुरा खाने त्यसले साहस नगर्ला र?
11अनि तिम्रो ज्ञानले गर्दा त्यो दुर्बल भाइ नष्ट हुन्छ, जसको निम्ति ख्रीष्ट मर्नुभयो।
12अब यसरी आफ्ना भाइहरूका विरुद्धमा पाप गर्दा र तिनीहरूका दुर्बल विवेकलाई चोट लाउँदा तिमीहरू ख्रीष्टको विरुद्धमा पाप गर्दछौ।
13यसकारण खानेकुराले मेरो भाइलाई बाधा पार्छ भने म आफ्नो भाइलाई बाधा नपार्नलाई कहिल्यै मासु खानेछैनँ।