१ तिमोथी 2:1-15 NNRV2012 - Bible AI

1सर्वप्रथम म आग्रह गर्दछु, कि सबै मानिसहरूका निम्‍ति नम्र-निवेदन, प्रार्थना र मध्‍यस्‍थ-बिन्‍ती र धन्‍यवाद चढ़ाइऊन्,

2राजाहरू र सबै उच्‍च पदमा भएकाहरूका निम्‍ति पनि, ताकि हामी निर्धक्‍क र शान्‍तिपूर्ण भएर हरप्रकारले धार्मिक र आदरणीय जीवन बिताउन सकौं।

3हाम्रा मुक्तिदाता परमेश्‍वरको दृष्‍टिमा यो असल र ग्रहणयोग्‍य छ।

4सबै मानिसहरूले मुक्ति पाऊन्‌ र तिनीहरू सत्‍यको ज्ञानमा आऊन्‌ भन्‍ने इच्‍छा उहाँ गर्नुहुन्‍छ।

5किनकि परमेश्‍वर एउटै हुनुहुन्‍छ, परमेश्‍वर र मानिसहरूका बीचमा मध्‍यस्‍थ पनि एउटै हुनुहुन्‍छ— मानिस, ख्रीष्‍ट येशू।

6उहाँले सबैका छुटकाराका मोलको निम्‍ति आफैलाई सुम्‍पिदिनुभयो, जुन कुराको गवाही ठीक समयमा दिइयो।

7यसको खातिर म प्रचारक र प्रेरित नियुक्त भएँ, र विश्‍वास र सत्‍यतामा अन्‍यजातिहरूका निम्‍ति चाहिँ शिक्षक। म साँचो भन्‍दछु, म ढाँट्‌दिनँ।

8यसकारण सबै ठाउँमा पुरुषहरूले पवित्र हात उठाएर विनाक्रोध र विनाविवाद प्रार्थना गरून्‌ भन्‍ने म चाहन्‍छु।

9यसै गरी म चाहन्‍छु, कि स्‍त्रीहरूले सरलता र भद्रतासाथ सुहाउँदो वस्‍त्र पहिरून्, केशको बढ़ी सिङ्गार गरेर, सुन, मोती र बहुमूल्‍य वस्‍त्रहरू पहिरेर होइन,

10तर असल कामद्वारा सुसज्‍जित होऊन्, जो परमेश्‍वरको भक्ति गर्ने स्‍त्रीहरूलाई सुहाउँछ।

11स्‍त्रीले पूर्ण दीनतासाथ चूपचाप बसेर सिकून्‌।

12तर स्‍त्रीले पुरुषलाई सिकाउने र पुरुषमाथि अधिकार जमाउने काममा म अनुमति दिन्‍नँ, तर तिनी चूपचापै रहून्‌।

13किनभने आदम नै पहिले सृजिएका हुन्, त्‍यसपछि हव्‍वा।

14आदम छलिएका होइनन्, तर स्‍त्रीचाहिँ छलिएर अपराधमा फसेकी हुन्‌।

15तरै पनि, यदि तिनी सुशीलतासाथ विश्‍वास, प्रेम र पवित्रतामा रहिन्‌ भने, बालक जन्‍ममा तिनी बचाइनेछिन्‌।

Scripture Text © Nepal Bible Society 1997, 2006, 2009, 2012
/div>