1यसकारण जब हामीले सहन सकेनौं, तब एथेन्समा एकलै छोडिन हामी राजी भयौं,
2र तिमीहरूलाई विश्वासमा स्थिर गराउन र अर्ती-उपदेश दिन, परमेश्वरमा ख्रीष्टका सुसमाचारको सेवक हाम्रा भाइ तिमोथीलाई हामीले पठायौं,
3ताकि यी कष्टहरूले गर्दा कोही नडग्मगाओस्। तिमीहरू आफैलाई थाहा छ, कि यसैको निम्ति हामी खटाइएका हौं।
4किनकि जब हामी तिमीहरूसँग थियौं, तब तिमीहरूले कष्ट भोग्नैपर्छ भनी हामीले अघिबाटै भनेको थियौं। यो साँच्चै हुन पनि आयो, सो तिमीहरूलाई थाहा छ।
5यसकारण मैले अझै सहन नसक्दा परीक्षा गर्नेले कुनै किसिमले तिमीहरूलाई परीक्षामा पार्यो कि भनी र हाम्रो परिश्रम व्यर्थै जाला कि भन्ने डरले तिमीहरूको विश्वास थाहा पाउनलाई मैले तिनलाई पठाएँ।
6तर अहिले तिमोथी तिमीहरूकहाँबाट हामीकहाँ आएर तिमीहरूको विश्वास र प्रेमको असल खबर हामीलाई सुनाए। तिमीहरूले हामीलाई भेट्न ज्यादै इच्छा गरी सधैँ प्रेमसँग हाम्रो सम्झना गर्दछौ भन्ने खबर तिनले दिए। हामी पनि तिमीहरूलाई भेट्न त्यतिकै चाहना गर्दछौं।
7त्यसैकारण भाइ हो, तिमीहरूका विश्वासको कारणले हाम्रा सारा दुःख र क्लेशमा तिमीहरूका विषयमा हामीले सान्त्वना पाएका छौं।
8किनकि यदि तिमीहरू प्रभुमा दह्रिला रह्यौ भने हामी जीवित रहन्छौं।
9सबै आनन्द जो तिमीहरूका खातिर परमेश्वरमा हामी अनुभव गर्छौं त्यसको निम्ति र तिमीहरूका लागि हामी परमेश्वरलाई के धन्यवाद दिन सक्छौं र?
10तिमीहरूलाई आमनेसामने भेटेर तिमीहरूका विश्वासको कमी पूरा गर्ने हेतुले हामी दिनरात जोशका साथ प्रार्थना गर्छौं।
11अब हाम्रा परमेश्वर र पिता स्वयम्ले र हाम्रा प्रभु येशूले तिमीहरूकहाँ आउने हाम्रो बाटो खोलिदेऊन्।
12जसरी हामी तिमीहरूलाई प्रेम गर्दछौं त्यसरी नै प्रभुले तिमीहरूलाई एकले-अर्कासँग र सबै मानिससँग प्रेममा बढ्ने र प्रशस्त भइरहने तुल्याऊन्,
13यस हेतुले कि उहाँका सबै सन्तहरूका साथमा हाम्रा प्रभु येशू ख्रीष्टको पुनरागमन हुँदा उहाँले हाम्रा परमेश्वर पिताको सामुन्ने तिमीहरूका हृदय पवित्र र निष्खोट तुल्याई स्थिर गराऊन्।