१ थेसलोनिकी 5:1-28 NNRV2012 - Bible AI

1तर भाइ हो, समय र बेलाको विषयमा तिमीहरूलाई केही लेख्‍ने आवश्‍यकता छैन।

2किनकि तिमीहरू आफै राम्ररी जान्‍दछौ, प्रभुको दिन त रातमा चोर आएझैँ आउनेछ।

3जब मानिसहरू “शान्‍ति र सुरक्षा” भनिरहेका हुन्‍छन्, तब गर्भवती स्‍त्रीलाई बेथा लागेझैँ अचानक तिनीहरूमाथि विनाश आइलाग्‍छ, र तिनीहरू कुनै रीतिले उम्‍कनेछैनन्‌।

4तर भाइ हो, तिमीहरू अन्‍धकारमा छैनौ, तसर्थ त्‍यस दिनले तिमीहरूलाई चोरले जस्‍तै चकित पार्नेछैन।

5किनकि तिमीहरू सबै ज्‍योतिका सन्‍तान र दिनका सन्‍तान हौ। हामी रातका र अन्‍धकारका सन्‍तान होइनौं।

6यसकारण अरूहरूझैँ हामी नसुतौं, तर जागा बसौं, र सचेत होऔं।

7किनकि सुत्‍नेहरू रातमा सुत्‍छन्, र मद्य पिएर मात्‍नेहरू रातैमा मात्‍छन्‌।

8तर हामीचाहिँ दिनका हुनाले हामी सचेत होऔं, र विश्‍वास र प्रेमका छातीको पाता र मुक्तिका आशाको टोप लगाऔं।

9किनकि परमेश्‍वरले हामीलाई क्रोधको निम्‍ति होइन, तर हाम्रा प्रभु येशू ख्रीष्‍टद्वारा मुक्ति प्राप्‍त गर्नलाई अघिबाटै नियुक्त गर्नुभएको हो।

10उहाँ हाम्रा निम्‍ति मर्नुभयो, ताकि हामी जागा बसौं वा सुतेका होऔं, हामी सबै उहाँकै साथमा जिउन सकौं।

11यसकारण एकले-अर्कोलाई प्रोत्‍साहन देओ, र एकले-अर्कोलाई दह्रिलो पार्ने काम गर, जस्‍तो तिमीहरू गर्दै पनि छौ।

12तर भाइ हो, हामी तिमीहरूलाई आग्रहपूर्वक बिन्‍ती गर्दछौं, कि तिमीहरूका माझमा परिश्रम गर्नेहरू, जो प्रभुमा अगुवाहरू हुन्‌ र तिमीहरूलाई चेताउनी दिन्‍छन्, तिनको आदर गर,

13र तिनीहरूका कामको खातिर तिनीहरूलाई प्रेमसाथ अति उच्‍च आदर गर। तिमीहरू आपसमा मेलमिलापमा बस।

14भाइ हो, हामी तिमीहरूलाई अर्ती दिन्‍छौं कि अल्‍छेहरूलाई चेताउनी देओ। हरेस खानेहरूलाई दिलासा देओ। कमजोरीहरूलाई मदत गर। ती सबैसँग सहनशीलता देखाओ।

15याद राख, कसैले खराबीको बदलामा खराबी नगरोस्, तर एउटाले अर्को र सबैसँग सधैँ भलाइ गर्ने चेष्‍टा गर।

16सधैँ आनन्‍दित रहो।

17निरन्‍तर प्रार्थना गरिरहो।

18सबै परिस्‍थितिमा धन्‍यवाद देओ, किनकि ख्रीष्‍ट येशूमा तिमीहरूका लागि परमेश्‍वरको इच्‍छा यही हो।

19पवित्र आत्‍मालाई ननिभाओ।

20अगमवाणीलाई तुच्‍छ नठान।

21सबै कुराको जाँच गर। जुन कुरा असल छ त्‍यसैमा दृढ़ रहो।

22सबै किसिमका खराबीबाट अलग बस।

23शान्‍तिका परमेश्‍वर आफैले सम्‍पूर्ण रूपले तिमीहरूलाई चोखा तुल्‍याऊन्, र तिमीहरूका समस्‍त आत्‍मा, प्राण र शरीर हाम्रा प्रभु येशू ख्रीष्‍टको आगमनमा निष्‍कलङ्क रहून्‌।

24तिमीहरूलाई बोलाउनुहुने विश्‍वासयोग्‍य हुनुहुन्‍छ, उहाँले यो गर्नु नै हुनेछ।

25भाइ हो, हाम्रा निम्‍ति प्रार्थना गर।

26सबै भाइहरूलाई पवित्र चुम्‍बनले अभिवादन गर।

27म तिमीहरूलाई प्रभुमा अनुरोध गर्दछु कि यो पत्र पढ़ेर सबै भाइहरूलाई सुनाइदेओ।

28हाम्रा प्रभु येशू ख्रीष्‍टको अनुग्रह तिमीहरूमा रहोस्‌।

e>