१ राजाहरू 12:1-33 NNRV2012 - Bible AI

1रहबाम शकेममा गए, किनकि सारा इस्राएल तिनलाई राजा बनाउन त्‍यहाँ गएका थिए।

2जब नबातका छोरा यारोबामले यो कुरा सुने (तिनी अहिलेसम्‍म मिश्रदेशमा नै थिए, जहाँ तिनी सोलोमन राजादेखि भागेर गएका थिए), तब तिनी मिश्रदेशबाट फर्के।

3यसकारण मानिसहरूले यारोबामलाई बोलाइपठाए, र तिनी र इस्राएलका जम्‍मै समुदाय रहबामकहाँ गएर तिनलाई भने,

4“तपाईंका पिताले हामीलाई गह्रौँ जुवा बोकाइदिनुभएको थियो, तर उहाँले हामीमाथि लगाउनुभएको यो कठोर परिश्रम र गह्रौँ जुवालाई तपाईंले हलुङ्गो गरिदिनुहोस्, र हामी तपाईंको सेवा गर्नेछौं।”

5रहबामले जवाफ दिए, “मलाई तीन दिनको समय देओ, र फेरि आओ।” यसैले मानिसहरू गइहाले।

6तब राजा रहबामले तिनका पिता सोलोमन जीवित छँदा तिनका सेवा गर्ने धर्म-गुरुहरूसित सल्‍लाह मागे। तिनले सोधे, “यी मानिसहरूलाई मैले कस्‍तो जवाफ दिनुपर्ने हो?”

7तिनीहरूले भने, “यदि आज हजूर यी मानिसहरूका सेवक भएर तिनीहरूको सेवा गर्नुहुन्‍छ र अहिले तिनीहरूले चाहेको जवाफ हजूरले तिनीहरूलाई दिनुहुन्‍छ भने, तिनीहरू सधैँ हजूरका सेवकहरू हुनेछन्‌।

8तर ती धर्म-गुरुहरूले दिएको सल्‍लाह तिनले इन्‍कार गरे, र तिनले आफूसँग बढ़ेका र तिनको सेवा गर्ने जवान मानिसहरूको सल्‍लाह लिए।

9तिनले तिनीहरूलाई सोधे, “तिमीहरूको सल्‍लाह के छ? ‘तपाईंका पिताले हामीहरूमाथि बोकाउनुभएको जुवा हलुङ्गो गरिदिनुहोस्‌’ भन्‍ने यी मानिसहरूले बिन्‍ती गरेकामा म कस्‍तो जवाफ दिऊँ?”

10तिनीसँग बढ़ेका ती जवान मानिसहरूले जवाफ दिए, “‘हजूरका पिताले हामीमाथि गह्रौँ जुवा बोकाइदिनुभएको थियो, र त्‍यो हलुङ्गो पारिदिनुहोस्‌’ भनी हजूरलाई भन्‍ने यी मानिसहरूलाई भन्‍नुहोस्, ‘मेरो कान्‍छी औँली मेरा पिताको कम्‍मरभन्‍दा मोटो छ।

11मेरा पिताले तिमीहरूमाथि गह्रौँ जुवा बोकाइदिनुभएको थियो। म त्‍यो अझै गह्रौँ पारिदिनेछु। मेरा पिताले तिमीहरूलाई बेतले कुट्‌न लगाउनुहुन्‍थ्‍यो, तर म तिमीहरूलाई बिच्‍छीहरूले डस्‍न लगाउनेछु’।”

12“तीन दिनपछि मकहाँ आओ” भनी राजाले भनेझैँ यारोबाम र ती सबै मानिसहरू रहबामकहाँ फर्केर आए।

13राजाले ती मानिसहरूलाई कड़ा जवाफ दिए। धर्म-गुरुहरूले दिएका सल्‍लाह तिनले इन्‍कार गर्दै

14ती जवानहरूले दिएको सल्‍लाह मानेर भने, “मेरा पिताले त तिमीहरूको जुवा गह्रौँ पारिदिनुभएको थियो। म त्‍यो अझै गह्रौँ पारिदिनेछु। मेरा पिताले तिमीहरूलाई बेत लगाउनुहुन्‍थ्‍यो, तर म तिमीहरूलाई बिच्‍छीहरूले डस्‍न लगाउनेछु।”

15यसरी राजाले ती मानिसहरूको कुरा सुनेनन्, किनकि शीलोका अहियाहद्वारा नबातका छोरा यारोबामलाई उहाँले भन्‍नुभएको वचन पूरा हुनलाई परमप्रभुले यस्‍तो स्‍थिति ल्‍याउनुभएको थियो।

16जब राजाले तिनीहरूका कुरा नसुनेका सारा इस्राएलले देखे, तब तिनीहरूले राजालाई जवाफ दिए, “दाऊदमा हाम्रो के हिस्‍सा छ र? यिशैका छोरामा हाम्रो के भाग छ? हे इस्राएली हो, आ-आफ्‍नो पालमा जाओ, हे दाऊद, तिमी आफ्‍नै घर सम्हाल।” यसैकारण इस्राएलीहरू आ-आफ्‍नो घर लागे,

17तर यहूदाका सहरहरूमा बस्‍ने इस्राएलीहरूमाथि रहबामले अझै शासन गरे।

18राजा रहबामले बेगार काममा लगाउने मानिसहरूका जिम्‍मावाल अदोनीरामलाई पठाए, तर सबै इस्राएलीहरूले तिनलाई ढुङ्गाले हानेर मारे। तापनि राजा रहबामचाहिँ आफ्‍नो रथमा चढ़ेर यरूशलेममा भागेर जान सफल भए।

19अनि आजको दिनसम्‍म दाऊदका घरानाको विरुद्धमा इस्राएल बागी भएको छ।

20जब यारोबाम फर्केर आएका छन्‌ भनी सबै इस्राएलीहरूले सुने, तब तिनीहरूले मानिसहरू पठाएर तिनलाई सभामा बोलाए, र सारा इस्राएलमाथि तिनलाई राजा तुल्‍याए। यहूदाको कुल मात्र दाऊदका घरानाको राजभक्त भइरहे।

21जब रहबाम यरूशलेममा आइपुगे, तब सोलोमनका छोरा रहबामको निम्‍ति राज्‍य फिर्ता लिन इस्राएलका घरानाको विरुद्धमा लड़ाइँ गर्न यहूदा र बेन्‍यामीनका कुलका एक लाख असी हजार योद्धाहरूलाई तिनले भेला गराए।

22तर परमेश्‍वरका जन शमायाहकहाँ परमेश्‍वरको यो वचन आयो:

23“सोलोमनको छोरो यहूदाको राजा रहबामलाई र यहूदा र बेन्‍यामीनका सारा घराना र बाँकी मानिसहरूलाई भन्,

24‘परमप्रभु यसो भन्‍नुहुन्‍छ: तिमीहरू आफ्‍ना दाजुभाइ इस्राएलको विरुद्धमा युद्ध गर्न उक्‍लेर नजाओ। तिमीहरू हरेक आ-आफ्‍नो घर फर्केर जाओ, किनकि यो काम मैले गरेको हो’।” यसैले परमप्रभुले तिनीहरूलाई हुकुम गर्नुभएझैँ तिनीहरूले परमप्रभुको वचन पालन गरेर तिनीहरू आ-आफ्‍नो घर गए।

25त्‍यसपछि यारोबामले एफ्राइमको पहाड़ी देशमा भएको शकेमलाई किल्‍ला बनाएर सुरक्षित पारे, र त्‍यहीँ नै बसोबास गरे। त्‍यहाँबाट गएर तिनले पनीएल सहर निर्माण गरे।

26यारोबामले आफ्‍नो मनमा यस्‍तो विचार गरे, “यो राज्‍य दाऊदको घरानातिरै फर्किजान्‍छ होला।

27यदि यी मानिसहरू यरूशलेममा परमप्रभुको मन्‍दिरमा बलिदान चढ़ाउन गए भने, तिनीहरूका मन आफ्‍ना प्रभु यहूदाका राजा रहबामतिर राजभक्त हुनेछन्‌। तिनीहरूले मलाई मारेर राजा रहबामतिर फर्किजानेछन्‌।”

28तब सरसल्‍लाह लिएर राजाले सुनका दुई वटा बाछा बनाए। तिनले मानिसहरूलाई भने, “तिमीहरूलाई यरूशलेममा जान अति कष्‍ट हुन्‍छ। हे इस्राएल हो, तिमीहरूलाई मिश्रदेशबाट निकालेर ल्‍याएका तिमीहरूका देवताहरू त यहाँ पो छन्‌।”

29तिनले एउटा बेथेलमा र अर्कोचाहिँ दानमा स्‍थापना गरे।

30अनि यही कुरा इस्राएलमा पाप भयो। मानिसहरू दानसम्‍मै त्‍यहाँ भएको देवतालाई पूजा गर्न जान्‍थे।

31यारोबामले डाँड़ाका पूजा गर्ने थानहरू पनि बनाए, र ती लेवीको कुलका नभए तापनि सब थरीका मानिसहरूबाट पूजाहारीहरू नियुक्त गरे।

32तिनले आठौँ महिनाको पन्‍ध्रौँ दिनमा यहूदामा भएको चाड़जस्‍तै एउटा चाड़ ठहराए, र वेदीमा बलिदानहरू चढ़ाए। बेथेलमा आफूले बनाएका बाछाहरूका निम्‍ति तिनले बलिदान चढ़ाए। बेथेलमा आफूले बनाएका डाँड़ा-डाँड़ाका पूजा गर्ने थानहरूका पूजाहारीहरू पनि नियुक्त गरे।

33आठौँ महिनाको पन्‍ध्रौँ दिनमा, तिनी आफैले तोकेको महिनामा बेथेलमा आफूले निर्माण गरेको वेदीमा तिनले बलिदान चढ़ाए। यसरी इस्राएलीहरूका निम्‍ति तिनले चाड़ ठहराए, र बलिदान चढ़ाउनलाई आफै वेदीमा उक्‍लेर गए।

>