१ राजाहरू 3:1-28 NNRV2012 - Bible AI

1सोलोमनले मिश्रदेशका राजा फारोसँग मित्रताको सम्‍बन्‍ध बाँधे, र उनकी छोरीसँग विवाह गरे। आफ्‍नो महल, परमप्रभुको मन्‍दिर र यरूशलेमको चारैपट्टि पर्खाल बनाई नसकुञ्‍जेल सोलोमन राजाले तिनलाई दाऊदको सहरमा ल्‍याएर राखे।

2मानिसहरूले चाहिँ अझसम्‍म डाँड़ाका थानहरूमा बलिदान चढ़ाउने गर्थे, किनभने त्‍यस बेलासम्‍म परमप्रभुका नाउँको निम्‍ति कुनै मन्‍दिर निर्माण गरिएको थिएन।

3सोलोमन आफैले चाहिँ आफ्‍ना पिता दाऊदले बनाएका धार्मिक-विधानहरूको पालन गर्दै परमप्रभुलाई नै प्रेम देखाए। तर तिनले डाँड़ाका थानहरूमा बलि चढ़ाएर धूप बाले।

4सोलोमन राजा गिबोनमा बलिदान चढ़ाउनलाई गए, किनकि डाँड़ाका थानहरूमा सबैभन्‍दा मुख्‍य स्‍थान यही थियो। त्‍यहाँ वेदीमा तिनले एक हजार होमबलि चढ़ाए।

5गिबोनमा परमप्रभु परमेश्‍वर राती सपनामा देखा परेर तिनलाई भन्‍नुभयो, “तिमी मसित जे माग्‍छौ, त्‍यो दिनेछु।”

6सोलोमनले जवाफ दिए, “तपाईंले आफ्‍नो दास मेरा पिता दाऊदलाई ठूलो दया देखाउनुभयो, किनभने उहाँ तपाईंप्रति विश्‍वासयोग्‍य हुनुहुन्‍थ्‍यो, र धार्मिक र हृदयमा ठीक हुनुहुन्‍थ्‍यो। तपाईंले उहाँप्रति यो ठूलो दया कायम नै गरिरहनुभएको छ, र अब उहाँपछि सिंहासनमा बस्‍नलाई तपाईंले उहाँलाई आज यो दिन एक जना छोरो दिनुभएको छ।

7“अब हे परमप्रभु मेरा परमेश्‍वर, तपाईंले आफ्‍नो दासलाई मेरा पिता दाऊदको सट्टामा राजा तुल्‍याउनुभएको छ। तर म त सानै बालक मात्र छु र मेरो कर्तव्‍य म जान्‍दिनँ।

8म तपाईंको दास, यहाँ तपाईंले चुन्‍नुभएको तपाईंका प्रजाको बीचमा छु, जो असंख्‍य र अनगिन्‍ती छ।

9यसकारण तपाईंको प्रजालाई ठीकसित शासन गर्नलाई बुझ्‍ने मन आफ्‍नो दासलाई दिनुहोस्, र त्‍यसले असल र खराबको भेद छुट्ट्याउन सकोस्‌। किनकि तपाईंको यस ठूलो प्रजालाई कसले शासन गर्न सक्‍छ र?”

10सोलोमनले यो कुरा मागेकामा परमप्रभु प्रसन्‍न हुनुभयो।

11यसकारण परमेश्‍वरले तिनलाई भन्‍नुभयो, “तैंले यो कुरा मागेकोले, र तैंले आफ्‍नो निम्‍ति लामो आयु अथवा धन-सम्‍पत्ति वा तेरा शत्रुहरूको प्राण नमागेको, तर ठीकसित न्‍यायको निधो गर्नलाई बुद्धि मागेको कारणले,

12तैंले मागेको म पूरा गर्नेछु। म तँलाई बुद्धिमान्‌ र निधो गर्न सक्‍ने मन दिनेछु, कि तेरो अघि तँजस्‍तो कहिले कोही भएको छैन, न तेरो पछि कहिल्‍यै अरू कोही हुनेछ।

13यसबाहेक तैंले नमागेका ती कुराहरू, अर्थात्‌ धन-सम्‍पत्ति र मान पनि म तँलाई दिनेछु, यहाँसम्‍म कि तेरो जीवनकालमा राजाहरूमध्‍ये कुनै पनि तेरो बराबरी हुनेछैन।

14अनि तेरो पिता दाऊदले गरेझैँ यदि तँ मेरा मार्गमा हिँड़िस्‌ र मेरा धर्म-विधिहरू र आज्ञाहरू पालन गरिस्‌ भने, म तँलाई दीर्घायु तुल्‍याउनेछु।”

15तब सोलोमन ब्‍यूँझे, र यो त सपना रहेछ भनी तिनले थाहा पाए।

15त्‍यसपछि तिनी यरूशलेममा फर्के, र परमप्रभुका करारको सन्‍दूकको सामु खड़ा भए, र होमबलि र मेलबलि चढ़ाए। तब तिनले आफ्‍ना सबै भारदारहरूलाई भोज दिए।

16त्‍यसपछि दुई जना वेश्‍याहरू राजाको सामुन्‍ने आएर उभिए।

17तीमध्‍ये एक जनाले भनी, “हे मेरा प्रभु, यो आइमाई र म एउटै घरमा बस्‍छौं। र त्‍यहाँ त्‍यो मसँग हुँदा मैले एक जना बालक जन्‍माएँ।

18मेरो बालक जन्‍मेको तीन दिनपछि त्‍यसले पनि बालक जन्‍माई। त्‍यहाँ हामी मात्र थियौं। त्‍यस घरमा हामी दुईबाहेक अरू कोही थिएन।

19“राती यस आइमाईले आफ्‍नो छोरालाई थिचेर मारिछ।

20मध्‍यरातमा त्‍यो उठेर म, हजूरकी दासी निदाएको बेलामा मेरो छेउबाट मेरो छोरा लगेर आफ्‍नो काखमा राखिछ, र आफ्‍नो मरेको छोरालाई चाहिँ मेरो काखमा राखिदिइछ।

21भोलिपल्‍ट बिहानै छोरालाई दूध खुवाउन उठ्‌दा त मैले मेरो छोरालाई मरेको भेट्टाएँ। तर मैले त्‍यसलाई बिहानको उज्‍यालोमा राम्ररी हेर्दा त त्‍यो मैले जन्‍माएको मेरो छोरो होइन रहेछ।”

22त्‍यो अर्की आइमाईले भनी, “होइन, जिउँदोचाहिँ मेरै छोरो हो, तेरो चाहिँ मरेको हो।” तर पहिलीले जिद्दी गरेर भनी, “होइन, मरेको चाहिँ तेरो हो, जिउँदो मेरो हो।” यसरी तिनीहरू राजाको सामुन्‍ने बहस गर्न लागे।

23राजाले भने, “यसले भन्‍छे, ‘जिउँदो छोरो मेरो हो। मरेको तेरो हो’। अनि अर्कीले भन्‍छे, ‘होइन, तेरो छोरोचाहिँ मरेको हो, जिउँदोचाहिँ मेरै हो’।”

24तब राजाले भने, “मलाई एउटा तरवार ल्‍याइदेऊ।” अनि तिनीहरूले राजाको निम्‍ति एउटा तरवार ल्‍याइदिए।

25तब तिनले यस्‍तो हुकुम दिए, “त्‍यस जिउँदो बालकलाई दुई टुक्रा गरी काट, र आधा एउटीलाई र आधा अर्कीलाई देऊ।”

26तब आफ्‍नो छोराको मायाले भरिएर त्‍यस जिउँदो बालककी आमाले राजालाई भनी, “हे प्रभु, त्‍यो जिउँदो बालक त्‍यसलाई नै दिनुहोस्‌। त्‍यसलाई नमार्नुहोस्‌।” तर अर्कीले भनी, “न त मैले न त्‍यसले लैजान पाओस्‌। त्‍यसलाई दुई टुक्रा गरी काट्‌नुहोस्‌।”

27तब राजाले आफ्‍नो न्‍यायको फैसला यसरी सुनाइदिए, “त्‍यो जिउँदो बालक पहिलो आइमाईलाई दिइहाल। त्‍यसलाई नमार। त्‍यसकी आमा त्‍यही हो।”

28जब राजाले दिएको फैसला सारा इस्राएलले सुने, तब राजाप्रति भयको भावना उत्‍पन्‍न भयो, किनभने न्‍याय गरिदिनलाई तिनीसँग परमेश्‍वरबाटको बुद्धि रहेछ भनी तिनीहरूले देखे।