1एक दिन शाऊलका छोरा जोनाथनले आफ्ना हतियार बोक्ने जवान मानिसलाई भने, “आऊ, हामी त्यो डाँड़ाको पल्लोपट्टि भएको पलिश्तीहरूको चौकीतिर जाऔं।” तर तिनले यो कुरा आफ्ना पितालाई भनेनन्।
2त्यस बेला शाऊलले गिबाको छेउनेर मिग्रोनमा भएको अनारको बोटमुनि आफ्नो पाल हालेर बसेका थिए। उनीसँग प्राय: छ सय जना मानिसहरू थिए।
3तीमध्ये अहीतूबका छोरा शीलोमा परमप्रभुका पूजाहारी एलीका छोरा पीनहासका छोरा ईकाबोदको भाइ अहियाह पनि थिए, जसले एपोद लगाएका थिए। जोनाथन गएका कसैलाई थाहा थिएन।
4घाटीको दुवैतिर, जहाँबाट जोनाथन पलिश्तीहरूको चौकीमा जान चाहेका थिए, त्यहाँ बोसेस र सेनेह नाउँ भएका दुई ठाड़ा पहरा थिए।
5तीमध्ये एउटा मिकमाशतिर उत्तरमा र अर्कोचाहिँ गेबातिर दक्षिणमा थियो।
6जोनाथनले आफ्ना हतियार बोक्नेलाई भने, “आऊ, हामी ती खतना नभएकाहरूको चौकी हेर्न जाऔं। शायद परमप्रभुले हामीलाई मदत दिनुहुनेछ। हामीलाई बचाउनुदेखि कुनै कुराले उहाँलाई रोक्न सक्दैन, चाहे हामी धेरै होऔं चाहे थोरै।”
7तिनका हतियार बोक्ने मानिसले जवाफ दियो, “तपाईंलाई जे ठीक लाग्छ, गर्नुहोस्। अगि बढ्नुहोस्। तपाईं जे गर्नुहुन्छ म तनमनले तपाईंलाई साथ दिन्छु।”
8जोनाथनले भने, “आऊ, हामी नाघेर पारिपट्टि जाऔं र उनीहरूले हामीलाई देखून्।
9यदि ‘हामी नआउञ्जेल तिमीहरू त्यहीँ बसिरह’ भनी उनीहरूले भन्छन् भने, हामी आफू बसेकै ठाउँमा बसिरहौं र उनीहरूकहाँ नजाऔं।
10तर यदि उनीहरूले ‘यहाँ हामीकहाँ उक्लेर आओ’ भनेर भन्छन् भने, हामी उक्लेर जाऔं, किनभने परमप्रभुले उनीहरूलाई हाम्रा हातमा सुम्पिदिनुभएको रहेछ भन्ने त्यो हाम्रा लागि एउटा चिन्ह हुनेछ।”
11यसैकारण तिनीहरू पलिश्तीहरूकहाँ देखा परे। अनि पलिश्तीहरूले भने, “हेर त, हिब्रूहरू आफू लुकेका प्वालहरूबाट निस्कँदैछन्।”
12उनीहरूले जोनाथन र तिनका हतियार बोक्ने मानिसलाई भने, “यहाँ हामीकहाँ उक्लेर आओ। हामी तिमीहरूलाई पाठ सिकाउनेछौं।”
13तब जोनाथन चार हात-खुट्टा टेक्दै माथि चढ़े, अनि तिनका हतियार बोक्ने मानिस पनि तिनका पछिपछि लागे। ती पलिश्तीहरू जोनाथनको प्रहारमा ढले, र तिनको पछि आउने हतियार बोक्नेले उनीहरूलाई खतम पार्यो।
14पहिलो आक्रमणमा चार रोपनीको क्षेत्रमा जोनाथन र तिनका हतियार बोक्नेले उनीहरूका प्राय: बीस जनालाई मारे।
15तब छाउनी र रणभूमिमा भएको जम्मै सेनामा आतङ्क छायो। चौकीमा र लुट्नेहरूका दलमा भएका मानिसहरू पनि भयभीत भए। जमिनै काँप्यो, र उनीहरूमा आतङ्क बढ़्यो।
16बेन्यामीनको गिबाको पहरामा बस्ने शाऊलका मानिसहरूले पलिश्तीको दललाई खलबलिएर जताततै कुदिरहेको देखे।
17तब शाऊलले को-को छैनन् भनी जान्नलाई गन्ती लिए, अनि जोनाथन र तिनका हतियार बोक्नेलाई हाजिर नभएका भेट्टाए।
18शाऊलले अहियाहलाई भने, “परमेश्वरको सन्दूक यहाँ ल्याऊ।” (त्यस बेला त्यो इस्राएलसँगै थियो।)
19शाऊल पूजाहारीहरूसँग बोल्दैथिए पलिश्तीहरूका छाउनीको खैलाबैला झन्-झन् बढ्न लाग्यो, र उनले पूजाहारीलाई “तिम्रो हात झिक” भने।
20तब शाऊल र उनका सबै मानिसहरू रणभूमितिर लागे, जहाँ पलिश्तीहरू तितरबितर भएर आफू-आफूमै लड़ाइँ गरिरहेका तिनीहरूले देखे।
21ती हिब्रूहरू, जो त्यति बेलासम्म पलिश्तीहरूका अधीनमा भएका थिए र उनीहरूको छाउनीमा गएका पनि थिए, तिनीहरूले पलिश्तीहरूलाई छोड़ेर शाऊल र जोनाथनको साथमा भएका इस्राएलीहरूसँग मिल्न आए।
22जब एफ्राइमको पहाड़ी देशमा लुकेका सबै इस्राएलीहरूले पलिश्तीहरू भागेका खबर सुने, तब तिनीहरू पनि मिलेर पलिश्तीहरूलाई खूब खेद्न लागे।
23त्यस दिन परमप्रभुले इस्राएललाई छुटकारा दिनुभयो, र युद्ध बेथ-आवनको पारिसम्मै फिँजियो।
24त्यस दिन इस्राएलीहरू साह्रै थाकेका थिए, किनकि शाऊलले मानिसहरूलाई यी शब्दहरूद्वारा शपथ खान लाएका थिए: “मैले मेरा शत्रुहरूलाई बदला लिई नसकुञ्जेल जसले साँझअघि केही खानेकुरो खाला त्यो मानिस श्रापित होस्।” यसैले कसैले पनि केही खाएन।
25जम्मै मानिसहरू वनमा पुगे र त्यहाँ भूइँमा मह भेटाए।
26तर मानिसहरूले त्यहाँ मह चाकाबाट चुहिरहेको देखे तापनि शपथको कारण कसैले पनि मह छुँदैछोएन।
27तर आफ्ना पिताले मानिसहरूलाई शपथ खान लाएर एकदम मनाही गरेका जोनाथनले सुनेकै थिएनन्। तिनले आफ्नो हातमा भएको लट्ठी पसारेर त्यसको टुप्पाले चाकामा घोचे। तिनले आफ्नो मुखमा हात उठाए, र तिनमा स्फूर्ति आयो।
28तर मानिसहरूमध्येको एक जनाले तिनलाई भन्यो, “तपाईंका पिताले यसो गर्नलाई एकदम मनाही गर्नुभएको छ। उहाँले भन्नुभएको छ, ‘आजको दिन खानेकुरो खाने मान्छे श्रापित होस्।’ यसैले मानिसहरूचाहिँ भोकले छटपटिसकेका छन्।”
29जोनाथनले भने, “मेरा पिताले देशको लागि हानि गर्नुभएको छ। हेर त, म यो मह चाखेर मात्र पनि कस्तो फूर्तिलो भएको छु।
30शत्रुहरूबाट लुटेको मालबाट आज मानिसहरूले खान पाएका भए झन् कति राम्रो हुनेथियो। अवश्य पलिश्तीहरूको पनि झन् ठूलो संहार हुनेथियो।”
31त्यस दिन तिनीहरूले पलिश्तीहरूलाई मिकमाशदेखि अय्यालोनसम्मै प्रहार गरे। अनि मानिसहरू भोकले साह्रो शिथिल भए।
32तिनीहरू लुट्नपट्टि लागे, र भेड़ा र गाईबस्तुहरू पक्रे, अनि भूइँमा नै मारेर रगतसमेत मासु खाए।
33“मानिसहरूले मासु रगतसमेत खाएर परमप्रभुको विरुद्धमा पाप गर्दैछन्” भनी कसैले शाऊललाई भनिदियो।
34उनले फेरि भने, “मानिसहरूका माझमा गएर भन, तिमीहरूले आफ्ना गाईबस्तु र भेड़ा यहाँ ल्याओ र मारेर खाओ, र यसरी तिमीहरूले मासु रगतसमेत खाएर परमप्रभुको विरुद्धमा पाप नगर।”
35तब शाऊलले परमप्रभुको निम्ति एउटा वेदी बनाए। त्योचाहिँ परमप्रभुको निम्ति शाऊलले बनाएको पहिलो वेदी थियो।
36तब शाऊलले भने, “हामीहरू तल गएर पलिश्तीहरूमाथि राती आक्रमण गरौं र मिरमिरे उज्यालोसम्मै उनीहरूलाई लुटौं। उनीहरूको एकै जना मानिसलाई पनि हामी बाँकी नराखौं।”
37यसकारण शाऊलले परमप्रभुलाई सोधे, “के म पलिश्तीहरूलाई खेदौं? के तपाईंले उनीहरूलाई इस्राएलको हातमा सुम्पिदिनुहुनेछ?” तर त्यस दिन परमेश्वरले उनलाई केही जवाफ दिनुभएन।
38यसकारण उनले भने, “सेनाका सबै नेताहरू अगाड़ि आओ, र आज के पाप भएको छ भनी पत्ता लगाऔं।
39इस्राएललाई उद्धार गर्नुहुने जीवित परमप्रभुको नाउँमा म भन्दछु, कि मेरा छोरा जोनाथनमा नै त्यो लुकेको भए पनि तिनी मारिनेछन्।” तर कसैले पनि उनलाई केही भनेनन्।
40तब शाऊलले इस्राएलीहरूलाई भने, “तिमीहरू सबै एकातिर बस, अनि म र मेरा छोरा जोनाथन अर्कोतिर बस्नेछौं।”
41तब शाऊलले परमप्रभु इस्राएलका परमेश्वरलाई यसो भनेर प्रार्थना गरे, “आज तपाईंले आफ्नो दासलाई किन जवाफ दिनुभएन? यदि यो दोष म अथवा मेरो छोरा जोनाथनमा छ भने, हे परमप्रभु इस्राएलका परमेश्वर, चिट्ठामा त्यसको भाग ‘ऊरीम’ परोस्। यदि यो दोष तपाईंको प्रजा इस्राएलमा छ भने त्यसलाई ‘तुम्मीम’ परोस्।” जोनाथन र शाऊललाई चिट्ठाले अलग गर्यो, र मानिसहरूचाहिँ छुट्टिए।
42तब शाऊलले भने, “म र मेरा छोरा जोनाथनको बीचमा चिट्ठा हाल।” अनि जोनाथन छानिए।
43तब शाऊलले जोनाथनलाई भने, “तिमीले के गर्यौ? मलाई भन।”
44शाऊलले भने, “जोनाथन, तिमी मारिएनौ भने परमेश्वरले मसित योभन्दा कठोर व्यवहार गरून्।”
45तर मानिसहरूले शाऊललाई भने, “के जोनाथन मारिने? ती नै जोनाथन, जसले इस्राएलको निम्ति यस्तो ठूलो विजय प्राप्त गरेका छन्? यस्तो नहोस्। जीवित परमप्रभुको नाउँमा हामी भन्दछौं कि तिनको एउटा केश पनि भूइँमा खस्न पाउनेछैन, किनभने तिनले आज परमेश्वरको सहायताले काम गरेका छन्।” यसरी मानिसहरूले जोनाथनलाई मुक्त गराए, र तिनी मारिएनन्।
46यद्यपि शाऊलले पलिश्तीहरूलाई खेद्न छोड़िदिए, र उनीहरू आफ्नो देशमा गए।
47जब शाऊलले इस्राएलमा आफ्नो सिंहासन स्थिर पारिसके, तब उनले मोआबीहरू, अम्मोनीहरू, एदोमीहरू, सोबाका राजाहरू र पलिश्तीहरू आफ्ना चारैतिरका शत्रुहरूसित लड़ाइँ गरे। जहाँ-जहाँ उनी गए, त्यहाँ-त्यहाँ उनले उनीहरूलाई सास्ती दिए।
48अमालेकीहरूलाई पनि उनले जिते, अनि लूटपीट गर्नेहरूबाट इस्राएलीहरूलाई मुक्त गराएर उनले ठूलो बहादुरी देखाए।
49शाऊलका छोराहरू जोनाथन, यिश्वी र मल्कीशूअ थिए। उनकी जेठी छोरीको नाउँ मेराब र कान्छीको नाउँ मीकल थियो।
50उनकी पत्नीचाहिँ अहीमासकी छोरी अहीनोम थिइन्। अनि उनका सेनापति तिनका काका नेरका छोरा अबनेर थिए।
51शाऊलका पिता कीश र अबनेरका पिता नेरचाहिँ अबीएलका छोराहरू थिए।
52शाऊलको जीवनपर्यन्त पलिश्तीहरूसित घमासान भइरह्यो। उनले भेट्टाएको कुनै पनि बलियो वा वीर मानिसलाई शाऊलले आफ्नो काममा नियुक्त गरिहाल्थे।